मचाडोले आफ्नो नोबेल शान्ति पुरस्कार ट्रम्पलाई दिएको तस्बिर सार्वजनिक

०२ माघ, काठमाडौँ । भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोले आफूले पाएको नोबेल शान्ति पुरस्कार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिएको तस्बिर ह्वाइट हाउसले सार्वजनिक गरेको छ।

बिहीबार ह्वाइट हाउसमै भेटेर उनले आफ्नो नोबेल शान्ति पुरस्कार ट्रम्पलाई सुम्पिएकी हुन्।

यसैबिच राष्ट्रपति ट्रम्पले मचाडोको प्रशंसा गरेका छन्।

उनले ट्रुथ सोसलमा लेखेका छन्, ‘मारिया एक अद्भुत महिला हुन्, जसले धेरै कुरा सहेकी छन्। मारियाले मेरो कामका लागि मलाई उनको नोबेल शान्ति पुरस्कार प्रदान गरिन्।’

ट्रम्पले अगाडि लेखेका छन्, ‘यो पारस्परिक सम्मानको अद्भुत संकेत हो। धन्यवाद, मारिया!’

उनीहरूबिच प्रत्यक्ष भेटघाट भएको यो पहिलोपटक हो।

यही जवनरी ३ तारिख अमेरिकी सेनाले भेनेजुएलामा हमला गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरोको दम्पतीलाई नै अमेरिका लगेर हिरासतमा राखेको छ।

भेनेजुएलाकी विपक्षी नेता मचाडोले ट्रम्पको कदमको प्रशंसा गरेकी थिइन्।

राष्ट्रपति मदुरोलाई अमेरिकाले नियन्त्रणमा लिएयता भेनेजुएलामा उपराष्ट्रपति डेल्सी रोड्रिगेज कार्यवाहक राष्ट्रपति बनेकी छन्।

‘भेनेजुएलाका जनताका लागि लोकतान्त्रिक अधिकारको प्रवर्द्धन गर्न र तानाशाहीको सामना गर्दै न्यायपूर्ण र शान्तिपूर्ण तरिकाले लोकतन्त्रका लागि लडेको’ भन्दै नोबेल शान्ति समितिले सन् २०२५ को नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी राजनीतिज्ञ मचाडोलाई दिएको थियो।

त्यतिबेला उक्त पुरस्कार आफूले पाउनुपर्ने दाबी गरिरहेका ट्रम्प भने हिस्स परेका थिए।

एकअर्काको प्रशंसा गरे पनि ट्रम्पले भेनेजुएलाको शासनमा मचाडोलाई समर्थन भने गरेका छैनन्। बरु उनी डेल्सीसँग वार्ता गरिरहेका छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours