निजामती कर्मचारीले अब प्रदेशस्तरमै पाउने भए सिभिल अस्पतालको उपचार सुविधा

२४ जेठ, काठमाडौँ । काठमाडौँ उपत्यका बाहिर कार्यरत तथा बसोबास गर्ने निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी र उनीहरूका आश्रित परिवारका लागि सरकारले ठुलो राहतको व्यवस्था गरेको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल, काठमाडौँ) को सेवालाई प्रदेशस्तरसम्म विस्तार गर्ने नीति अनुरूप प्रदेश अस्पतालहरूबाटै विशेष स्वास्थ्य सेवा उपलब्ध गराउन लागेको हो।

काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य गर्दै कर्मचारी र उनीहरूका परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज, सुलभ र पहुँचयोग्य रूपमा उपलब्ध गराउने उद्देश्यले प्रदेश अस्पतालहरूसँग सम्झौता प्रक्रिया अगाडि बढाइएको सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिइन्।

पहिलो चरणमा मधेस प्रदेशका लागि नारायणी अस्पताल (वीरगन्ज, पर्सा) र बागमती प्रदेशका लागि भरतपुर अस्पताल (चितवन) सँग सम्झौता गरिएको छ। आइतबार मन्त्रालयले यी दुई अस्पतालसँग सम्झौता गरेसँगै सोमबारबाटै यो सेवा विधिवत् रूपमा सुरु हुनेछ। यस सम्झौतासँगै कर्मचारीहरूले काठमाडौँको सिभिल अस्पतालबाट पाउँदै आएको विशेष छुट तथा सहुलियत सहितको स्वास्थ्य सेवा अब यी दुई प्रादेशिक अस्पतालहरूबाटै लिन सक्नेछन्। यो सुविधा प्राप्त गर्नका लागि निजामती कर्मचारी वा अवकाशप्राप्त कर्मचारीले निजामती कर्मचारी अस्पतालबाट जारी भएको आफ्नो आधिकारिक परिचयपत्र अनिवार्य रूपमा साथमा राख्नुपर्नेछ।

मधेस र बागमती बाहेकका अन्य बाँकी प्रदेशहरूमा समेत यो सेवा तत्काल विस्तार गर्नका लागि मन्त्रालयले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग समन्वय गरी सेवा प्रदायक अस्पतालहरूको सूचीकरण गरिसकेको छ। अन्य प्रदेशहरूमा पनि आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी अन्तिम चरणमा पुगेकाले केही दिनभित्रै देशभरका तोकिएका प्रदेश अस्पतालहरूबाट कर्मचारीहरूले सिभिल अस्पतालकै सहुलियतमा उपचार सेवा पाउने मन्त्रालयले जनाएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours