१२ वैशाख, काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रकृतिलाई बिगारेर आफैँ जोखिम निम्त्याउन नहुनेमा जोड दिएका छन् ।
शुक्रबार ललितपुर महानगरपालिकाद्वारा आयोजित ‘ललितपुर मेट्रोपोलिटियन सिटी रेजिलियन्स फेयर’लाई सम्बोधन गर्दै उनले विगतमा भोगेको विपद् र तिनले पुर्याएको जनधनको क्षतिका स्मरण गर्दै आगामी दिनमा भूकम्प लगायतका विपद्बाट हुने जोखिम न्यूनीकरण गर्न ध्यानपूर्वक काम गर्नुपर्नेमा जोड दिए ।
‘हाम्रो नियतका कारण प्रकृतिलाई बिगार्यौं भने हामी आफैँ जोखिममा पर्छौं’ उनले भने, ‘हामीले निर्माण भौतिक संरचना मजबुत हुन जरुरी छ, प्रकृतिलाई सुरक्षित राख्न जरुरी, विपद्मा खोज उद्धार र राहतका प्रतिकार्य गर्न जरुरी छ, विगतका दुःख र पीडालाई सम्झेर भविष्यमा जोखिमबाट बच्च हरेक दिन तयारी गर्नुपर्छ ।’
गृहमन्त्री लेखकले विपद्पछिको पुनःनिर्माण, खोज, उद्धार र राहतका कार्यमा ललितपुर महानगरले अनुकरणीय काम गरेको भन्दै प्रशंसा पनि गरे ।
‘पुनःनिर्माणमा दातृ संस्थाबाट धेरै सहयोग प्राप्त गरेका छौँ, हामी जोखिमपूर्ण भूभागमा छौँ, बाढीपहिरोको विषयमा पूर्वानुमान गर्न सकिन्छ, तर भूकम्पको पूर्वानुमान गर्न सकिँदैन, तसर्थ भूकम्प जतिसुकै बेला पनि आउन सक्छ भनेर तयारी गर्नुपर्ने छ’, उनले भने ।


+ There are no comments
Add yours