५० वर्ष लामो राजनीति गरेका नेताहरूलाई हराउँदै विजयी
२६ असाेज, काठमाडाैँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापतिमा उद्योगी विनोद चौधरी निर्वाचित भएका छन्।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा समावेशी उपसभापति पदका अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै चौधरी विजयी भएका हुन्।
उक्त पदमा पूर्वसहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर, जीवन परियार, नेतृ सीता गुरुङ र रञ्जित कर्ण चौधरी प्रतिस्पर्धी थिए।
कांग्रेसमा ५० वर्ष लामो राजनीति गरेका नेताहरूलाई ९ वर्षअघि कांग्रेस प्रवेश गरेका चौधरीले हराइदिएका हुन्।
२०६४ मा नेकपा (एमाले)को तर्फबाट समानुपातिक सभासद बनेका चौधरी ७४ मा कांग्रेस प्रवेश गरेका थिए।लगत्तै उनी मधेसी कोटामा समानुपातिक सांसद पनि भए।
२०७८ मा भएको १४औँ महाधिवेशनमा चौधरी थारु क्लस्टरबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए। मारवाडी मूलका चौधरीले राजनीतिमा ‘मधेसी’ कोटामा संसद् र पार्टी राजनीतिमा बाटो बनाए।
२०७९ मा कांग्रेसबाट टिकट लिएर नवलपरासी-१ बाट विजयी भएका थिए। पञ्चायतकालमा राजपरिवारसँग निकट सम्बन्ध बनाएका चौधरी २०४६ पछि एमालेसँग नजिकिएका थिए। उनलाई राजनीतिक उचाइ भने कांग्रेसबाट प्राप्त भएको छ। गत विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा दोहोरिएका चौधरी २०८२ को निर्वाचनमा नवलपरासी-१ मा रास्वपाका विक्रम खनालसँग पराजित भए।
चौधरीको संसद् यात्रामा ब्रेक लागे पनि पार्टी राजनीतिमा भने छलाङ मारेका छन्। कांग्रेस विधानमा जिल्ला सभापति, प्रदेश सभापति, केन्द्रीय पदाधिकारी र सदस्यका लागि १० वर्षको समय सीमा तोकिएको छ। कांग्रेस राजनीतिमा चौधरीको वेगलाई १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य र अहिले पन्ध्रौँमा उपसभापति बन्न उक्त समय सीमाले रोक्न सकेन।
चौधरीले नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग परिसंघको नेतृत्व गरिसकेका छन्।
वाइवाई चाउचाउदेखि सीजी हस्पिटालिटीसम्म १२३ ब्रान्डको सफलतालाई उनी आफ्नो ‘राजनीतिक योग्यता’का रूपमा प्रस्तुत गर्छन्।
उनी फोर्ब्स सूचीमा नेपालका एक मात्र अर्बपति (१.५ बिलियन डलरका मालिक) हुन्।
‘पैसा कमाउन’ होइन, ‘पोलिसी रिफर्म’ र ‘विकासको मोडेल’ देखाउन आएको चौधरी बताउँछन्।
७० वर्षीय चौधरी विश्वका अर्बपतिहरूको सूचीमा समावेश नेपालका एक मात्र उद्योगपति हुन्।


+ There are no comments
Add yours