साहसिक पर्यटन : काठमाडौंमै वन जंगल एडभेन्चर, रोलर कोष्टर र मौलिक नेपाली घर

२७ जेठ, काठमाडौँ । साहसिक पर्यटनमा पछिल्लो समय रूचि राख्ने मानिसको संख्या बढ्दै गएको छ। अझ भनौं काठमाडौंभित्र बसोबास गर्नेहरू साहसिक पर्यटनको खोजीमा निस्कन थालेको भेटिन्छन्। जीपलाइन, रक क्लाइमिङ र बन्जी जम्प गर्न उपत्यका बाहिरका विभिन्न ठाउँ पुग्न थालेका छन्।

अब भने काठमाडौंमा बसोबास गरिरहेकाले साहसिक पर्यटनका लागि टाढा-टाढा जान नपर्ने भएको छ। काठमाडौंकै रिंगरोडभित्र बसोबास गर्नेहरूका लागि साहसिक काठमाडौं रिंगरोड बाइपासदेखि १० किलोमिटरभित्र तथा ककनी राजमार्गमा पर्ने ‘वन जंगल एडभेन्चर’ ले साहसिक पर्यटनको मज्जा दिने भएको छ।

तारकेश्वर नगरपालिका ३ मा रहेको साहसिक पर्यटनको आभास मात्र दिलाउँदैन। यहाँ पुगेपछि प्रकृतिको आनन्द र हरियाली वातावरणमा स्वच्छ हावा पनि लिन सकिनेछ। आठ महिनादेखि काठमाडौंभित्र रहेका र साहसिक पर्यटनमा रूचि राख्ने आन्तरिक तथा बाह्य पर्यटकलाई प्रकृतिसँगै नजिक राखेर सेवा दिइरहेको वन जंगल एडभेन्चरका सञ्चालक एलिसा ढकाल बताउँछिन्।

काठमाडौंमा बसोबास गरिरहेका मानिसलाई प्रकृति र साहसिक पर्यटनप्रति रूचि बढाउन एडभेन्चर सञ्चालन गर्नुपरेको उनले सुनाइन्। हिजोआज साहसिक पर्यटनको प्याकेज बनाएर जानेको संख्या बढिरहेको छ। एडभेन्चरले काठमाडौंभित्रका पर्यटकलाई लक्षित गरेर यो व्यवसाय सञ्चालन गरिरहेको छ।

काठमाडौंका मानिसहरू यहाँ आउँदा समयको बचत र जंगलभित्र सबै एडभेन्चरको फरक महसुस गर्न पाउने भएकाले यहाँ आउने सेवाग्राहीको संख्या बढ्दै गइरहेको ढकालले बताइन्। उनका अनुसार ३० रोपनीमा फैलिएको वन जंगलमा सेवाग्राहीले जीप लाइन, रोलर कोष्टर, क्लाइमिङ वाल, अब्स्टयाक्ल कोर्ष, हाइ रोप कोर्ष, किड्स एडभेन्चर्स कोर्ष जीप लाइन ट्रीप टप एडभेन्चर र जाइन्ट स्वीङको अनुभव लिन पाउने छन्।

साहसिक पर्यटनका लागि नेपालमै पहिलोपटक रोलर कोष्टरको अनुभव लिन पाउने सञ्चालक ढकालले जानकारी दिइन्। फलाममा चक्का राखी बाँधेर छोड्ने गरिन्छ। पर्यटकले एक मिनेटसम्म फलामको डण्डामा घुमेर मनोरञ्जन लिन सक्ने छन्।

यहाँ आउनेहरूले मनोरञ्जन मात्र नभइ रात पनि बिताउन सक्ने छन्। टेन्ट र मौलिक नेपाली घरमा बसेर फरक अनुभूति गर्न सक्ने उनले बताइन्। एडभेन्चरमा ११ टेन्ट र १ मौलिक घर रहेको छ। जंगलभित्र बसेर क्यामफायर तथा मनोरञ्जन गर्न चाहनेलाई यस खालेको व्यवस्था गरिएको उनले उल्लेख गरिन्।

‘सहरमा धेरैले गाउँ-गाउँमा हुने पुराना शैलीका देखेका छैनन्,’ उनी भन्छिन, ‘हिजोआज काठमाडौंमा बसोबास गर्नेले पुराना ढाँचाका नेपाली घर देखेका छैनन्। तिनकै लागि भए पनि यहाँ मौलिक घर राखिएको छ। यहीँ सुतेर बसेर रातको आनन्द लिन पाउने छन्।’

मौलिकता हराइरहेको बेला वन जंगल एडभेन्चरले नेपाली घर देखाउन सक्नु यहाँको विशेषता रहेको ढकाल प्रस्ट पार्छिन्। उनले मौलिक घरमा ढिकी, जाँतो, हलो तथा कृषकले प्रयोग गर्ने सामग्री देख्न पाउने छन्। गाउँघरमा गाईवस्तु,खसी तथा कुखुरा राख्न गोठ बनाइन्थ्यो।

यहाँ एकसाथ ठूला-ठूला जनावर मात्र नभइ साना-साना जनावर राख्न मिल्ने गोठ तथा खोर बनाइएको छ। यहाँ आउनेले एकसाथ मौलिक घरका साथै गोठ लगायतका अन्य भौतिक वस्तुको अवलोकन गर्न पाउँने छन्। ‘यस्ता पुराना शैलीका घर तथा गोठ अहिलेका नयाँ पुस्ता अझ भनौं बालबालिकालाई लक्षित गरेर बनाइएको हो,’ उनी अगाडि थप्छिन्, ‘यहाँ आउनेले मनोरञ्जन मात्र नभइ केही सिकेर जानकारी लिएर जाउन भन्ने मनसाय हो। हामीले अहिलेसम्म कसैले नभोगेको अनुभव र नदेखेका वस्तुहरू देखाउने छौँ।’

यहाँ कस्ता- कस्ता मानिस तथा पर्यटकको रूपमा आउँछन्? भन्ने प्रश्नमा उनले विद्यालयका विद्यार्थी, परिवार र संघ संस्थाका मानिसहरूको बढी भीडभाड हुने गर्छ। अर्को पक्ष यहाँ काठमाडौंका मानिस मात्र नभइ विदेशी पर्यटकको पनि आगमन हुने जवाफ दिइन्।

विशेषत: यहाँ शुक्रबार र शनिबार आन्तरिक पर्यटकको धेरै भीडभाड लाग्ने गर्छ। मङ्सिर र पुस महिनामा सेवाग्राहीको बाक्लो उपस्थिति रहने उनले सुनाइन्। विद्यालय विदा हुने भएको र वनभोज जाने समय भएकाले जाडो मौसममा सेवाग्राहीको भीडभाड रहने गरेको छ। आखिर जंगलकै छेउमा किन रोजाइ पर्यो? पछिल्लो समय सहरको कोलाहलबाट टाढा निस्कन तथा हाइकिङ जान खोज्ने मानिसको संख्या बढ्दै गएकाले यस ठाउँलाई छनोट गर्नु परेको ढकालले उल्लेख गरिन्।

उनका अनुसार यहाँ आउने सेवाग्राहीले धेरै विकल्प पाउने उनको भनाइ छ। ३६५ साइकिलिङ तथा पैदल यताउता गर्न पनि सक्नेछन्। यस क्षेत्रको भौतिक पूर्वाधार निर्माण गर्न एक वर्ष लागेको ढकालले जानकारी दिइन्। भारतीय अक्सो कन्सल्टेन्सीले पूरा निर्माण गर्न एक वर्ष लगाएको थियो। सबै पूर्वाधारहरू पूर्ण रूपमा इन्जिनिरियङ गरेर बनाइएको उनको भनाइ छ।

‘वन जंगल एडभेन्चरको विशेषता भनेको साहसिक पर्यटन हो। यहाँ भएका अधिकांश खेलहरू खेलाउन पर्यटन विभागबाट अनुमति लिएका छौ,’ उनले अगाडि थपिन्, ‘साहसिक खेलमा सहभागी प्रत्येक खेलाडीको बिमा गरिएको छ।’

उनका अनुसार जंगलको बीचमा भएको एडभेन्चरमा कुल लगानी ६ करोड छ। सरकारी जमिन नभएर आफ्नै जग्गामा पर्यटकीय पूर्वाधार निर्माण गरिएको ढकालले बताइन्।

‘बिस्तारै-बिस्तारै नयाँ खेल थप्दै जाने योजना छ। तत्काल वन जंगल एडभेन्चरमा भएको खेललाई साहसिक पर्यटकलाई मनोरञ्जन प्रदान गरेर यसको प्रभाव कस्तो रहन्छ त्यहीँ अनुसार अगाडि बढिन्छ,’ उनले सुनाइन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours