रसुवामा बाढीले बगाएको ठाउँनजिकै नयाँ पुल ‘भदौभित्र बनिसक्ने’

बीबीसी न्यूज नेपाली

१० साउन, काठमाडौँ। नेपाल र चीनको मुख्य व्यापारिक नाका अवरुद्ध हुने गरी असार अन्तिमतिर आएको बाढीले बगाएको नेपाल-चीन मितेरी पुल भदौ ३० गतेभित्र बनाइसक्ने समझदारी चिनियाँ पक्षले गरेको नेपाली अधिकारीहरूले बताएका छन्।

भौतिक योजना तथा निर्माण मन्त्रालय र काठमाण्डूस्थित चिनियाँ राजदूतावासबीच भएको समझदारीमा चीन सरकारले आफ्नै लगानीमा बेलिब्रिज बनाएर अबको तीन साताभित्र नाका खुलाउने प्रतिबद्धता जनाएको हो।

यसै साता अर्थमन्त्री विष्णु पौडेलसँगको भेटमा चाइना इन्टरन्याश्नल डेभलपमन्ट कोअपरेशन एजेन्सीका अध्यक्षले बाढीले क्षतिग्रस्त पुल आफ्नो तर्फबाट पुनर्निर्माण गरिदिने बाचा गरेका बताइएको थियो।

भूपरिवेष्टित नेपालका लागि उत्तरी छिमेकी राष्ट्र चीनसँग हुने ७० प्रतिशत व्यापार यही नाका मार्फत् हुने गरेको छ। तिब्बतबाट बगेर आउने ल्हेन्देखोलामा अकस्मात् आएको बाढीले दुई देश जोड्ने पुल बगाउँदा २०० जना भन्दा धेरै नेपाली सवारी चालकहरू र ५०० ट्रक सामान चीनतर्फ अड्किएका थिए।

केरुङमा रोकिएका नेपाली चालकहरू दुई सातापछि त्यहाँबाट लिपिङ हुँदै तातोपानी नाकाबाट बुधवार नेपाल आइपुगेका छन्। केरुङको गोदाममा रोकिएका आफूहरूका सामग्री रसुवागढीमा बेलिब्रिज सञ्चालनमा आएपछि मात्रै नेपाल भित्र्याउने योजनामा आफूहरू रहेको नेपाली व्यवसायीले बताएका छन्।

रसुवागढी नाकाको पछिल्लो अवस्था के छ?

बिहीवार बिहानसम्म रसुवामा रहेका रसुवागढी भन्सार कार्यालयका प्रमुख तुलसी भट्टराईले ल्हेन्देखोलाको बहाव अझै उच्च रहेका कारण खोलाभित्र संरचना बनाउने काम सुरु गर्न अझै सहज नभएको बताए।

बाढीबाट जोगिएका नेपाल आयात भएका सामग्रीहरूलाई भन्सार शुल्क लिएर त्यहाँबाट लैजाने स्वीकृति दिइसकिएको भट्टराईले जानकारी दिए। केही दिन अघि मात्रै पहिरोका कारण क्षतिपुगेको रसुवागढीसम्मको सडक मर्मत गरेर आवागमन चालु गरिएको थियो।

कस्तो बन्छ बेलिब्रिज

चीनले नेपाली अधिकारीहरूलाई रसुवागढी नाकामा बनाउन लागिएको बेलिब्रिजको इन्जिनिएरिङ्ग नक्सा समेत पठाएको अधिकारीहरूले बताएका छन्।

नयाँ बनाउन लागिएको बेलिब्रिज यसअघिको पक्की पुल भन्दा करिब दुई मिटर छोटो हुने र पक्की पुल रहेको स्थानबाट केही मिटर माथिल्लो भागमा निर्माण गरिने चिनियाँ पक्षले जानकारी दिएको बताइएको छ।

फलामबाट बनेको एक विशेष प्रकारको पुल, बेलिब्रिज करिब ९२ मिटर लामो हुने प्रारम्भिक अनुमान छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले चीनसँग “भदौ ३० गते भित्र बेलिब्रिज बनाइसक्ने समझदारी भएको” जानकारी दिए।

“नेपाल सरकार र चीन सरकारबीच रसुवागढीमा बेलिब्रिज राख्ने समझदारी भइसकेको छ। त्यो समझदारी बमोजिमको नेपाल सरकारलाई उसले प्रस्ताव पनि पठाइसकेको छ त्यसमा राय जानु अघि चिनियाँ पक्षले पूर्व तयारीको काम गरिरहेको छ,” पौडेलले भने।

“उहाँहरूले २४सै घण्टा काम गरेर भदौ ३० (सेप्टेम्बर १५) भित्र हामी सक्छौँ भन्ने प्रतिबद्धता पनि जनाउनु भएको छ।”

बेलिब्रिजसँगै चिनियाँ पक्षले रसुवागढीमा नयाँ पक्की मितेरी पुल पनि आफ्नै खर्चमा बनाउने प्रतिबद्धता जनाएको बताइएको छ।

रसुवागढी नाकासम्म पुग्ने नेपाली सडकमार्ग स्तरोन्नतिमा समेत चीनले यसअघिबाटै काम गरिरहेको छ। पछिल्लो पटक गएका पहिरोका कारण कतिपय स्थानमा बाटो बगेको र त्यस ठाउँमा एकतर्फी ट्र्याक खुले पछि ढुवानी सुरु भएको रसुवा जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

“पुल बनिसक्दा हाम्रोतर्फको बाटो पनि भरपर्दो बनिसक्छ,” पौडेल भन्छन्।

“उहाँहरूले पहिले पुल रहेको ठाउँमा पक्की पुल नै बनाउने भनेर बेलिब्रिज त्यसभन्दा केही माथिपट्टी बनाउने तयारी गर्नुभएको छ,” रसुवागढी भन्सारका प्रमुख भट्टराईले भने।

केरुङमा ५०० ट्रक व्यवसायीका सामग्री

हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष रामहरि कार्कीले व्यवसायीहरूका करिब ५०० ट्रक सामग्री केरुङतर्फका चिनियाँ गोदाममै थन्किएको बताएका छन्।

तीजलाई लक्ष्य गरेर व्यापारका लागि चीनबाट आयात गर्न लागिएका विभिन्न सामग्रीहरू तिब्बततर्फ नै अड्किएको व्यवसायीहरूले बताएका छन्। यसबीचमा उनीहरूले तातोपानी नाका हुँदै ल्याउन पहल गरेकोमा त्यताबाट ल्याउन पनि समय लाग्ने देखिएले बेलिब्रिज बनेपछि रसुवागढीबाटै ल्याउने मनस्थिति बनाएको कार्कीले बताए।

“अहिले तातोपानीमा चाप छ अब २०-२५ दिनमै रसुवागढीबाट आउँछ भने बरु यतैबाट ल्याउने भनेर पर्खने कुरा भएको छ,” कार्कीले भने।

केरुङबाट तातोपानी नाकासम्म ३०० किलोमिटर भन्दा बढी ढुवानी गर्न अतिरिक्त खर्च लाग्ने भएका कारण पनि आफूहरू पर्खने निर्णयमा पुगेको कार्कीले बताए।

“अर्को चाहिँ खासा भन्दा माथि हामी कुती भन्छौँ उनीहरूले मेलम भन्ने गरेको ठाउँमा पहिरोका कारण यताको बाटो पनि राम्रो चाहिँ छैन,” उनले भने।

अवरुद्ध हुनुअघि रसुवागढी नाकाबाट दैनिक औसत ५० वटा ट्रक र कन्टेनर ओहोरदोहोर गर्ने गरेको भन्सार कार्यालयले जनाएको छ।

भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्रप्रसाद प्याकुरेलका अनुसार अघिल्लो आर्थिक वर्ष मात्रै यो नाकाबाट ९०० वटा विद्युतीय सवारी साधनहरू नेपाल भित्रिएका थिए।

यस आर्थिक वर्षमा रसुवा भन्सार कार्यालयले ३० अर्ब २० करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य पाएको थियो।

पछिल्लो बाढीअघि उक्त भन्सार कार्यालयमा ३० अर्ब १४ करोड रुपैयाँ राजस्व सङ्कलन भइसकेको अधिकारीहरू बताउँछन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours