मनसुन थप सक्रिय, यी प्रदेशमा भारी वर्षाको सम्भावना

०१ असार , काठमाडौं । देशका अधिकांश भूभागमा मनसुनी र पश्चिमी वायुको संयुक्त प्रभावले मौसम बद्लीएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहँदा केही ठाउँहरूमा भारी वर्षा हुने सम्भावना समेत देखिएको छ।

वर्तमान अवस्थामा कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका धेरैजसो भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्र मनसुनी प्रणालीको प्रभावमा छन्। यसैगरी, देशको पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय प्रणाली आंशिक रूपले सक्रिय छन्।

मौसम विभागका अनुसार आज बिहान कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी प्रदेशको पहाडी तथा उच्च पहाडी भेगमा बादल घनिभूत देखिएको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ। कोशी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना पनि देखिएको छ। यात्रु र गोठालाहरूलाई आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ।

वर्षाको प्रभावले दैनिक जनजीवन, कृषि गतिविधि, स्वास्थ्य सेवा, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने चेतावनी महाशाखाले दिएको छ। विशेषगरी भारी वर्षा हुने सम्भावना रहेका क्षेत्रहरूमा बाढी, पहिरो तथा जलस्रोतजन्य जोखिम पनि बढ्न सक्ने भएकाले स्थानीयवासी तथा सरोकारवालालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours