बेलायतबाट खुपेन सुनुवारको कविता संग्रह सार्वजनिक

२६ जेठ, बार्सिलोना। खुपेन सुनुवारको कविता सङ्ग्रह ‘ल्यान्डस्केपमा झुन्डिएको मौनता’ लण्डनस्थित सडबरीमा आयोजित विशेष साहित्यिक कार्यक्रममा सार्वजनिक गरिएको छ।

कविता सङ्ग्रहको लोकार्पण लेखकहरू गोपी सापकोटा, डा. सुमाया राई, काङमाङ नरेश राई, केदार संकेत, निर्भीकजंग रायमाझी तथा कवि खुपेन सुनुवारले संयुक्त रूपमा गरेका हुन् ।

कार्यक्रममा बोल्दै लेखक गोपी सापकोटाले खुपेनले आफ्नो जीवन अनुभव र बाँचेको परिवेशलाई सरल भाषामा गहिरो अभिव्यक्ति दिएका भन्दै उनको सिर्जनालाई जीवनको दस्तावेजका रूपमा प्रशंसा गरे।अर्का वक्ता काङमाङ नरेश राईले खुपेनका कवितामा इतिहासदेखि आख्यानसम्म र विश्व संगीतदेखि दर्शनशास्त्रसम्मका विम्बहरू समेटिएको बताए ।

डा. सुमाया राईले खुपेनका कविताहरूले महिला र पुरुष दुवै अस्तित्वको खोज गर्दै जीवनको सार्थकतामाथि गहिरो प्रश्न उठाएको धारणा राखिन्। उनले कविताको भाषिक सौन्दर्यसँगै दार्शनिक पक्षप्रति पनि ध्यानाकर्षण गराइन्।

कार्यक्रममा बोल्दै कवि सुनुवारले आफ्नो कवितासङ्ग्रह ‘ल्यान्डस्केपमा झुन्डिएको मौनता’ का ६८ वटै कवितालाई आफ्ना ‘आत्मिक अङ्ग’ का रूपमा वर्णन गरे। उनले भने, ‘म ती प्रत्येक कवितासँग गहिरो माया राख्छु। तर, कुनै पनि सर्जक पूर्ण सन्तुष्ट हुँदैन -सधैं केही अधुरोपन बाँकी रहन्छ। त्यसै अधुरोपनमै सिर्जनाको बीऊ हुन्छ।’

उनले सिर्जनशील असन्तुष्टिलाई उत्कृष्ट साहित्यको प्रेरणा भएको बताए। ‘कुनै पाठकलाई मेरो कविता मन नपर्न सक्छ, तर त्यसको कारण बुझ्न जरुरी छ,’ भन्दै उनले आलोचना, असहमति वा अस्वीकृति सबैप्रति स्वागतभाव व्यक्त गरे। उनका अनुसार ‘बुझ्न खोज्ने चाहना नै साहित्यिक इमानदारी हो।’

खुपेनले आफ्नो लेखन यात्रा सन् २००६ मा राजनीतिक आन्दोलन र आत्मिक रूपान्तरणको कालखण्डमा सुरु भएको बताए। त्यसयता साउदी अरबदेखि बेलायतसम्मको बसाइमा पनि लेखन नरोकेको उनले सुनाए।

सन् २०२१ मा प्रकाशित आफ्नै पहिलो कृति ‘ब्लु–नोट’ लाई आत्मीयता भए पनि हतारमा आएको उल्लेख गर्दै उनले अहिलेको कृतिलाई ‘एक गतिलो कवितासङ्ग्रह’ का रूपमा प्रस्तुत गरे ।

काठमाडौंस्थित माया पब्लिकेशनद्वारा प्रकाशित यो कवितासङ्ग्रहमा ६८ वटा विविध विषयवस्तु समेटिएका कविता समावेश छन् । कवि खुपेनको स्थायी ठेगाना रामेछाप हो भने उनी हाल एक दशकदेखि युकेमा बसोबास गर्दै आएका छन् ।

‘नेपाली बुक्स युके’ तथा ‘साहित्य–संगालो युके’को संयुक्त आयोजनामा शनिबार सम्पन्न कार्यक्रममा बेलायतमा रहेका नेपाली साहित्य प्रेमीहरूको उल्लेख्य उपस्थिति थियो।

You May Also Like

More From Author

+ There are no comments

Add yours