पौषशुक्ल पुत्रदा एकादशीको कस्तो रहेको छ महत्व!

१४ पुस, काठमाडौं । मिति २०८२ साल पुस १५ गते मंगलबार पौषशुक्ल पुत्रदा एकादशी तिथी राती १ / २२ बजेसम्म त्यस उप्रान्त द्वादशी तिथी आरम्भ हुने भएकोले यो कथा महात्म्य युधिष्ठिरले सोधे पछि भगवान श्रीकृष्णले आज्ञा गर्नुभयो- पौष महिनाको शुक्लपक्षको एकादशीको नाम पुत्रदा एकादशी हो।यसले सबै पापलाई हरण गर्दछ।समस्त कामनाहरू तथा सिद्धिहरूका दाता भगवान लक्ष्मीनारायण यस तिथिका अधिदेवता हुन।यो दिन भगवानको पूजा अर्चना तिल ,तुलसी अर्पणगरी कुन्दको फल र पक्वान्न अपुङ्गोको नैवेद्द चढाएर दारिमको अर्घ भगवानलाई दिइ घ्यु ब्राह्मणलाई दान दिनुपर्दछ।

संसार चराचर प्राणिहरू सहित त्रिलोकीमा यस व्रतभन्दा ठूलो अर्को व्रत र तिथि छैन।पूर्वकालमा भद्रावतीपुरीका राजा सुकेतुमान तथा महारानी चम्पा धेरै समयसम्म कुनै पुत्र नभएका कारण चिन्तामा डुबेर समययापन गर्दथे।एक दिन राजा घोडामाथि चढेर गहन वनतर्फ प्रस्थान गरे।त्यहाँ उनले एउटा सरोवरको नजीकमा ऋषि-मुनिहरूको आश्रम भेटे।राजा मुनिद्वारा गुन्जायमान वेद-पाठले अत्यन्त प्रभावित भए र उनले ती ऋषिहरूलाई दण्डवत् प्रणाम गरे।राजाले अनुरोध गरेपछि मुनिहरूले आज्ञा गरे- राजन्! हामी विश्वेदेव हौ।आजबाट ५ दिनपछि माघको स्नान प्रारम्भ हुनेछ।

अद्य ह्येकादशी राजन् पुत्रदा नाम नामतः।
पुत्रं ददात्यसौ शुक्ला पुत्रदा पुत्रमिच्छताम्।।

हे राजन्! आज पुत्रदा एकादशी हो।यसर्थ जसका संतान छैनन् उनीहरूले आजको एकादशीमा व्रत गर्नाले अवश्य पुत्रप्राप्ति हुन्छ।त्यसैले तिमी यस व्रतलाई विधिपूर्वक पालना गर।भगवान केशवको प्रसादस्वरूप तिमीलाई पुत्र प्राप्त हुनेछ।

अपुत्रस्य गृहं शून्यं हृदयं दुःखितं सदा।
पितृदेव मनुष्याणां नानृणित्वं सुतं विना।।

सन्तानहीनताले व्याकुल राजदम्पत्तिलाई कुनै खुसीको कुरा देख्दा वा सुन्दा पनि सुखको अनुभव हुँदैनथ्यो।बिहान उठ्दादेखि नसुतेसम्म सन्तानकै चिन्ताले सताइरहन्थ्यो। यस्तैमा राजाको मनमा आत्महत्या गर्ने विचार समेत आउँथ्यो।तर शास्त्रमा आत्महत्या गर्नेको दुर्गति बताइएको सुन्दा राजाले त्यसो गर्न सकेका थिएनन्। त्यसपछी मुनिहरूको निर्देशानुसार राजाले पुत्रदा-एकादशीका दिन उपवास बसेर द्वादशीका दिन व्रतको पारायण गरे।यस अनुष्ठानको पुण्यफलले उनले सुन्दर र तेजस्वी पुत्र प्राप्त गरे।जो व्यक्तिले पुत्रदा एकादशीको सविधि व्रत लिने गर्दछन, तिनका घरमा पुत्रलाभ हुन्छ।यो कतिपय भक्तको अनुभव हो।

पितरं तोषयामास प्रजापाले बभूव सः।
एतस्मात् कारणात् राजन् कर्तव्यं पुत्रदा व्रतम्।।

भगवान् श्रीकृष्णले महाराज युधिष्ठिरलाई भन्नुभएको प्रसंग हो यो।यही सन्दर्भमा भगवान् भन्नुहुन्छ– यो पुत्रदा एकादशी व्रत अत्यन्त गोप्य हुँदाहुँदै पनि लोककल्याणका लागि मैले बताएँ, त्यसैले जसले यो व्रत लिन्छ, उसले यो लोकमा पुत्रपौत्र प्राप्त गर्नुका साथै मरणोपरान्त समेत स्वर्गमा परम पद प्राप्त गर्दछ।

पुत्रं प्राप्येह लोके तु मृतास्ते स्वर्गगामिनः।
पठनात् श्रवणात् राजन् अश्वमेधफलं लभेत्।।

व्रत लिनेले यस जन्ममा पुत्र-सुख भोगेर मृत्युपछि स्वर्ग प्राप्त गर्दछ।पुत्रदा एकादशीको माहात्म्यलाई पढ्नाले र सुन्नाले मात्र पनि अग्निष्टोम यज्ञ वा अष्वमेध अज्ञगरे सरहको फल प्राप्त हुन्छ।पुत्रप्राप्तिको कामना हुने भक्तजनले पुत्रदाएकादशीबाट प्रारम्भ गरी निम्न मन्त्रको प्रतिदिन कम्तीमा पनि ५ माला अर्थात ५०० पटक जप गर्नाले सिद्धि प्राप्त हुने विश्वास छ- ॐ क्लीं देवकीसुतगोविन्द वासुदेव जगत्पते। देहि मे तनयं कृष्ण त्वामहं शरणं गत: क्लीं ॐ॥मन्त्रको जपपछि सन्तानगोपाल स्तोत्रको पाठ गर्नाले अनेक नि:सन्तानले सन्तान-सुख प्राप्त गरेका उदाहरण प्रशस्त भेटिन्छन।
पं बालमुकुन्द देवकोटा

You May Also Like

More From Author

+ There are no comments

Add yours