Advertisement

भारतलाई हराउँदै न्युजिल्यान्ड टेस्ट च्याम्पियन

0 354

Advertisement

०९ असार, एजेन्सी । न्युजिल्यान्डले भारतलाई हराउँदै आइसिसी विश्व टेस्ट च्याम्पियनसिप उपाधि जितेको छ । बुधबार फाइनलमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले हराउँदै यस प्रतियोगिताको पहिलो संस्करण जित्दै इतिहास रचेको हो ।

टेस्ट इतिहासमा पहिलो पटक भएको च्याम्पियनसिपको फाइनलमा न्युजिल्यान्डले भारतले प्रस्तुत गरेको १ सय ३९ रनको विजयी लक्ष्य ओभरमा विकेट गुमाउँदै पूरा गर्दै इतिहास रचेको हो । न्युजिल्यान्डले दोस्रो पटक आइसिसीको उपाधि जितेको हो । यसअघि न्युजिल्यान्डले सन् २००० मा भारतलाई फाइनलमा ४ विकेटले हराउँदै आइसीसी नक आउट (च्याम्पियन्स ट्रफी) उपाधि जितेको थियो ।

पहिलो र चौथो दिन वर्षाको कारण एक बल पनि हुन नसक्दा बराबरीतर्फ अघि बढेको खेलमा न्युजिल्यान्डले अन्तिम तथा छैटौं दिन (रिजर्भ डे) ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भएको हो । उपाधिसँगै च्याम्पियन न्युजिल्यान्डले १६ लाख डलर र उपविजेता भारतले ८ लाख डलर प्राप्त गर्नेछन् ।

भारत भने पुन: एकपटक विराट कोहलीको कप्तानीमा आइसीसी उपाधि जित्नबाट बन्चित भएको छ । कोहलीले कप्तानी सम्हालेयता भारतले आइसीसीको अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन । पछिल्लोपटक सन् २०१९ को आइसीसी एकदिवसीय विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डसँग नै पराजित भारतले यसपटक पनि त्यसको बदला लिन सकेन ।

न्युजिल्यान्डका अनुभवी ब्याट्सम्यान रस टेलर १ सय बलमा ६ चौका सहित ४७ रनमा अविजित रहे । कप्तान केन विलियम्सनले अर्धशतक प्रहार गर्ने क्रममा ८९ बलमा ८ चौका सहित ५२ रनमा अविजित इनिङ खेले । तेस्रो विकेटका लागि टेलर र विलियम्सनले ९६ रनको अविजित साझेदारी गर्दै आफ्नो करिअरको पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्न सफल भए ।

ओपनर टम लाथम र डेभन कन्वेले ३३ रनको साझेदारी गर्दै सुरुवात दिलाएका थिए । स्पिनर रविचन्द्रन आश्विनको बलमा अघि बढेर ठूलो सट खेल्ने क्रममा मिस भएपटि लाथम ९ रनमा स्टम्पिङ आउट भएका थिए । राम्रो सुरुवात दिलाएका अर्का ओपनर कन्वेलाई आश्विनले १९ रनमा एलबिडब्लू आउट गरे । कन्वेले ४७ बलमा ४ चौका प्रहार गरे । त्यसपछि दुई सर्वाधिक अनुभवी खेलाडी टेलर र विलियम्सनले उत्कृष्ट साझेदारी गर्दै जित पक्का गराएका थिए । भारतका स्पिनर रविचन्द्रन आश्विनले २ विकेट लिए ।

त्यसअघि अन्तिम तथा छैटौं दिन भारत दोस्रो इनिङमा ७३ ओभरमा १ सय ७० रनमा अल आउट हुन पुग्यो । पहिलो इनिङमा ३२ रनले पछि परेको भारतले समग्रमा १ सय ३८ रनको अग्रता लिएको थियो । भारतलाई ओपनर सुभमन गिल र रोहित शर्माले १०.४ ओभरमा २४ रनको साझेदारी गरेका थिए । गिललाई तीव्र गतिका बलर टिम साउथीले ८ रनमा एलबिडब्लू आउट गरे । साउथीले २६ औं ओभरको पाँचौं बलमा रोहितलाई ३० रनमा एलबिडब्लू आउट गर्दै न्युजिल्यान्डलाई दोस्रो सफलता दिलाएका थिए । रोहितले ८१ बलमा २ चौका प्रहार गरे ।

छैटौं दिन सुरुवातमै कप्तान विराट कोहलीलाई तीव्र गतिका बलर काइल जेमिसनले १३ रनमा विकेटकिपर बिजे वाटलिङबाट क्याच गराउँदै महत्वपूर्ण सफलता दिलाएका थिए । जेमिसनले अर्का प्रमुख ब्याट्सम्यान चेतेश्वर पुजारालाई १५ रनमा रस टेलरबाट क्याच आउट गराएपछि न्युजिल्यान्ड खेलमा हाबी बनेको थियो । ट्रेन्ट बोल्टले अजिक्या रहाणेलाई १५ रनमा वाटलिङबाट क्याच गराउँदै भारतलाई संकटमा पुर्याएका थिए । रविन्द्र जडेजा निल वाग्ररको बलमा १६ रनमा विकेटकिपरबाट क्याच आउट हुन पुगे ।

भारतलाई विकेटकिपर ऋषभ पन्तले केहि आशा दिलाएका थिए । ट्रेन्ट बोल्टले हेनरी निकोलसबाट पन्तलाई ४१ रनमा क्याच आउट गराएपछि न्यजिल्यान्डको सम्भावना बढेको थियो । पन्तले ८८ बलमा ४ चौका प्रहार गरे । त्यसअघि पन्तले ब्यक्तिगत ५ रनमा ठूलो जीवनदान पाएका थिए । ४० औं ओभरको अन्तिम बलमा पन्तको सहज क्याच स्लिपमा टिम साउथीले छोड्न पुगेका थिए । मोहम्मद शामी १३ रनमा आउट भए ।

न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले १५ ओभरमा २ मेडन सहित ३९ रन खर्चेर ३ विकेट लिए । टिम साउथीले १९ ओभरमा ४ मेडन राख्दै ४८ रन खर्चेर ४ विकेट लिए । काइल जेमिसनले २ र निल वाग्ररले १ विकेट लिए ।

त्यसअघि पाँचौं दिन दोस्रो सेसनमा न्युजिल्यान्ड पहिलो इनिङमा ९९.२ ओभरमा २ सय ४९ रनमा अल आउट भएको थियो । न्युजिल्यान्डका कप्तान केन विलियम्सनले १ सय ७७ बलमा ६ चौका सहित ४९ रनमा आउट भए । न्युजिल्यान्डलाई ओपनर टम लाथम र डेभन कन्वेले ३४.२ ओभरमा ७० रनको साझेदारी गर्दै सुरुवात दिलाएका थिए ।

स्पिनर रविचन्द्रन आश्विनको बलमा एक्स्ट्रा कभरमा सट खेल्नेक्रममा लाथम ३० रनमा विराट कोहलीबाट क्याच आउट हुन पुगे । लाथमले १ सय ४ बलमा ३ चौका प्रहार गरे । अर्का ओपनर कन्वे १ सय ५३ बलमा ६ चौका सहित ५४ रन बनाउँदै क्याच आउट भए । तीव्र गतिका बलर ईशान्त शर्माको बलमा मोहम्मद शामीबाट क्याच आउट हुन पुगेका थिए ।

शामीले अनुभवी ब्याट्सम्यान रस टेलेरलाई ११ रनमा सुभमन गिलबाट क्याच आउट गराए । हेनरी निकोलसलाई ईशान्तले ७ रनमा रोहितबाट क्याच आउट गराएका थिए । शामीले बिजे वाटलिङलाई १ रनमा बोल्ड आउट गरे । शामीले तल्लोक्रम पनि धरासय बनाए । कोलिन डि ग्रान्डहोमलाई १३ रनमा एलबिडब्लू आउट गर्दा काइल जेमिसनलाई २१ रनमा बुमराहबाट क्याच आउट गराए । ईशान्तले कोहलीबाट क्याच गराएपछि विलियम्सन अर्धशतक बनाउन एक रनले चुकेका थिए ।

तल्लोक्रमका टिम साउथीले ४६ बलमा १ चौका र २ छक्का सहित ३० रनको योगदान दिए । भारतका तीव्र गतिका बलर मोहम्मद शामीले २६ ओभरमा ८ मेडन राख्दै ७६ रन खर्चेर ४ विकेट लिए । ईशान्त शर्माले २५ ओभरमा ९ मेडन सहित ४८ रन खर्चेर ३ विकेट लिए । स्पिनर रविचन्द्रन आश्विनले २ र रविन्द्र जडेजाले १ विकेट लिए ।

त्यसअघि इंग्ल्यान्डको दी रोज बाउल स्टेडियम साउथह्याप्टनमा टस हारेर ब्याटिङ थालेको भारत तेस्रो दिन दोस्रो सेसनमा ९२.१ ओभरमा २ सय १७ रन अल आउट भएको थियो । भारतका अजिक्या रहाणेले सर्वाधिक ४९ रनको योगदान दिए । न्युजिल्यान्डको उत्कृष्ट तीव्र गतिको बलिङ आक्रमण र जामिसनको घातक बलिङ सामू भारतका कुनैपनि ब्याट्सम्यानले खुलेर रन जोड्न सकेनन् । तेस्रो दिन भारतले ६४.४ ओभरमा १४६–३ को अवस्थाबाट सुरु गरेको थियो ।

दोस्रो दिन ओपनर रोहित शर्मा र सुभमन गिलले भारतलाई पहिलो विकेटका लागि २०।१ ओभरमा ६२ रन जोड्दै सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर काईल जामिसनले रोहितलाई स्लिपमा टिम साउथीबाट ३४ रनमा उत्कृष्ट क्याच गराउँदै पहिलो सफलता दिलाए । रोहितको विकेट पछि न्युजिल्यान्डले खेलमा राम्रो पूनरागमन गर्न सफल भएको थियो ।

रोहितले ६८ बलमा ६ चौका प्रहार गरे । २५ औं ओभरको तेस्रो बलमा तीव्र गतिका बलर निल वाग्ररको बलमा एज लागेर गिल २८ रनमा विकेटकिपर बिजे वाटलिङबाट क्याच आउट हुन पुगे । गिलले ६४ बलमा ३ चौका प्रहार गरे । ४१ औं ओभरको दोस्रो बलमा अर्का तीव्र गतिका बलर ट्रेन्ट बोल्टले प्रमुख ब्याट्सम्यान चेतेश्वर पुजारालाई ८ रनमा एलबिडब्लू आउट गर्दै भारतमाथि दबाब बढाए । पुजारालाई खाता खोल्न ३६ बल लागेको थियो । पुजाराले ५४ बल खेल्दै २ चौका प्रहार गरे । चौथो विकेटका लागि कोहली र हराणेले १ सय ६५ बलमा ६१ रनको साझेदारी गरेका थिए ।

तेस्रो दिन कप्तान विराट कोहलीलाई काईल जामिसनले ४४ रनमा एलबिडब्लू आउट गर्दै न्युजिल्यान्डलाई सर्वाधिक ठूलो सफलता दिलाए । कोहलीले तेस्रो दिन ८ बल खेलेपनि कुनैपनि रन जोड्न नसकि आउट भएका थिए । कोहलीले १ सय ३२ बलमा १ चौका प्रहार गरे । जामिसनले विकेटकिपर ऋषभ पन्तलाई ४ रनमा टम लाथमबाट क्याच आउट गराए ।

प्रमुख पाँच ब्याट्सम्यान गुमाउँदै समस्यामा गरेको भारतलाई उपकप्तान अजिंक्या रहाणेले राम्रो योगफलको सम्भावना देखाएका थिए । तर निल वाग्ररको सट बलमा रहाणे लाथमबाट ४९ रनमा क्याच आउट हुन पुगे । रहाणेले १ सय १७ बलमा ५ चौका प्रहार गरे । टिम साउथीको बलमा रविचन्द्रन आश्विन २२ रनमा क्याच आउट हुन पुगे । जामिसनले ईशान्त शर्मालाई ४ र जस्प्रित बुमराहलाई शून्यमा आउट गर्दै ह्याट्रिक नजिक पुगेका थिए । बोल्ट्रले जडेजालाई १५ रनमा बिजे वाटलिङ क्याच गराउँदै अल आउट गरेका थिए । वर्षाको कारण पहिलो र चौथो दिन एक पनि बल हुन सकेको थिएन ।

तीव्र गतिका बलर काइल जामिसनले २२ ओभरमा १२ मेडन सहित ३१ रन खर्चेर ५ विकेट लिए । निल वाग्रर र ट्रेन्ट बोल्टले २-२ विकेट लिए । टिम साउथीको नाममा १ विकेट रह्यो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.