२२ साउन, काठमाडौं । भाटभटेनीले आफ्ना स्टोर्सहरुलाई अन्तर्राष्ट्रिय मोडलमा २४ सै घण्टा सञ्चालनको तयारी गरेको छ । पाइलट प्रोजेक्टका रुपमा भक्तपुरबाट सुरु गर्न लागिएको भाटभटेनीले जनाएको छ । भाटभटेनीका सञ्चालक कल्याण गुरुङका अनुसार बुधबारदेखि भक्तपुर २४ सै घण्टा खुला गर्ने तयारी गरिएको छ ।
त्यसो हुँदा केही समयपछि ग्राहकलाई राति १० बजेसम्म सेवा प्रदान गर्न सकिनेछ । “ग्लोबली ट्रेन्ड पनि यस्तै छ, हामीले त्यहीअनुसार अघि बढ्ने योजना बनाएका छौँ,” गुरुङले भने ।
अहिलेसम्म बिहान साढे ७ बजेदेखि राति ९ बजेसम्म खुला रहँदै आएको भए पनि २४ सै घण्टा खुला राख्दा ग्राहकलाई नै सहज हुने भाटभटेनीको विश्वास छ ।
“हामीले भक्तपुरलाई पाइलट प्रोजेक्टका रुपमा बुधबारदेखि २४ सै घण्टा खुला राख्ने तयारी गरेका छौँ,” उनले भने, “अहिले बिहान खुला भएपछि मात्र सामान राख्ने, कमी भएको ठाउँमा थप गर्ने, मिलाउनेलगायतका व्यवस्थापकीय कामले ग्राहकलाई केही अप्ठेरो परेको महसुस हामीलाई भयो । हामीले अब ती सबै काम रातभरमा सकेर ग्राहकलाई कुनै अप्ठेरो नहुने योजना बनाएका हौँ ।”
उनका अनुसार रातिमा काम गर्ने एउटा ‘कोर टिम’ तयार पारिएको छ । जसले नियमित तलबभन्दा २५ प्रतिशत बढी रकम प्राप्त गर्नेछन् । राति चिया खाजाको पनि व्यवस्था गरिएको छ । त्यो उनीहरुका लागि विशेष सुविधा उपलब्ध गराइएको हो ।
भाटभटेनी मुलुकको सबैभन्दा ठूलो चेन स्टोर हो । गतवर्ष जेनजी आन्दोलनअघिसम्म कम्तिमा पनि २८ वटा स्टोरबाट सेवा दिइरहेको भाटभटेनीका १२ बढी स्टोरमा आगजनी भएको थियो । आगजनी गरिएकामध्ये अधिकांश स्टोर सञ्चालनमा आइसकेका छन् ।
भक्तपुरपछि बौद्ध, टंगाल, कोटेश्वर, पाटनलगायतका स्टोर पनि २४ सै घण्टा खुला गरिनेछ । त्यसपछि पोखरा, बुटवल, नारायणगढलगायतका प्रमुख सहरका स्टोर पनि त्यसैगरी खुला राखिने भाटभटेनीका सञ्चालक गुरुङ बताउँछन् ।
“भक्तपुरलाई पाइलट मानेर सुरु गर्छौं, सबै स्टोरमा गर्ने योजना हो,” उनले भने, “त्यसका लागि ५० देखि ५५ जना भाइबहिनी हुनुहुन्छ ।” अहिले बिहानदेखि बेलुकासम्म मात्रै खुला राख्दा ट्राफिक व्यवस्थापनको पनि समस्या भोग्नुपरेको छ ।
“साना गाडी पटक–पटक लैजानुपर्ने अवस्था छ, राति पनि खुला राख्दा ठूला गाडीमा एकैपटक सामग्री पुर्याउन सकिन्छ,” उनले भने, “क्लिनिङ, म्यानेजमेन्ट, प्राइस ट्यागिङदेखि धेरै काम रातभरमै हुनेछ ।”


+ There are no comments
Add yours