
११ माघ, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र विक्रम शाहदेव राप्रपाको सहारामा राजसंस्था पुनर्स्थापना हुन्छ भन्ने भ्रममा छन् भने त्यो केवल भ्रम मात्र होइन, आत्मघाती राजनीतिक गलतफहमी हो। आजको राप्रपा राजसंस्था फर्काउने साधन होइन, बरु राजसंस्थाको अवशेष भावनालाई क्रमशः निष्क्रिय, सामान्यीकृत र अन्ततः निषेध गर्ने योजनाबद्ध संयन्त्र बनेको छ।
कमल थापा, प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर राणा, राजेन्द्र लिङ्देन र यिनै लाइन पछ्याउने अन्य शीर्ष नेताहरू—यी सबै राजसंस्थाको समर्थनको आवरण ओढेका व्यावसायिक गणतान्त्रिक पात्रहरू हुन् भन्ने प्रष्ट राजनीतिक यथार्थ बन्दै गएको छ। उनीहरूका भाषणमा राजसंस्था हुन्छ, तर उनीहरूको कर्म, सम्झौता र सत्ता–साझेदारीमा गणतन्त्र मात्रै सुरक्षित हुन्छ।
यी नेताहरूको सबैभन्दा ठूलो ‘उपलब्धि’ के हो भने—राजसंस्थाप्रति जनतामा बाँकी रहेको असन्तोष र चाहनालाई विद्रोहमा रूपान्तरण हुन नदिई, बिस्तारै थकानमा बदल्नु। सडक तताउन सक्ने मुद्दालाई चुनावी नारामा सीमित गर्नु, आन्दोलनलाई बैठकमा थुन्नु, र अन्ततः गणतान्त्रिक संरचनाभित्रै विलय गराउनु—यही हो राप्रपाको वास्तविक भूमिका।
राजसंस्थाको नाममा राजनीति गरेर संसदीय सुविधा, पद, गाडी र राज्यकोषबाट लाभ लिने तर निर्णायक मोडमा पुग्नेबित्तिकै ‘संवैधानिक सीमा’, ‘यथार्थवाद’ र ‘सम्भाव्यता’को भाष्य घोक्ने यही नेतृत्व नै राजसंस्थाको सबैभन्दा ठूलो बाधक हो। गणतन्त्रलाई चुनौती दिनुपर्ने ठाउँमा यिनै नेताहरू गणतन्त्रका सबैभन्दा भरपर्दा सुरक्षा घेरा बनेका छन्।
जबसम्म राप्रपा यिनै अनुहार, यिनै प्रवृत्ति र यिनै राजनीतिक डीएनएको कब्जामा रहन्छ, तबसम्म राजसंस्था फर्कने होइन—बरु राजसंस्थाको नाम लिनु पनि क्रमशः लाजमर्दो बनाइँदै जानेछ। यिनै नेताहरूको हातमा रहेको राप्रपा राजसंस्थाको पुनर्स्थापनाको आन्दोलन होइन, राजसंस्थाको शालीन अन्त्यको दीर्घ परियोजना हो।
पूर्वराजा ज्ञानेन्द्रले बुझ्न ढिला गरिरहेका छन्—राजसंस्था सडकबाट फर्किन्छ, सम्झौताबाट होइन; जनविद्रोहबाट फर्किन्छ, संसदीय व्यापारबाट होइन; र स्पष्ट नेतृत्वबाट फर्किन्छ, दोहोरो चरित्र बोकेका दलाल नेताबाट होइन।
इतिहासले बारम्बार देखाइसकेको छ—सिंहासन बाहिरबाट ढालिँदैन, भित्रबाट कमजोर पारिन्छ। आज राप्रपाको नेतृत्वले त्यही काम गरिरहेको छ। राजसंस्थाको नाममा गणतन्त्रलाई मलजल गर्ने यो ढोंगी राजनीति चिरिन सकेन भने, राजसंस्था कुनै षड्यन्त्रले होइन—आफ्नै कथित समर्थकहरूद्वारा अन्तिम रूपमा दफन हुनेछ।


+ There are no comments
Add yours