२४ भदाै, काठमाडाैं । जिल्ला प्रशासन कार्यालय ललितपुरले जेनजी आन्दोलनलाई लक्षित गर्दै मंगलबार बिहान कर्फ्यु आदेश जारी गरेको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम ललितपुर जिल्लाका विभिन्न क्षेत्रमा बिहान ७ बजेदेखि राति १२ बजेसम्म कर्फ्यु लागु गरिएको हो।
कर्फ्यु आदेश ललितपुर महानगरपालिकाका वडा नं. २, ४, ५, १५ र २४ का विभिन्न क्षेत्रमा लागु हुनेछ। प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार वडा नं. ४, ५, १५ र २४ को भैंसेपाटी क्षेत्र, वडा नं. २ को सानोपा स्थित इन्द्रायणी मार्ग आसपासका क्षेत्र र वडा नं. १ को च्यासल क्षेत्रमा कर्फ्यु लागु गरिएको छ।
आदेशमा कर्फ्यु लागु भएका क्षेत्रमा कुनै पनि व्यक्तिले आवतजावत गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा वा बैठक आयोजना गर्न वा कुनै पनि प्रकारको घेराउ गर्न पूर्णरूपमा निषेध गरिएको छ। यो आदेशको उल्लंघन गर्ने जो कोहीलाई स्थानीय प्रशासन ऐन बमोजिम कारबाही गरिने विज्ञप्तिमा उल्लेख छ।
जिल्ला प्रशासनले शान्ति सुरक्षा कायम राख्न र सम्भावित अशान्ति रोक्न यो कदम चालिएको जनाएको छ। स्थानीय बासिन्दालाई कर्फ्युको समयमा आवश्यक सावधानी अपनाउन र प्रशासनको निर्देशन पालना गर्न अनुरोध गरिएको छ।



+ There are no comments
Add yours