०७ साउन, काठमाडौं । कतार ओलम्पिक कमिटीले सन् २०३६ मा आयोजना हुने ओलम्पिक र पारािलम्पिक खेलकुदको आयोजनाका लागि दाबी राख्ने भएको छ।
यदि यो सफल भएमा कतार मध्यपूर्व र उत्तर अफ्रिका क्षेत्रबाट ओलम्पिक आयोजना गर्ने पहिलो मुलुक बन्नेछ।
कतारले सन् २०२२ मा पुरुष फुटबल विश्वकप आयोजना गरिसकेको छ र ओलम्पिक खेलकुदका लागि आवश्यक ९५ प्रतिशत खेल पूर्वाधार तयार भइसकेको दाबी गरेको छ।
बाँकी पूर्वाधारका लागि ‘पूर्ण तयारी सुनिश्चित गर्ने राष्ट्रिय योजना’ रहेको कतार ओलम्पिक कमिटीका अध्यक्ष शेख जोआन बिन हमाद अल थानीले बताएका छन्।
‘यो कदमले कतारको ओलम्पिक र पारा–ओलम्पिक आन्दोलनप्रति रहेको दृढ प्रतिबद्धता र विश्व खेलकुदको प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने चाहनालाई स्पष्ट पार्छ’ विज्ञप्तिमा उल्लेख छ।
कतारको योजना सामाजिक, आर्थिक र वातावरणीय दिगोपनामा आधारित दीर्घकालीन दृष्टि भएको र यसले रोजगारी र आर्थिक अवसर सिर्जना गर्ने भन्दै ‘समावेशिता, दिगोपन र अन्तर्राष्ट्रिय सहकार्यलाई बल पुर्याउने’ प्रतिबद्धता गरिएको छ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)की नयाँ अध्यक्ष किर्स्टी कोभेन्ट्रीले गत महिनामात्रै खेलकुद आयोजना चयन प्रक्रियामा पुनरावलोकन हुने बताएकी थिइन्।
२०३६ का लागि इस्तानबुल (टर्की), अहमदाबाद (भारत), नुसान्तारा (इन्डोनेसिया) र सान्तियागो (चिली) ले समेत औपचारिक दाबी घोषणा गरिसकेका छन्। साउदी अरेबिया, दक्षिण कोरिया, इजिप्ट, इटली, जर्मनी, डेन्मार्क र क्यानडाले पनि विचार गरिरहेको बताइन्छ।
कतारले यसअघि २०१६ र २०२० ओलम्पिकका लागि बोली लगाएको थियो, तर ती क्रमशः रियो डि जेनेरियो र टोकियोले जितेका थिए।
सन् २०२८ को ग्रीष्मकालीन ओलम्पिक अमेरिका (लस एन्जेलस) र २०३२ को ओलम्पिक ब्रिस्बेन (अस्ट्रेलिया) मा हुनेछ।
दोहा सन् २०३० मा एसियाली खेलकुद आयोजना गर्ने तयारीमा छ भने साउदी अरेबियाले २०३४ फिफा विश्वकप आयोजना गर्ने अधिकार पाइसकेको छ।


+ There are no comments
Add yours