नगरपालिकाले सेनासँगको समन्वयमै भत्काउन लागेको थाहा पाएपछि जस लिने होडमा राजु पाण्डेले अनाधिकृत हस्तक्षेप गरेको आरोप
१९ साउन, काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ३ का रास्वपा सांसद राजुनाथ पाण्डेले सेनाको निगरानीमा रहेको गोकर्ण वनको पर्खालमा जबरजस्ति डोजर चलाएका छन् ।
आफैँ डोजर लिएर पुगेका पाण्डेले पर्खाल भत्काउने क्रममा आधिकारिक पत्र माग्ने नेपाली सेनाका अधिकृतलाई हप्कीदप्की गरेका थिए ।
गोकर्णेश्वर नगरपालिका-४ माकलबारीदेखि गोर्कण मन्दिरसम्मको करीब २०० मिटर सडक अन्तरगत नेपाली सेनाको निगरानीमा रहेको गोर्कण वनको पर्खालमा हिजो डोजर चलाइएको हो ।
यो पर्खाल भत्काउने स्थानीयको मागअनुसार नगरपालिकाले सेनासँग आवश्यक समन्वय गरिरहेको थियो । चाँडै विधिसम्मत तरिकाले नगरपालिकाले भत्काउन लागेको थाहा पाएपछि जस लिनकै लागै पाण्डे डोजर लिएर पुगेको बुझिएको छ ।
सांसद पाण्डे काठमाडौं महानगरपालिकाका पूर्व नगरप्रहरी प्रमुखसमेत हुन् । उनले सांसदको जिम्मवारी र दायरा बिर्सेर नगरप्रहरीकै शैलीमा डोजर चलाए । पर्खाल भत्काउनका लागि उनीसँग कुनै पनि लिखित आदेश थएन । नेपाली सेनाका अधिकृत अनुपमान श्रेष्ठसँग उनको लामै वादविवाद भएको थियो ।
श्रेष्ठले डोजर चलाउनका लागि वैधानिक पत्र चाहिने बताएपछि पाण्डे भन्छन्, ‘कसको चिठी चाहियो ? कोरिडोरको बाटो खोल्न कसैलाई सोध्नु पर्दैन । मलाई थाहा छ मापदण्ड ।’
आफूले माथि पनि रिपोर्ट गर्नुपर्ने भएकोले एउटा चिठी चाहिने अडान श्रेष्ठले लिन्छन् ।

पाण्डे जवाफ दिन्छन्, ‘चिठी आउँदै गर्छ, पर्खाल अहिले नै भत्किन्छ । यो नेपाल ट्रस्टको चेयरमेन को हो ?’
श्रेष्ठले पर्खालभित्र सेनाको ब्यारेक रहेको तथा विभिन्न वन्यजन्तुहरुसमेत संरक्षण गरेर राखिएको अवगत गराउँछन् । तर, पाण्डे जनता भन्दा ठूलो ब्यारेक नभएको बताउँछन् ।
‘मलाई थाहा छ क्याप्टेन सा’प ब्यारेक छ भने । यो नेपाल ट्रस्टसँग सम्वन्धित विषय हो । नेपाल ट्रस्टको चेयरमेन को हो ? भौतिक पूर्वाधार मन्त्री हो । तपाईंलाई कुनै कन्फ्युजन भए सम्ममाननीय प्रधानमन्त्रीज्यूसँग सम्पर्क गर्नु होला । मैले स्पष्ट (आदेश) लिएर आएको छु । हामी पर्खाल भत्काएर मात्र जाने हो,’ पाण्डेले भने ।
डोजर चल्दै गर्दा पाण्डका कार्यकर्ताले उनको नाम लिएर जिन्दावाद भन्दै नारावाजी गरेका थिए ।
नेपाली सेनाले वन्यजन्तुको संरक्षणको लागि गोर्कणदेखि दक्षिणढोकासम्म पर्खाल लगाई वनभित्र गण नै राखेर सुरक्षा दिइरहेको थियो । वनमा मृग, जरायोलगायत जनावर रहेका छन् । उक्त वनबाट काठदाउरा चोरी निकासी हुने गरेकोमा पर्खाल लगाएपछि त्यो बन्द भएको थियो ।

यो जग्गा भने नेपाल ट्रष्टको नाममा रहेको छ । बागमती करिडोर अन्तर्गत पर्ने सडक गोर्कण पुलभन्दा माथि भौगोलिक रुपमा जटिल र साँघुरो थियो । करिडोर फराकिलो बनाउन सेनाको सुरक्षामा रहेको वन क्षेत्रको पर्खाल भत्काउनुपर्ने अनिवार्यता थियो । सडक विस्तार गरेपछि नयाँ पर्खाल लगाउन बजेट नभएको भन्दै सेनाले यसका लिग गोकर्णेश्वर नगरपालिकासँग अनुरोध गरेको थियो ।
सेना आफैले यात्रुहरुको सहजताको लागि सडक विस्तार गर्न प्रस्ताव लगेको पनि खुलेको छ । त्यसपछि नगरपालिकाले पनि सडक विस्तारको लागि प्रकियागत रुपमा काम अघि बढाएको थियो । पर्खाल सार्न सहमति उपलब्ध गराइदिनको लागि नगरपालिकाले ०८२ जेठ ४ गते नै नेपाल ट्रष्टलाई पत्र पठाएर स्वीकृत लिइसकेको थियो । पर्खाल २५ फिट सार्ने र उक्त क्षेत्रमा आफ्नै बजेटबाट सडक निर्माण गर्ने तयारी थियो गोकर्णेश्वर नगरपालिकाको ।
मापदण्ड अनुसार करिडोर बनाउन उपत्यका विकास प्राधिकरणलाई असार १ गते नगरपालिकाले चिठी पठाएको थियो ।

बाटो विस्तारको लागि अनुमति समेत पाइसकेपछि नगरपालिकाले असार २२ गतेको सत्रौं नगरसभाबाट नेपाल ट्रष्टको पर्खाल निर्माण तथा बाटो स्तरोन्नतीको लागि २५ लाख बजेट छुट्याएको थियो ।
नगरपालिकाले सबै प्रकिया पूरा गरेर पानी पर्न बन्द भएपछि काम सुरु गर्ने तयारी गरेको थियो ।
आज बिहान एक्कासी सांसद पाण्डेले डोजर चलाएपछि नगरप्रमुख दिपक रिसाल छक्क परेका छन् । पाण्डेले नगरपालिकासँग समन्वय नगरी एक्कासी डोजर चलाउन निर्देशन दिएको उनी बताउँछन् ।
रिसाल भन्छन्, ‘हामीले सबै प्रकिया पूरा गरेर सडक विस्तार गर्ने तयारी गरेका थियौं । सांसदज्यूले हामीले गर्ने कामको सुइको पाएर क्रेडिट लिन आफैं जानुभएछ । उहाँसँग भत्काउन निर्देशन दिने आधार केही छैन । प्रकियागत रुपमा काम भइरहेको ठाउँमा यसरी हस्तक्षेप गर्नु राम्रो होइन ।’
पाण्डे भन्छन्- नगरपालिकाले केही काम गरेको छैन
नगरपालिकासँग समन्वय नगरी आफूखुसी सडक विस्तारको लागि डोजर चलाएको आरोपको सांसद पाण्डेले खण्डन गरेका छन् । उनले उल्टै नगरप्रमुखले अहिलेसम्म केही नगरेको र जनतालाई दुख दिएको आरोप लगाए ।
नगरपालिकाबाट अहिलेसम्म एउटा सिन्को भाँच्ने काम नभएको भन्दै उनले नगरप्रमुखबाट असहयोग भएको दावीसमेत गरे ।
‘नगरपालिकाबाट हुने काम नै होइन । हुने भए यत्रो वर्ष दुख दिएर किन राख्ने थियो ?’ उनले नेपालप्रेससँग भने ।
आफूहरुले उपत्यका विकास प्राधिकरण र अधिकारसम्पन्न बागमती सम्भ्यता एकीकृत विकास समितिसँग समन्वय गरेर काम गरेको उनको दाबी छ । डोजर पनि प्राधिकरणबाटै ल्याइएको पाण्डेले बताए ।
गोकर्णेश्वर-४ का वडाध्यक्ष जयराम महतले सांसद पाण्डेले आफूसँग समन्वय गरेको बताएका छन् । नगरपालिकासँग समन्वय गरे-नगरेको थाहा नभएको बताउँदै उनले आफूसँग समन्वय गरेर काम सुरु गरेको दावी गरे । यसको खर्च नेपालको सरकारको कुनै निकायले बेहोर्ने उनको भनाइ छ ।
समन्यव भइरहेको सेनाको भनाइ
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले पर्खाल भत्काइएको विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको बताएका छन् ।
‘त्यस विषयमा हाम्रो तर्फबाट जसले सम्बन्धित निकायमा कुरा गर्नुपर्ने हो, उहाँहरुले कुराकानी गरिरहनुभएको छ, त्यसपछि मात्रै अन्य प्रतिक्रिया दिन सकिन्छ,’ उनले भने ।


+ There are no comments
Add yours