टी–मोबाइलले भीडभाडका कार्यक्रममा नेटवर्क व्यवस्थापन गर्न एआई प्रयोग गर्ने

२४ जेठ, काठमाडौँ । अमेरिकी दूरसञ्चार सेवा प्रदायक टी–मोबाइलले भीडभाड हुने कार्यक्रमका बेला नेटवर्कलाई अनुकूल बनाउन ‘डाइनामिक सीएक्स’ नामक नयाँ एआई–सञ्चालित नेटवर्क अप्टिमाइजेसन सुविधा सार्वजनिक गरेको छ।

डाइनामिक सीएक्स कम्पनीको बुद्धिमान् सेल्फ–अर्गनाइजिङ नेटवर्क (एसओएन) प्रविधिमा आधारित छ। यसले सार्वजनिक रूपमा उपलब्ध कार्यक्रमसम्बन्धी जानकारी, तालिका र अनलाइन गतिविधिको विश्लेषण गरेर सम्भावित ठूलो भीडभाड हुने स्थानको पहिचान गर्न एआईको प्रयोग गर्छ।

यस प्रविधिले कार्यक्रमअघि नै नेटवर्क तयारी गर्न, कार्यक्रमस्थल आसपासको नेटवर्क अवस्थाको निगरानी गर्न तथा आवश्यकताअनुसार स्वचालित रूपमा नेटवर्कको कार्यसम्पादन सुधार गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ।

यसको मुख्य उद्देश्य खेलकुद प्रतियोगिता वा सांगीतिक कार्यक्रममा अचानक बढ्ने नेटवर्क प्रयोगको प्रभाव कम गर्नु हो। कम्पनीले अमेरिकामा यस गर्मीयाम आयोजना हुने विश्वकै ठूलो फुटबल प्रतियोगितामध्ये एकका लागि तयारी गरिरहेको बेला यो सुविधा सुरु गरेको जनाएको छ।

प्रतियोगिता आयोजना हुने सहरहरूमा एटलान्टा, बोस्टन, डलास, ह्युस्टन, कान्सास सिटी, लस एन्जलस, मियामी, न्यूयोर्क–न्युजर्सी क्षेत्र, फिलाडेल्फिया, सान फ्रान्सिस्को बे एरिया र सियाटल रहेका छन्।

टी–मोबाइलले प्रतियोगितालाई लक्षित गर्दै स्टेडियम, फ्यान जोन, विमानस्थल, यातायात केन्द्र तथा वरपरका पूर्वाधारमा नेटवर्क क्षमता र प्राविधिक सहयोग विस्तार गरेको जनाएको छ। कम्पनीले अन्तर्राष्ट्रिय आगन्तुकका लागि ईसिम आधारित कनेक्टिभिटी सेवासमेत प्रवर्द्धन गरिरहेको छ।

साथै, प्राथमिक सञ्चार सुविधा सुनिश्चित गर्न सार्वजनिक सुरक्षा निकायहरूसँग समन्वय गरिएको तथा विभिन्न आयोजक सहरमा आवश्यक नेटवर्क उपकरण तयारी अवस्थामा राखिएको कम्पनीले जनाएको छ। महत्वपूर्ण पूर्वाधार र कार्यक्रमसँग सम्बन्धित नेटवर्क सञ्चालनमा साइबर सुरक्षा निगरानी पनि बढाइएको छ।

टी–मोबाइलका प्रमुख प्रविधि अधिकृत जोन सअका अनुसार कम्पनीसँग विश्वका ठूला कार्यक्रमका बेला सञ्चार सेवा व्यवस्थापनको दशकौं लामो अनुभव छ र नेटवर्कलाई उच्च मागअनुसार अझ प्रभावकारी बनाउने प्रयास निरन्तर जारी छ।

यस्तै, प्रमुख नेटवर्क अधिकृत अंकुर कपूरले यस वर्षको गर्मीयाममा हुने ठूला सांस्कृतिक तथा खेलकुद कार्यक्रमले लाखौं मानिसलाई एकै स्थानमा ल्याउने भएकाले नेटवर्क तयारी, सार्वजनिक सुरक्षा समन्वय तथा डाइनामिक सीएक्स जस्ता नयाँ प्रविधिमार्फत प्रयोगकर्तालाई आवश्यक समयमा जोडिराख्न कम्पनी केन्द्रित रहेको बताए।

You May Also Like

More From Author

+ There are no comments

Add yours