१४ असाेज, काठमाडौँ । दक्षिणी फिलिपिन्समा गएराति शक्तिशाली ६.९ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । स्थानीय समयअनुसार राति १० बजेतिर मिन्डानाओ टापुको डाभाओ डेल सुर प्रान्तलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले व्यापक क्षति पुर्याएको छ ।
भूकम्पको धक्का निकै शक्तिशाली महसुस गरिएको थियो । धेरै भवनहरूमा चिरा परेका छन् भने केही भत्किएका छन् । सडक र पूर्वाधारमा समेत क्षति पुगेको प्रारम्भिक रिपोर्टहरूले देखाएका छन् । भूकम्पपछि सुनामीको चेतावनी भने जारी नगरिएको फिलिपिन्स भूकम्प तथा ज्वालामुखी विज्ञान संस्थाले जनाएको छ ।
हालसम्म १९ जनाको मृत्यु भएको पुष्टि भएको छ भने मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । भूकम्प प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत कार्य सुरु गरिएको छ । स्थानीय विपद् व्यवस्थापन निकाय, प्रहरी र सेनाको टोलीले भग्नावशेषमा पुरिएकाहरूको खोजी गरिरहेका छन् ।
भूकम्पका कारण विद्युत आपूर्ति अवरुद्ध भएको छ भने सञ्चार सेवामा पनि बाधा पुगेको छ । यसले उद्धार कार्यमा चुनौती थपेको छ। कतिपय दुर्गम क्षेत्रमा अझै पनि उद्धार टोली पुग्न सकेको छैन ।
फिलिपिन्स “प्यासिफिक रिङ अफ फायर” मा अवस्थित भएकाले यहाँ बारम्बार भूकम्प र ज्वालामुखी विस्फोट हुने गर्दछ न्। सन् २०१३ मा यसै क्षेत्रमा गएको ७.२ म्याग्निच्युडको भूकम्पले २०० भन्दा बढी मानिसको ज्यान लिएको थियो ।


+ There are no comments
Add yours