किन बढ्दैछ सम्बन्ध विच्छेद?

२९ कार्तिक, काठमाडाैँ । वर्तमान अवस्थामा सम्बन्ध विच्छेद एक जटिल सामाजिक समस्याका रूपमा बढिरहेको छ। दुःखमा साथ सुखमा विश्वासले जीवनपद्धति अगाडि बढाउने प्रण गरेर दाम्पत्य जीवन सुरुवात गरेका दम्पतीबिच समस्या बन्छ।

सामाजिक संरचनागत विभिन्न इकाइहरूको प्रकार्यात्मक गतिविधिमा सामञ्जस्य हुन नसक्दा सामाजिक सांस्कृतिक मूल्य मान्यताहरूले बाँधिएको बन्धनको गाँठो खुस्किँदै जान्छ। दाम्पत्य जीवनको सुरुवाती चरणमा विच्छेदनको परिकल्पना नै हुँदैन तर विवाहपश्चातका क्रियाकलाप र विवाहपूर्वको सहमति र सद्भावको विचलनको रूप बढ्दा दम्पती छुट्टिने मानसिकतामा पुग्छन्। सँगै जिउने मर्ने कसम खाएर विवाहको बन्धनमा बाँधिएका श्रीमान्श्रीमतीबिच सम्बन्ध विच्छेदजस्तो गम्भीर अवस्थामा त्यतिकै पक्कै पनि पुगेका हुँदैनन्। त्यसका पछाडि विभिन्न कारण जोडिएर आएका हुन्छन्। केही कारणहरू सामान्य प्रकृतिका हुन्छन् भने केही जटिल प्रकृतिका पनि रहेका हुन्छन्। सम्बन्ध विच्छेदका कारणहरू पत्ता लगाउनका लागि विवाहदेखि दैनिक जीवनका ससाना घटना र व्यवहारको सूक्ष्म अध्ययन गर्नु आवश्यक देखिन्छ।

विशेषगरी हाल भइरहेको सम्बन्ध विच्छेद हुनुका कारणमा विदेशी जीवनशैलीका प्रभाव, वैदेशिक रोजगार, स्वतन्त्र यौनजीवनदेखि असमझदारी, सामाजिक मर्यादामा आएको कमी र व्यक्तिगत अराजकतासम्म देखिन्छ। आजकल मेहनत र परिश्रमबाट आर्जनभन्दा पनि सम्बन्ध विच्छेदबाट प्राप्त हुने सम्पत्तिको लोभ अर्को पाटो रहेको पाइन्छ।

मानिसको दैनिक जीवन र उसको व्यवहारसँग उसको रोजगारी र उसले गर्ने कामको प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ। रोजगारीका क्रममा घरबाहिर बस्नुपर्ने र सोही क्रममा बाहिरी व्यक्तिसँग हुने सम्बन्धले वैवाहिक जीवनमा समेत प्रभाव परेको हुन्छ। नेपालबाट कामको सिलसिलामा विदेश जाने कैयाैं युवायुवतीहरू प्रत्यक्ष प्रभावित हुने गरेका घटनाहरू दैनिकजसो सञ्चारमाध्यमा आएका देख्न सकिन्छ।

महिलाहरू रोजगारीका माध्यमबाट आत्मनिर्भर बनिसकेपछि घरपरिवार तथा पुरुषहरूको शोषण दमन सहेर बस्नु नपर्ने, आफ्नो जीवनका निर्णयहरू आफैं लिन सक्ने हुन्छन् भने बेरोजगार भएकै कारण, आर्थिक अवस्था कमजोर भएका कारण पनि कैयांै वैवाहिक सम्बन्धहरू टुट्ने गरेको देखिन्छ। तसर्थ रोजगारीको अवस्थासँग सम्बन्ध विच्छेद जोडिएर आएको पाइन्छ।

अर्को नवधनाढ्य तथा कुलघरानसँग कुटुम्ब जोड्ने आससँगै शैक्षिक, चेतना र स्तरको ख्याल नगरी वैवाहिक जीवनमा बाँधिने तर विवाहपश्चात् एकअर्काको बुझाइमा आउने फरकपनले मनमुटाव भएर सम्बन्ध विच्छेद भएको देखिन्छ। पहाड तथा तराईमा सम्बन्ध विच्छेदको घटना बढ्नुमा अन्तरजातीय विवाहमा वृद्धि, तिलक प्रथा दाइजोमा प्राथमिकता, परम्परागत र आधुनिक सोचबिच टकराव, मधेसी र गैरमधेसीबिच विवाह आदि समस्या रहेका पाइन्छन्।

शिक्षाले मानिसको सोच र दैनिक व्यवहारमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ। शैक्षिक अवस्थाले मानिसहरूको दैनिक जीवन र वैवाहिक जीवनमा समेत प्रभाव पारेको हुन्छ। वैवाहिक जीवनमा श्रीमान्–श्रीमतीको शैक्षिक योग्यताले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। सम्बन्धविच्छेदका घटनाहरू मुख्यतया शिक्षित व्यक्तिहरूमा सचेतना, आत्मनिर्भरता, स्वतन्त्रता आदि कारणको रूपमा देखिन्छन् भने अशिक्षितहरूमा घरेलु हिंसा, बहुविवाह आदि कारक तत्त्वका रूपमा देखिएका छन्।

वैज्ञानिक आविष्कारसँगै सञ्चार क्षेत्रमा तीव्र विकास भएको छ। नेपालमा पनि विद्युतीय सञ्चार माध्यमको प्रभाव तीव्र रूपमा विस्तार हँुदै गरेको छ। सञ्चारका माध्यमको विकास हुनु सकारात्मक पक्ष हो तर यसको दुरुपयोगले सामाजिक समस्या पनि बढाइरहेको छ। यसको प्रयोग सही रूपमा गर्न सके वरदानस्वरूप हुन सक्छ भने यसको अति प्रयोग गर्दा यसको हरेक क्षेत्रमा नकारात्मक प्रभाव परिरहेको छ।

केही वर्षयता टेलिफोन, मोबाइल र इन्टरनेटको विस्तारसँगै सामाजिक सञ्जालका माध्यमहरूको प्रयोगमा व्यापकता आएको छ। टिकटक, फेसबुक, ट्विटर तथा इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालका माध्यमको प्रयोग धेरैको दैनिकी जस्तै भएको छ। यी माध्यमको प्रयोगसँगै घरपरिवारभन्दा पनि बाहिरी मानिससँगको सामीप्यको वृद्धिका कारण आफन्त तथा घरपरिवारसँगको सम्बन्ध पातलिँदा यसले परिवारमा दरारको अवस्था सिर्जना गरेको छ।

पारिवारिक खटपटको प्रमुख कारण विद्युतीय सञ्चार माध्यमको अधिक प्रयोगको विषय बनेको छ। सञ्चार माध्यमबाट बढेको आकर्षण तथा त्यसबाट भत्किएको सामाजिक मर्यादाबाट पनि पारिवारिक असामञ्जस्य बढेको कारण घरपरिवारमा द्वन्द्व बढेको देखिन्छ। वर्तमान समयमा सम्बन्ध विच्छेद हुने घटनाहरूको एक महत्त्वपूर्ण कारक तत्त्वको रूपमा टिकटक, फेसबुक, ट्विटर तथा इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालका माध्यमको अधिक तथा अनावश्यक प्रयोग देखापरेको छ भने दाइजो वा तिलक प्रथाको अवस्था विवाह र विवाहपछिका दिनमा हुने असमझदारीको प्रमुख कारण दाइजो वा गरगहनाका विषयले पनि सम्बन्ध विच्छेदको घटना हुने गरेको पाइन्छ।

आज पनि नेपाल भारतलगायतका मुलुकमा दाइजोको विषयलाई लिएर कैयौं घरेलु हिंसाहरू भएका घटनाहरू देखिएका हुन्छन्। छोरीलाई विवाह गरी केटा पक्षको घरमा पठाउनुपर्ने र त्यसमा साथसाथै दाइजो पनि दिनुपर्ने सामाजिक कुसंस्कारले गर्दा आज छोरी जन्मिँदा नाबालिक र सुत्केरी आमाले समेत अपमान सहनुपर्ने अवस्थाहरू देखिन्छन्।

समय र समाजको परिवर्तनसँगै नेपालको सहरी क्षेत्रको साथै पहाडी जिल्लामा दाइजोको विषयलाई लिएर शोषण दमनका र हिंसाका घटनाहरूमा केही कमी आएको देखिए तापनि तराईका जिल्लामा र भारतीय पनि केही क्षेत्रहरूमा दाइजो प्रथाको विकराल समस्या रही आएको छ। वरबधुको छनोटसँगै वरको पारिवारिक आर्थिक सामाजिक आडम्बर, शैक्षिक स्तर प्राप्ति जस्ता कुरालाई हेरेर वधु पक्षसँग आर्थिक र जिन्सीको लेनदेन हुने गर्छ। त्यो नै तिलक प्रथा हो।

विवाहपूर्वको सम्झौतासँगै पछि दिनचर्यामा पनि वधुपक्षले निर्वाह गर्नुपर्ने भूमिकामा कमबेसी हुँदा त्यही तिलक वा दाइजोको निहुँमा नारीलाई हिंसा गरेर सम्बन्ध विच्छेदसम्म पुगेका घटना रहेको छ। दाइजो वा तिलक प्रथाबाट भएको सम्बन्धविच्छेद भएको देखिन्छ। दाइजो र आफूले भने जति सम्पत्ति नदिएको आदि कारण देखाई घरपरिवारको समेत सहयोगमा श्रीमान्ले श्रीमतीलाई घरेलु हिंसा तथा दमन गर्ने गरेको पाइन्छ।

विवाहपश्चात् विविध कारणले श्रीमान्–श्रीमती केही समयका लागि एकअर्कासँग छुट्टिएर बस्नुपर्ने अवस्था सिर्जना हुन्छ। यस क्रममा एकअर्काको अनुपस्थितिमा तेस्रो पक्षसँगको सम्बन्ध र सामीप्यका कारण नचाहँदा नचाहँदै पनि सम्बन्धमा खटपट हुन जान्छ। त्यही विषय आपसी झैझगडाको विषय बन्छ र अन्ततः दाम्पत्य जीवनको अत्यसम्म हुने अवस्थासम्म पुग्ने गरेको देखिन्छ।

रोजगारी, व्यवसाय वा अन्य कारणबाट दम्पती छुट्टिएर बस्दै गर्दा आमसञ्चार, आधुनिक प्रविधि प्रयोगले दम्पतीबिचको नैतिक मूल्यमा ह्रास आएकाले आपसी असमझदारीले सम्बन्ध विच्छेद रूप लिएको देखिन्छ। वर्तमान अवस्थामा दम्पतीसँगै बसेर पनि दाइजो, परिवारको सम्पत्ति प्राप्त गर्ने चाहना, देखावटीपन, सौख, शैक्षिक स्तरको अन्तर, पारिवारिक पृष्ठभूमि बुझाइकोे कमी, मौलिक हार्दिकताको कमी, कुलत र हिंसाजस्ता कारणहरूले सम्बन्ध विच्छेद भएको देखिन्छ।

यसरी सम्बन्ध विच्छेद बढ्दै जाने हो भने वैवाहिक संस्कार तथा सामाजिक संरचनामै ठुलो असरका कारण मानिसमा विवाहप्रतिको नैराश्य उत्पन्न हुने देखिन्छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours