कुखुरामा प्रयोग हुने औषधिले मानिसको ज्यानै लिन्छ ? के भन्छ अध्ययन ?

०६ बैशाख, काठमाडौँ । मरेको ब्रोइलर कुखुराको मासु खाँदा कैलालीको चुरे गाउँपालिका-३ का ५ वर्षीय दीपक ताम्राकार र उनका ८ वर्षीय दाजु भीमको उपचारका क्रममा शनिबार निधन भयो ।

सोही मासु खाएका कारण उनीहरूका २८ वर्षीया आमा राधिका ताम्राकार र तीन वर्षीय भाइ दिपेश ताम्राकार पनि गम्भीर बिरामी परेका छन्, उनीहरूको उपचार सेती प्रादेशिक अस्पतालमा चलिरहेको छ ।

यो घटना पहिलो भने होइन, यसअघि पनि मरेको कुखुराको मासु खाँदा मानिसको ज्यान गएका घटना पटक–पटक भएका छन् ।

२०८१ मंसिरमा अछामको कमलबजार नगरपालिका–३ बयलाका १५ वर्षीय कमल विकको पनि यस्तै घटनामा मृत्यु भएको थियो ।

त्यसैगरी, २०७६ सालमा बैतडीको पुर्चौंडी नगरपालिका–२ जरसौंका १५ वर्षीया पुष्पा पार्कीको मृत्यु भएको थियो भने सोही घटनामा एकै परिवारका अन्य ९ जना बिरामी परेका थिए ।

यस्ता घटना पटक–पटक भए पनि सरकार गम्भीर नदेखिएको गुनासो छ, जसका कारण घटना बढिरहेका छन् ।

के भन्छ सरकार ?

पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले विगतमा के–के भयो भन्नेबारे अहिले नै बताउने अवस्था नरहेको तर कैलालीको घटनामा भने फार्ममा समस्या नदेखिएको बताए ।

उनले भने, ‘मासु खाएपछि बालकको मृत्यु भएको थाहा पाउनेबित्तिकै विशेषज्ञ टोलीले फार्मको जाँचबुझ गरेको थियो । त्यहाँ रहेका कुखुरा तथा दानाको परीक्षण गर्दा केही देखिएको छैन ।’

प्रहरीले यसबारे थप छानबिन गरिरहेको र छानबिनबाटै घटनाको कारण बाहिर आउने पनि उनले बताए ।

सरोकारवालाको दाबी

कुखुरा उत्पादनलाई लिएर विभिन्न शंका–उपशंका उब्जिरहेका छन् । कुखुरा फार्महरूमा तौल बढाउन तथा छिटो खानयोग्य बनाउन औषधि प्रयोग भइरहेको दाबी गरिएको छ ।

गत पुसमा आयोजित ‘कुखुराको मासुमा एन्टिबायोटिकको अत्यधिक तथा हानिकारक प्रयोग नियन्त्रण’ सम्बन्धी कार्यक्रममा एनिमल नेपालकी लाइभस्टक विभाग प्रमुख सुलक्षणा राणाले कुखुराको मासुमा एन्टिबायोटिकको प्रयोग भइरहेको बताएकी थिइन् ।

यसको मात्रा र यसले मानव स्वास्थ्यमा पार्ने असरबारे अध्ययन हुन आवश्यक रहेको धारणा उनले राखेकी थिइन् ।

नेपालमा कुखुराको मासुमा एन्टिबायोटिकको जथाभावी प्रयोगले ‘एन्टिमाइक्रोबियल रेसिस्टेन्स’को जोखिम बढेको छ ।

कुखुराको मासुबाट मानव स्वास्थ्यमा जोखिम देखिएपछि सरकारले सन् २०१६ देखि कुखुराको दानामा प्रयोग हुने एन्टिबायोटिकमा पूर्ण रूपमा रोक लगाएको छ ।

तर, विभिन्न अध्ययनहरूले कुखुरा फार्महरूमा अझै पनि यसको प्रयोग भइरहेको देखाएका छन् ।

फार्महरूको मनोमानी

विभागका महानिर्देशक दाहालले डाक्टरको सल्लाहबमोजिम औषधिका रूपमा मात्र एन्टिबायोटिक प्रयोग गर्न पाइने तर अन्य कुनै पनि रूपमा प्रयोग गर्न नपाइने गरी रोक लगाइएको दाबी गरे ।

‘डाक्टरको सल्लाहबिना एन्टिबायोटिक प्रयोग गरेको पाइए कानुनअनुसार कारबाही हुने व्यवस्था छ,’ उनले भने, ‘आफूहरूले दानामा त्यसरी एन्टिबायोटिक प्रयोग गरेको कतै नपाएको उनको दाबी छ ।’

तर, फार्म सञ्चालक तथा किसानले कुखुराको तौल बढाउन अनेकथरीका औषधि प्रयोग गर्ने गरेको समाचार आउने गरेका छन् ।

कतिपय फार्मले दानामा मात्र नभई पानीमा मिसाएर पनि औषधि दिने गरेको स्रोतको दाबी छ ।

एक भेटेरिनरी जानकारले भने, ‘फार्म सञ्चालक तथा किसानले कुखुरा छिटो बढोस् भनेर दाना र पानीमा मात्र होइन, कतिपय ठाउँमा सुईसमेत दिने गरेको भेटिएको छ ।’

सामाजिक सञ्जाल र युट्युबमा हेरेर खेतीपाती हुने गरेकाले कुखुराको ग्रोथ प्रमोटरका लागि के औषधि प्रयोग गर्ने भनेर अहिले खोजी हुने उनले बताए ।

‘युट्युबले जे भन्छ, त्यही प्रयोग गर्छन् । यसकारण ब्रोइलर कुखुराको मासुमा जोखिम देखिएको हो,’ उनले बताए, ‘तरकारीमा विषादी प्रयोग गर्न रोक लगाइए पनि कालिमाटीको परीक्षणमा तरकारी खानयोग्य देखिँदैन, कुखुरामा पनि विभिन्न औषधि प्रयोग भइरहेको छ ।’

कस्ता–कस्ता औषधि प्रयोग हुन्छन् ?

नेपालका पशु औषधि पसलहरूमा त्यस्ता औषधि छ्यापछ्याप्ती पाइन्छन् ।

‘जर्नल अफ एड्भान्स भेटेरिनरी एन्ड एनिमल रिसर्च’ले गरेको एक अध्ययनअनुसार पशु चिकित्सा औषधिको बिक्रीको ७० प्रतिशतभन्दा बढी खुद्रा पसलहरूबाट हुने गरेको छ ।

नेपालमा प्रयोग हुने शीर्ष सात एन्टिबायोटिकहरूमा टेट्रासाइक्लिन, एन्रोफ्लोक्सासिन, नियोमाइसिन–डक्सिसाइक्लिन, लेभोफ्लोक्सासिन, कोलिस्टिन र टाइलोसिन रहेका छन् ।

एम्पिसिलिन, एमोक्सिसिलिन, सेफ्ट्रियाक्सोन र जेन्टामाइसिन सबैभन्दा बढी गलत तरिकाले प्रयोग हुने औषधि हुन् ।

त्यस्तै टेट्रासाइक्लिन्स, पेनिसिलिन्स, म्याक्रोलाइड्स, स्ट्रेप्टोग्रामिन्स, एमिनोग्लाइकोसाइड्स र सल्फोनामाइड्स प्रयोग गर्न नहुने एन्टिबायोटिक समूहका औषधि हुन्, जुन नेपालमा प्रयोग भइरहेको विभिन्न अध्ययनले देखाएका छन् ।

वृद्धि प्रवर्धक (ग्रोथ प्रमोटर) का लागि सबैभन्दा बढी स्ट्रेप्टोग्रामिन्स प्रयोग हुने गरेको छ ।

पशु सेवा विभागमा कुखुरा विज्ञका रूपमा काम गरेका डा. नवराज श्रेष्ठ सरकारले एन्टिबायोटिक प्रयोगमा पूर्ण रूपमा बन्देज लगाए पनि कतिपय साना किसानले घरमै दाना बनाउने र त्यहाँसम्म सरकारको नजर नजाने बताउँछन् ।

‘हरेक किसानको फार्ममा गएर उनीहरूले बनाएको दाना परीक्षण गर्न सम्भव छैन,’ उनले भने, ‘डाक्टरको सिफारिसबाहेक कुनै पनि प्रकारको औषधि प्रयोगमा सरकारले बन्देज लगाएको छ ।’

विगत १२–१३ वर्षदेखि यस क्षेत्रमा आफूले काम गरेको र अनुगमनमा जाँदा कतै पनि जथाभावी औषधि प्रयोग गरेको नपाएको उनले दाबी गरे ।

उनले भने, ‘प्रयोगशालामा हजारौँ नमुना परीक्षण हुन्छन्, त्यसमा एक–दुईवटामा त्यस्तो भेटिनु सामान्य हो । त्यसमा पनि सरकार सचेत छ र त्यस्तालाई कारबाहीका लागि सिफारिस गरिएको छ ।’

विश्वव्यापी प्रतिबन्ध

एन्टिबायोटिकको नाममा कुखुरामा जथाभाबी औषधि प्रयोग हुन थालेपछि युरोपेली संघले सन् २००६ देखि नै त्यसमा प्रतिबन्ध लगाएको थियो ।

त्यसको १० वर्षपछि मात्र नेपालले त्यसलाई कार्यान्वयनमा ल्यायो ।

विश्व स्वास्थ्य संगठनले पनि एन्टिबायोटिक प्रतिरोध रोकथामका लागि वृद्धि प्रवर्धकको प्रयोग बन्द गर्न सिफारिस गरेको छ ।

संयुक्त राज्य अमेरिकामा पनि चिकित्सकीय रूपमा महत्त्वपूर्ण मानिएका एन्टिबायोटिकहरूलाई वृद्धि प्रवर्धकका रूपमा प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ ।

भारतले सन् २०१७ देखि कोलिस्टिन ९एन्टिबायोटिक० लाई वृद्धि प्रवर्धकका रूपमा प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।

तर, अन्य महत्त्वपूर्ण एन्टिबायोटिकहरूको वृद्धि प्रवर्धकका रूपमा प्रयोग भने अझै भइरहेको छ, जसलाई विश्व स्वास्थ्य संगठनले प्रतिबन्ध लगाउन सिफारिस गरिसकेको छ ।

एक अध्ययनले नेपालभन्दा भारतमा अत्यधिक बढी एन्टिबायोटिक औषधि प्रयोग हुने देखाएको छ ।

नेपालका लागि भारत मुख्य बजार हो र सीमा क्षेत्रबाट अवैध रूपमा अत्यधिक मात्रामा कुखुरा, चल्ला तथा अण्डा भित्रिने गरेका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours