२७ साउन, काठमाडौँ । गाडीहरूको मेला अर्थात् नाइमा मोबिलिटी एक्स्पो २०२६ मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)द्वारा काठमाडौंको भृकुटीमण्डपमा आयोजित मेला उद्घाटन गर्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा सडक दुर्घटनाको अवस्था अत्यन्तै चिन्ताजनक रहेको भन्दै सडक सुरक्षा र सवारी अनुशासनलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । उहाँका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा एक वर्षमा २९ हजार नौ सय ८८ सवारी दुर्घटना भएका थिए, जुन अघिल्लो वर्षको तुलनामा ४.३२ प्रतिशतले बढी हो । नेपालमा दैनिक औसत ८२ वटा सडक दुर्घटना हुन्छन्, जसमा दैनिक सात जनाले ज्यान गुमाउँछन् र एक सय ३० जना घाइते हुन्छन् । गत आर्थिक वर्षमा मात्रै दुर्ई हजार सात सय सात जनाले सडक दुर्घटनामा ज्यान गुमाएको र ४७ हजार पाँच सय ५३ जना घाइते भएको विवरण उहाँले प्रस्तुत गर्नुभयो । कुल दुर्घटनामा मोटरसाइकलको हिस्सा ५९ प्रतिशत तथा कार र जिपको हिस्सा १४ प्रतिशत रहेको जानकारी गराउँदै कार्कीले सवारीसाधन आयात गर्दा एन्टी–लक ब्रेकिङ सिस्टम एयरब्याग र र्क्यास सेफ्टी फिचर्सजस्ता अत्याधुनिक प्रविधिमा सम्झौता नगर्न व्यवसायीलाई सचेत गराउनुभयो । पछिल्लो समय विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएकोमा खुसी व्यक्त गर्दै महानिरीक्षक कार्कीले वातावरण संरक्षणमा यसले ठूलो टेवा पुर्याउने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रलाई सरकारले राजस्व संकलनको माध्यम र विलासिताको वस्तुका रूपमा मात्र हेर्ने प्रवृत्ति परिवर्तन गर्नुपर्ने बताउनुभयो । बढ्दो सवारीसाधनसँगै सडक पूर्वाधार र सुरक्षा व्यवस्थापनमा सरकारले समानान्तर रूपमा लगानी गर्नुपर्नेमा उहाँको जोड थियो । अध्यक्ष श्रेष्ठले अटोमोबाइल क्षेत्र देशको अर्थतन्त्र र जनजीवनसँग प्रत्यक्ष जोडिएको आवश्यकताको क्षेत्र भएको उल्लेख गर्दै सरकारले अटो क्षेत्रबाट राजस्व उठाउने विषयमा मात्रै ध्यान दिँदा सडक सुरक्षा, पूर्वाधार विस्तार र यातायात व्यवस्थापनका महत्त्वपूर्ण विषय ओझेलमा परेका बताउनुभयो । पछिल्लो दुर्ई दशकमा सवारीसाधनको संख्या उल्लेख्य रूपमा बढे पनि सोहीअनुसार सडकको क्षमता र सुरक्षा पूर्वाधार विस्तार हुन नसकेको उहाँले बताउनुभयो । उहाँले सडक दुर्घटनाका लागि चालक र सवारीसाधनलाई मात्र दोष दिन नहुने भन्दै सडकको गुणस्तर, पूर्वाधार अवस्था र प्रभावकारी ट्राफिक व्यवस्थापन पनि दुर्घटनाका महत्त्वपूर्ण पक्ष भएकाले सरकारले समग्र सडक सुरक्षाको दृष्टिकोणबाट नीति बनाउनुपर्नेमा जोड दिनुभयो । सरकारले सवारीसाधन दर्तामा लगाएको रोकप्रति असन्तुष्टि व्यक्त गर्दै श्रेष्ठले दशैँ–तिहारजस्ता चाडपर्वको समयमा सवारीसाधन खरिद बढ्ने भए पनि दर्ता रोक्ने निर्णयले व्यवसायी र उपभोक्ता दुवै मर्कामा पर्ने बताउनुभयो ।
त्यसैगरी नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले नेपालको मोबिलिटी तथा अटोमोबाइल क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यसँगै स्थिर र स्पष्ट नीति आवश्यक रहेको बताउनुभयो । नेपालको मोबिलिटी क्षेत्र आधुनिक, दिगो र सबैको पहुँचमा पुग्ने बनाउन दीर्घकालीन सोचसाथ अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले अटोमोबाइल क्षेत्रलाई केवल सवारीसाधन बिक्री-वितरण क्षेत्रका रूपमा मात्र नभई अर्थतन्त्र, रोजगारी, पूर्वाधार, प्रविधि र उपभोक्ता सेवासँग प्रत्यक्ष जोडिएको महत्त्वपूर्ण क्षेत्रका रूपमा हेर्नुपर्ने बताउनुभयो । मोबिलिटी क्षेत्र विकासका लागि सरकार, व्यवसायी, प्रविधि कम्पनी, उपभोक्ता तथा अन्य सरोकारवालाबीच सहकार्यको आवश्यकता औंल्याउँदै उहाँले नीतिगत स्पष्टता र स्थिरताले मात्रै अटोमोबाइल क्षेत्रमा लगानीको वातावरण बन्न सक्ने बताउनुभयो । विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएको अवस्थामा चार्जिङ पूर्वाधार, सडक सुरक्षा, यातायात व्यवस्थापन तथा वातावरणमैत्री प्रविधिको विकासमा समेत समान रूपमा ध्यान दिनुपर्ने वैद्यको भनाइ थियो । सरकारको स्वच्छ यातायात र दिगो विकासको लक्ष्यलाई नाइमाले पूर्ण समर्थन गर्ने बताउँदै उहाँले विद्युतीय सवारीसाधन, हाइब्रिड र अन्य अत्याधुनिक प्रविधिलाई प्रोत्साहन गरिने बताउनुभयो । नेपालमा यातायात थप प्रभावकारी बनाउन सुरक्षित सडक, स्पष्ट ट्राफिक नियम, भरपर्दो चार्जिङ पूर्वाधार, आधुनिक परीक्षण केन्द्र र दक्ष जनशक्तिको खाँचो रहेको पनि उहाँले औंल्याउनुभयो ।
‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा दुर्ईपांग्रे, चारपांग्रे, व्यावसायिक सवारी, विद्युतीय (इभी) तथा हाइब्रिड प्रविधिका नयाँ उत्पादन मुख्य आकर्षणका रूपमा रहेका छन् । आयोजका अनुसार एक्स्पोका क्रममा ४० भन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक हुँदैछन् । चारपांग्रेतर्फ टाटा, बिवाइडी, किया, टोयोटा, हुण्डाई, एमजी, निसान र हाभललगायत ओमोडा, जेइकु, आयन र भिजिभीजस्ता नयाँ ब्राण्डका मोडल प्रदर्शनीमा राखिएका छन् भने दुर्ईपांग्रेतर्फ पनि विद्युतीय स्कुटर तथा मोटरसाइकलको बाहुल्यता रहेको छ । प्युजो, एनआइयु, याडिया, एसर र ग्यारोजस्ता इलेक्ट्रिक ब्राण्डका साथै बजाज, टिभिएस, केटिएम र ट्रायम्फलगायतले आफ्ना नयाँ उत्पादन प्रदर्शनीमा राखेका छन् । एक्स्पोमा ५१ स्टल, ५५ भन्दा बढी ब्राण्ड र ४० भन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार एक्स्पोमा अवलोकनकर्ताहरूले विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत्् सवारी कर्जा र बीमासम्बन्धी जानकारीसमेत एकै ठाउँबाट प्राप्त गर्न सक्नेछन् । सवारीसाधन खरिद गर्न चाहनेका लागि कम्पनीहरूले विशेष छुट र सुविधाको व्यवस्थासमेत गरेका छन् ।
एक्स्पोमा एनएमबी बैंक र सिद्धार्थ बैंक बैंकिङ पार्टनर, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी इन्स्योरेन्स पार्टनर, बोस नेपाल प्रविधि पार्टनर, पठाओ प्राइभेट लिमिटेड राइड पार्टनर, ग्लोबल कलेज अफ म्यानेजमेन्ट एजुकेसन पार्टनर, एजाइल इञ्जिनियरिङ सोलुसन्स प्रालि र अग्नि इनर्जी प्रालि चार्जिङ पार्टनर, एक्वा मिनरल्स प्रालि हाइड्रेसन पार्टनर, आइएमई खल्ती लिमिटेड टिकटिङ पार्टनर, द सोल्टी काठमाडौं हस्पिटालिटी पार्टनर, नर्भिक इन्टरनेसनल अस्पताल हेल्थ पार्टनर रहेका छन् । त्यस्तै वत्सल इम्पेक्स प्रालि सर्भिलेन्स पार्टनर, हिट्को प्रालि अग्नि तथा सुरक्षा पार्टनर, वर्ल्डलिंक कम्युनिकेसन्स कनेक्टिभिटी पार्टनर, पायोनियर इभेन्ट म्यानेजमेन्ट अडियो-भिजुअल पार्टनर, युनियन पे क्युआर पार्टनर, डिजिपल सोलुसन्स डिजिटल पार्टनर, एटिएस नेपाल सवारी सुरक्षा तथा पार्किङ समाधान पार्टनर, प्रफिट मिडिया प्रकाशन पार्टनर तथा मिडिया स्पेस सोलुसन्स इभेन्ट म्यानेजमेन्ट पार्टनर रहेका छन् ।


+ There are no comments
Add yours