मोबाइल टाढा हुनासाथ बेचैनी हुन्छ ?

१५ जेठ, काठमाडाैँ । आजको समयमा स्मार्टफोन एउटा ग्याजेट मात्र नभएर हाम्रो दैनिक जीवनको महत्त्वपूर्ण हिस्सा बनिसकेको छ । बिहान उठेदेखि राति सुत्दासम्म धेरै मानिस निरन्तर फोनसँग जोडिएका हुन्छन् । 

काम, सामाजिक सञ्जाल, अनलाइन किनमेल, मनोरञ्जन, साथीभाइसँगको कुराकानीदेखि तनाव कम गर्नसम्म पनि स्मार्टफोन प्रयोग भइरहेको छ । तर फोन केही समयका लागि टाढा हुँदा बेचैनी, आत्तिने भावना वा खालीपन अनुभव हुने कहिल्यै महसुस गर्नुभएको छ ? मानसिक स्वास्थ्य विज्ञहरू यस अवस्थालाई ‘स्मार्टफोन विड्रअल’ भन्छन् ।

यो यस्तो अवस्था हो, जहाँ व्यक्तिले फोन प्रयोग गर्न नपाउँदा मानसिक र भावनात्मक असहजता महसुस गर्न थाल्छन् । विज्ञहरूका अनुसार अत्यधिक स्क्रिन टाइम र सामाजिक सञ्जालको लतले बिस्तारै मस्तिष्कलाई डिजिटल उत्तेजनाको बानी पार्न सक्छ, जसको असर निद्रा, ध्यान, मुड र मानसिक स्वास्थ्यमा पर्न सक्छ ।

के हो स्मार्टफोन विड्रअल ?

स्मार्टफोन विड्रअल भनेको फोनबाट टाढा हुँदा व्यक्तिमा देखिने मानसिक र भावनात्मक असहजता हो । यस्तो अवस्था फोनको ब्याट्री सकिँदा, इन्टरनेट बन्द हुँदा, यात्राका क्रममा नेटवर्क नहुँदा वा आफैँले स्क्रिन टाइम घटाउने प्रयास गर्दा देखिन सक्छ । हालसम्म स्मार्टफोन लतलाई औपचारिक मानसिक रोगका रूपमा वर्गीकृत गरिएको छैन । तर मनोवैज्ञानिकहरूका अनुसार अत्यधिक फोन निर्भरता विशेषगरी युवाहरूमा तीव्र रूपमा बढिरहेको छ । फोनले निरन्तर नोटिफिकेशन, लाइक, म्यासेज र मनोरञ्जनमार्फत मस्तिष्कलाई ‘रिवार्ड’ दिइरहन्छ, जसका कारण बारम्बार फोन हेर्ने बानी बस्न थाल्छ ।

यस्ता हुन्छन् स्मार्टफोन विड्रअलका सम्भावित संकेतः

  •  नोटिफिकेशन नआए पनि पटक–पटक फोन चेक गर्नु
  •  फोन नजिक नहुँदा चिन्ता वा बेचैनी महसुस हुनु
  •  खाली समय पाउनासाथ तुरुन्त सामाजिक सञ्जाल खोल्नु
  •  फोन टाढा राख्दा झर्को वा चिडचिडापन बढ्नु
  •  पढाइ वा काममा ध्यान केन्द्रित गर्न गाह्रो हुनु
  •  फोन भाइब्रेट नहुँदा पनि भएको जस्तो महसुस हुनु 
  •  रातिसम्म स्क्रिन हेर्दा निद्रामा समस्या आउनु

यस्ता बानीहरू लगातार बढ्दै गइरहेका छन् भने यसले डिजिटल बानीले मानसिक स्वास्थ्यमा असर पार्न थालेको संकेत दिन सक्छ ।

मानसिक स्वास्थ्यमा कस्तो असर पर्छ ?

धेरै अध्ययनहरूले अत्यधिक स्मार्टफोन प्रयोग चिन्ता, तनाव र ध्यान अभावजस्ता समस्यासँग सम्बन्धित हुन सक्ने देखाएका छन् । रातिसम्म स्क्रिन हेर्दा शरीरमा मेलाटोनिन हर्मोनको उत्पादन प्रभावित हुन्छ, जसले निद्राको चक्र बिगार्न सक्छ । यसका साथै लगातार डिजिटल सामग्री हेर्दा मस्तिष्कलाई शान्त वातावरण वा निरसता सहन गाह्रो हुन थाल्छ । त्यसैले धेरै मानिस केही मिनेट खाली बस्नासाथ फोन उठाउने गर्छन्।

सामाजिक सञ्जालले किन समस्या बढाउँछ ?

सामाजिक सञ्जाल प्लेटफर्महरू प्रयोगकर्तालाई लामो समयसम्म व्यस्त राख्ने गरी डिजाइन गरिएका हुन्छन् । अन्त्यहीन स्क्रोलिङ, लाइक, नोटिफिकेशन र छोटा भिडियोहरूले मस्तिष्कमा ‘रिवार्ड साइकल’ बनाउँछन् । यसले व्यक्तिलाई बारम्बार नयाँ सामग्री हेर्न र तुरुन्त सन्तुष्टि खोज्न प्रेरित गर्छ । यही बानी बिस्तारै बाध्यात्मक व्यवहारमा बदलिन सक्छ ।

स्क्रिन टाइम घटाउँदा के फाइदा हुन्छ ?

डाक्टरहरूका अनुसार फोन प्रयोग गर्ने बानीमा बिस्तारै परिवर्तन ल्याएर मानसिक स्वास्थ्य सुधार गर्न सकिन्छ । यसका लागि केही सजिला उपाय अपनाउन सकिन्छ:

  • सुत्नुभन्दा एक घण्टा अघि स्क्रिन बन्द गर्ने
  • अनावश्यक नोटिफिकेशन बन्द गर्ने
  • दिनभर साना–साना डिजिटल ब्रेक लिने
  • एप प्रयोगको समय सीमा तय गर्ने
  • खाली समयमा किताब पढ्ने, हिँड्ने वा अफलाइन गतिविधि गर्ने

विज्ञहरूका अनुसार प्रविधिबाट पूर्ण रूपमा टाढा हुनु आवश्यक छैन, तर यसको सन्तुलित प्रयोग अत्यन्त महत्त्वपूर्ण छ ।

के भन्छन् अध्ययनहरू ?

अमेरिकन साइकोलोजिकल एसोसिएशन र अन्य मानसिक स्वास्थ्यसम्बन्धी अध्ययनहरूले अत्यधिक स्मार्टफोन तथा सामाजिक सञ्जाल प्रयोगले तनाव, निद्रासम्बन्धी समस्या र चिन्ता बढाउन सक्ने देखाएका छन् । त्यस्तै नेशनल सेन्टर फर बायोटेक्नोलोजी इन्फर्मेशन (एनसीबीआई) मा प्रकाशित अर्को अध्ययनले स्मार्टफोनको अत्यधिक प्रयोगले मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्ने उल्लेख गरेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours