खरानीबाट उठेका मिनबहादुरको बहादुरी : जेनजी आन्दोलनले ध्वस्त पारेको भाटभटेनी फेरि कसरी ठडियो ?

२५ भदौ, काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटबाट अर्बौँको क्षति बेहोरेको भाटभटेनीलाई पुरानै स्वरूपमा फर्काउन महिनौँसम्म पुनर्निर्माण, व्यवस्थापन र लगानीमा जुटे मिनबहादुर गुरुङ

काठमाडौं । एउटा सानो सटरबाट सुरु भएको व्यवसाय चार दशकको यात्रामा देशकै ठूलो व्यापारिक सञ्जालका रूपमा स्थापित हुनु आफैंमा सामान्य उपलब्धि होइन । त्यसका पछाडि निरन्तरको लगानी, जोखिम मोल्ने क्षमता, व्यवस्थापन कौशल, कर्मचारी प्रतिको विश्वास र वर्षौंको धैर्य आवश्यक पर्छ । मीनबहादुर गुरुङले चार दशक अघि काठमाडौंको नक्सालबाट सुरु गरेको भाटभटेनी डिपार्टमेन्टल स्टोरको यात्रा पनि यस्तै संघर्ष र निरन्तरताको परिणाम हो ।

२०४१ सालमा नक्सालमा सानो सटर भाडामा लिएर सुरु भएको व्यवसाय क्रमश: विस्तार हुँदै देशका विभिन्न प्रमुख सहरसम्म पुग्यो । एउटा स्टोरबाट सुरु भएको भाटभटेनी आज दर्जनौँ शाखा र हजारौँ प्रत्यक्ष रोजगारीसँग जोडिएको ठूलो व्यापारिक संरचना बनेको छ । उपभोक्ताका लागि किनमेल गर्ने ठाउँका रूपमा मात्र नभई ठूलो निजी लगानी, रोजगारी र व्यवसाय विस्तारको एउटा उदाहरणका रूपमा समेत भाटभटेनी स्थापित भयो ।

तर चार दशकको यात्रामा भाटभटेनीले अहिलेसम्मकै ठूलो संकट गत वर्ष बेहोर्नुपर्‍यो । २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा हिंसा, तोडफोड, लुटपाट र आगजनी फैलिँदा भाटभटेनीका शाखाहरू पनि त्यसको चपेटामा परे । देशभरका प्रमुख र ठूला शाखाहरू नै प्रदर्शनकारीको निशानामा परेपछि कम्पनीले अकल्पनीय क्षति बेहोर्नुपर्‍यो ।

आन्दोलनका क्रममा भाटभटेनीका २७ शाखामध्ये २१ वटामा प्रत्यक्ष क्षति पुगेको थियो । तीमध्ये १२ वटा शाखा तथा ठूला संरचना आगजनीबाट पूर्ण रूपमा ध्वस्त भएका थिए । कतिपय शाखामा भवनसँगै त्यसभित्र रहेका सामान, उपकरण, काउन्टर, गोदाम तथा अन्य संरचना समेत जलेर नष्ट भए । आगजनी नभएका शाखाहरूमा समेत तोडफोड र लुटपाट भयो ।

काठमाडौं उपत्यकामा रहेको नक्सालस्थित मुख्य शाखा, महाराजगञ्ज, बौद्ध र कोटेश्वरका स्टोर तथा बालुवाटारको वेयरहाउसमा ठूलो क्षति भयो । उपत्यका बाहिर पोखरा, चितवन, हेटौँडा, बिर्तामोड, दमक, विराटनगर र धरानका शाखाहरू पनि आगजनीको चपेटामा परे । कलंकी, बालाजु र ठिमी तथा जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी र भैरहवा लगायतका शाखामा तोडफोड र लुटपाट भयो ।

तर सबै शाखा भने प्रभावित भएनन् । काठमाडौं उपत्यकाका टोखा, सातदोबाटो, अनामनगर, सानो गाउँ, त्रिपुरेश्वर र पाटन तथा उपत्यका बाहिर नेपालगञ्जस्थित शाखा सुरक्षित रहन सफल भए । यसरी एकैपटक ठूलो संख्यामा शाखामा क्षति पुगेपछि भाटभटेनीको सञ्चालन र व्यवस्थापनमा गम्भीर चुनौती थपिएको थियो ।

११ अर्बभन्दा बढीको क्षति

आन्दोलनका क्रममा भाटभटेनीले बेहोरेको क्षति नेपालको निजी क्षेत्रको इतिहासमै ठूलोमध्ये एक मानिएको छ । कम्पनीको विवरण अनुसार कुल क्षति १० अर्ब ८५ करोड ६७ लाख रुपैयाँभन्दा बढी पुगेको थियो ।

भवन तथा पूर्वाधारमा मात्रै करिब ४ अर्ब ४० करोड रुपैयाँ बराबरको क्षति भएको थियो । आगजनीका कारण पूर्ण रूपमा नष्ट भएका सामग्रीको मूल्य करिब ५ अर्ब ९६ करोड रुपैयाँ पुगेको थियो । त्यस्तै तोडफोड र लुटपाटबाट करिब ५० करोड रुपैयाँ बराबरको क्षति भएको थियो ।

भाटभटेनीका शाखाहरूमा रहेका सामान मात्र नभई कतिपय स्थानमा नगदसमेत लुटिएको थियो । दैनिक ठूलो कारोबार हुने व्यापारिक प्रतिष्ठान भएकाले आगजनी र लुटपाटबाट भएको क्षति तत्कालको अनुमानभन्दा अझ ठूलो बन्न पुगेको थियो ।

भाटभटेनीले देशभरका शाखाबाट दैनिक औसत १० करोड रुपैयाँभन्दा बढीको कारोबार गर्दै आएको थियो । यस हिसाबले वार्षिक कारोबार ३९ अर्ब रुपैयाँ आसपास पुग्ने गरेको थियो । त्यसैले एकैपटक २१ वटा शाखामा भएको क्षतिले भौतिक संरचनासँगै कम्पनीको नियमित व्यापारिक गतिविधिमा समेत ठूलो असर पार्‍यो ।

खरानीबाट उठ्ने चुनौती

यति ठूलो क्षति भएपछि सामान्य अवस्थामा कुनै पनि व्यवसायले सञ्चालन खर्च घटाउने, कर्मचारी कटौती गर्ने वा नयाँ लगानी रोक्ने रणनीति अपनाउन सक्छ । तर भाटभटेनीले संकटपछि फरक बाटो रोज्यो ।

क्षतिग्रस्त शाखाको पुनर्निर्माण सुरु गर्नुका साथै कम्पनीले आन्दोलनअघि कार्यरत कर्मचारीलाई नै पुन: काममा फर्काउने नीति लियो । ठूलो संख्यामा शाखा बन्द हुँदा पनि कर्मचारी कटौती नगर्नु कम्पनीका लागि थप आर्थिक भार थियो । तर हजारौँ कर्मचारी र उनीहरूसँग जोडिएका परिवारको रोजीरोटी प्रभावित नहोस् भन्ने उद्देश्यले कर्मचारीलाई निरन्तरता दिइयो ।

कम्पनीले तलब सुविधामा समेत कटौती गरेन । बन्द अवस्थामा रहेका शाखाका कर्मचारीलाई समेत रोजगारीको निरन्तरता दिँदै पुनर्निर्माण प्रक्रियामा सहभागी गराइयो । यसले पुनर्निर्माणलाई भवन र व्यापारिक संरचना बनाउने काममा सीमित नराखी मानवीय पक्षसँग पनि जोड्यो ।

एक वर्षमा फेरि सञ्चालनमा

आन्दोलनको एक वर्ष पूरा हुन लाग्दा भाटभटेनीका अधिकांश क्षतिग्रस्त शाखा पुन: सञ्चालनमा आएका छन् । २७ मध्ये २३ वटा शाखा सञ्चालनमा आइसकेका छन्। । आगजनीबाट पूर्ण रूपमा ध्वस्त भएका शाखामध्ये कोटेश्वर, बौद्ध, बिर्तामोड, विराटनगर र धरान पुन: सञ्चालनमा आएका छन् ।

दमक, हेटौँडा र काठमाडौंको टंगाल शाखा भने पुनर्निर्माणको अन्तिम चरणमा छन् । विशेषगरी पूर्ण रूपमा ढलेका भवनलाई पुरानै संरचनामा मर्मत गरेर सञ्चालन गर्न सम्भव नभएकाले कतिपय शाखामा नयाँ भवन निर्माण गर्नुपरेको थियो । त्यसैले पुनर्निर्माणमा ठूलो समय र थप लगानी आवश्यक पर्‍यो ।

पुनर्निर्माणमा थप लगानी

आन्दोलनका क्रममा भएको क्षतिलाई मात्र आधार मानेर पुनर्निर्माण सम्भव भएन । पुराना संरचना भत्काएर नयाँ भवन निर्माण गर्नुपर्दा लागत थपियो । क्षतिग्रस्त भवनलाई पुन: उभ्याउँदा पुरानै संरचना दोहोर्‍याउनुको सट्टा कतिपय स्थानमा थप गुणस्तरीय र आधुनिक संरचना बनाइएको छ ।

पुनर्निर्माणमा क्षतिको रकम भन्दा करिब २० देखि ३० प्रतिशतसम्म थप खर्च भएको अनुमान गरिएको छ । यस अनुसार ११ अर्ब रुपैयाँ हाराहारीको क्षतिसँगै थप २ अर्ब २० करोडदेखि ३ अर्ब ३० करोड रुपैयाँसम्म खर्च भएको देखिन्छ । समग्रमा भाटभटेनीका क्षतिग्रस्त शाखाहरू पुन: निर्माण र पुनस्र्थापनामा करिब १४ अर्ब रुपैयाँसम्म खर्च भएको अनुमान गरिएको छ ।

नयाँ संरचनामा भवनको गुणस्तर, प्रयोग हुने सामग्री, आन्तरिक डिजाइन र सौन्दर्यीकरणमा समेत सुधार गरिएको छ । यसरी पुनर्निर्माणलाई क्षतिपूर्ति गर्ने काममा मात्र सीमित नराखी नयाँ चरणको व्यवसाय विस्तारका रूपमा अघि बढाइएको छ ।

नयाँ शाखा विस्तार पनि रोकिएन

आन्दोलनबाट ठूलो क्षति भए पनि भाटभटेनीले आफ्नो विस्तार योजना रोकेको छैन । निर्माणाधीन नयाँ शाखाहरूको काम पनि अघि बढिरहेको छ ।

चितवनको टाँडी, पोखरा लेखनाथ, ललितपुरको सातदोबाटो र भैँसेपाटीमा नयाँ शाखा निर्माण भइरहेको छ । तीमध्ये केही शाखा चालु आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ भने अन्य शाखा आगामी आर्थिक वर्षदेखि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । यसले भाटभटेनीको रणनीति पुनर्निर्माणमा मात्र सीमित नभई संकटपछि अझ ठूलो बजार विस्तार गर्ने दिशामा अघि बढेको देखाउँछ ।

अन्तर्राष्ट्रिय मोडलतर्फ भाटभटेनी

पुनर्निर्माणसँगै भाटभटेनीले आफ्नो व्यवसायिक ढाँचामा समेत परिवर्तनको प्रयास गरिरहेको छ । परम्परागत डिपार्टमेन्टल स्टोरको अवधारणाबाट अघि बढ्दै ग्राहकलाई थप सुविधा दिने उद्देश्यले सेवा विस्तार भइरहेको छ ।

भक्तपुरको राधेराधे शाखामा रात्रिकालीन सेवा सुरु हुनु त्यसैको एउटा उदाहरण हो । ग्राहकको बदलिँदो आवश्यकता र बजारको प्रतिस्पर्धालाई ध्यानमा राख्दै भाटभटेनीले अन्तर्राष्ट्रिय मोडलमा सञ्चालन गर्ने योजना अघि बढाएको छ । यससँगै नयाँ शाखाहरू निर्माण गर्दा पुराना संरचना भन्दा आधुनिक डिजाइन, व्यवस्थित पार्किङ, थप सुविधा र ग्राहककेन्द्रित सेवा विस्तारमा जोड दिइएको छ ।

लगानी सुरक्षाको प्रश्न भने बाँकी

व्यवसायिक संरचना पुन: निर्माण भए पनि आन्दोलनका क्रममा भएको घटनाले निजी क्षेत्रको लगानी सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ । व्यवसायीहरूले ठूलो रकम लगानी गरेर रोजगारी सिर्जना गर्ने भए पनि संकटको समयमा आफ्नो लगानी र सम्पत्तिको सुरक्षा कति सुनिश्चित हुन्छ भन्ने विषय अझै महत्वपूर्ण बनेको छ ।

आन्दोलनका क्रममा भएका तोडफोड, लुटपाट र आगजनीका घटनामा संलग्न व्यक्तिहरू माथि प्रभावकारी अनुसन्धान र कानुनी कारबाही हुनुपर्ने माग निजी क्षेत्रबाट उठ्दै आएको छ । भविष्यमा यस्ता घटना दोहोरिन नदिन राज्यले व्यवसायिक प्रतिष्ठान, उद्योग र लगानीको सुरक्षामा थप प्रभावकारी व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको छ ।

सानो सटरदेखि खरानी हुँदै पुन: उभिने यात्रा

मीनबहादुर गुरुङले चार दशक अघि नक्सालको एउटा सानो सटरबाट सुरु गरेको भाटभटेनीको यात्रा बीचमा ठूलो संकटबाट गुज्रिएको छ । एकातिर देशभर शाखा विस्तार गर्दै हजारौँलाई रोजगारी दिने व्यवसायिक संरचना निर्माण भयो भने अर्कोतिर एकैपटक दर्जनौँ शाखा आगजनी र लुटपाटको निशानामा परे ।

तर एक वर्षको अवधिमा अधिकांश शाखा पुन: सञ्चालनमा आउनु भाटभटेनीको अर्को महत्वपूर्ण अध्याय बनेको छ । जलेका भवनहरू पुन: ठडिएका छन्, कर्मचारी काममा फर्किएका छन्, ग्राहक फेरि स्टोरमा पुग्न थालेका छन् र नयाँ शाखाको निर्माणसमेत रोकिएको छैन ।

आन्दोलनले भाटभटेनीको भौतिक संरचनामा ठूलो क्षति पुर्‍याए पनि त्यसको विस्तार यात्रालाई पूर्ण रूपमा रोक्न सकेन । बरु संकटपछि थप आधुनिक संरचना र नयाँ व्यवसायिक योजनासहित कम्पनी अघि बढिरहेको छ ।

चार दशकअघि एउटा सानो सटरबाट सुरु भएको व्यवसाय आज खरानीबाट फेरि उठेर नयाँ चरणमा प्रवेश गरिरहेको छ । त्यसैले भाटभटेनीको पछिल्लो एक वर्षको कथा केवल पुनर्निर्माणको कथा होइन, ठूलो संकटपछि पनि लगानी, रोजगारी र व्यवसायलाई निरन्तरता दिने प्रयासको कथा पनि हो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours