०९ चैत, काठमाडौँ ।अघिल्लो दिनको तुलनामा आज (सोमबार) काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसभन्दा बढी बढेको छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११.८ डिग्री सेल्सियसमा उक्लिएको हो।
यद्यपि आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिनेछ। त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सुरुवातको भन्दा थोरै घट्ने सम्भावना हुन्छ। तर कहिलेकाहीँ यही कायम रहन पनि सक्छ।
आइतबार सुरुवाती मापनमा ८.५ डिग्री सेल्सियस देखिएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अन्तिम मापनका बेला ८.४ कायम भएको थियो।
यसैबिच आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना एकदम कम देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपालखबरको जिज्ञासामा मौसम महाशाखाले भन्यो, ‘आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना निकै कम देखिएको छ। बादल भने आंशिक लाग्ने सम्भावना छ।’ आंशिक बादल लाग्नु भनेको घाम पनि देखिने अवस्था हो।
तथापि प्रि-मनसुन सिजन भएकाले काठमाडौँ उपत्यकामा साँझपख हल्का वर्षा पनि हुन सक्ने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
अन्य स्थानको तापक्रम
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
मौसमविद्का अनुसार न्यूनतम तापक्रमले रातिदेखि बिहानसम्मको अवस्था जनाउँछ भने अधिकतम तापक्रमले दिनभरको अवस्था बताउँछ।


+ There are no comments
Add yours