प्रयोगकर्तालाई स्क्यामबाट जोगाउन सहयोग गर्ने नयाँ सुविधाहरू ल्याउँदै व्हाट्सएप

२२ साउन, काठमाडौँ । व्हाट्सएपले प्रयोगकर्ताहरूलाई ठगीबाट जोगाउन सहयोग गर्ने नयाँ सुविधाहरू ल्याउने घोषणा गरेको छ। कम्पनीले मंगलबार जानकारी दिँदै हालै विश्वभरका मानिसहरूलाई लक्षित गर्दै सञ्चालन गरिएका आपराधिक स्क्याम सेन्टरहरूसँग सम्बन्धित ६८ लाखभन्दा बढी व्हाट्सएप खाता हटाइएको पनि जनाएको छ।

मेटा स्वामित्वमा रहेको यो सन्देश सेवा प्लेटफर्ममा अब समूह र व्यक्तिगत दुवै च्याटमा स्क्याम पहिचान गर्न सहयोग गर्ने नयाँ फिचरहरू ल्याइनेछ।
समूह च्याटका लागि व्हाट्सएपले ‘सेफ्टी ओभरभ्यू’ नामक सुविधा ल्याउँदैछ।

टेकक्रञ्चका अनुसार यो सुविधा तपाईंको सम्पर्क सूचीमा नभएको कसैले तपाईंलाई नयाँ समूहमा थपेपछि देखिन्छ। त्यस समूहको बारेमा तपाईंलाई जानकारी नहुन सक्छ, यसो भएमा सेफ्टी ओभरभ्यूले समूहसम्बन्धी मुख्य विवरणहरू देखाउनेछ र सुरक्षित रहन सुझावहरू पनि दिनेछ।

उदाहरणका लागि, तपाईंलाई समूहमा थप्ने व्यक्ति तपाईंको सम्पर्क सूचीमा छन् कि छैनन् भनेर देखिन्छ, साथै समूहका अन्य सदस्यहरूमध्ये कोही तपाईंको सम्पर्कमा छन् कि छैनन् भन्ने पनि देखाइन्छ।

यदि तपाईंले समूहलाई चिन्न सक्ने ठान्नुहुन्छ भने च्याट हेर्न रोज्न सक्नुहुन्छ। जुनसुकै विकल्प रोजे पनि, तपाईंले आफैँ समूहमा रहने निर्णय नगरेसम्म च्याट नोटिफिकेसनहरू म्युट रहनेछन्।

व्यक्तिगत च्याटको सन्दर्भमा, व्हाट्सएपले जनाएअनुसार ठगहरूले इन्टरनेटका अन्य माध्यमबाट सम्पर्क गर्न खोजेर पछि व्हाट्सएपमा ल्याउने रणनीति अपनाउने गर्छन्। यस्तो रणनीति विरुद्ध सुरक्षा दिन एपले नयाँ चेतावनी प्रणाली परीक्षण गरिरहेको छ।

जस्तै तपाईंले सम्पर्कमा नरहेको व्यक्तिसँग च्याट सुरु गर्दा सम्भावित स्क्यामबारे चेतावनी दिन सकियोस् भन्नका लागि ती व्यक्ति को हुन् भन्ने थप सन्दर्भ जानकारी देखाउने प्रयास भइरहेको छ।

व्हाट्सएपले ओपनएआईसँग सहकार्य गरेर कम्बोडियास्थित स्क्याम सेन्टरबाट सञ्चालित ठगी प्रयासहरू विफल पार्न गरिएको कामको जानकारी पनि सार्वजनिक गरेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours