गगनले ५ पदाधिकारी थपेर यसरी बनाउँदै छन् नयाँ टिम

१९ असाेज, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति गगन थापाले १५ औँ महाधिवेशनमा पदाधिकारीको संख्या बढाएर सबैलाई मिलाएर लैजाने तयारी गरेका छन्। गत पुसमा गरिएको विशेष महाधिवेशनपछि केन्द्रीय समितिमा समाहित भएका नेताहरूको व्यवस्थापन गर्नुपर्ने दबाब थापामाथि छ। १४ औँ महाधिवेशनबाट सभापति निर्वाचित शेरबहादुर देउवा र उनका प्रतिद्वन्द्वी डा शेखर कोइरालाको राजनीतिक छत्रछायामा रहेका नेताहरूको ठूलो पंक्ति थापाको नेतृत्व स्वीकार गरेर महाधिवेशनमा होमिएको छ।

देउवा समूहले चुनदेवीबाट समानान्तर रुपमा अगाडि बढाएको १५ औँ महाधिवेशन लत्याएर सानेपा पुगेका नेताहरूको पदीय आकांक्षाको व्यवस्थापनका लागि सभापति थापा पदाधिकारी थप्नुपर्ने बाध्यतामा छन्। नेतृत्व ८० वर्षका देउवाबाट एकै पटक ५० वर्षका थापामा फड्को मार्दा नेताहरूमा पदीय आकांक्षा पनि अस्वाभाविक देखिएको छ।

त्यसका लागि एक वरिष्ठ उपसभापति, एक महिला उपसभापति, एक महिला महामन्त्री र खुलातर्फ दुई सहमहामन्त्री गरी पाँच जना पदाधिकारी थप्न विधान संशोधन समितिले प्रस्ताव तयार पारेको छ। कांग्रेसको विधानमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र ११ जना सहमहामन्त्रीको व्यवस्था छ।

त्यसलाई संशोधन गरेर पदाधिकारी थप्ने प्रस्ताव तयार भएको विधान संशोधन समितिका सदस्य ईश्वरी न्यौपानेले नेपालखबरलाई बताइन्। सभापति थापासँग छलफल गरेर उक्त प्रस्तावलाई अन्तिम रुप दिएर सोमबार हुने बन्दसत्रमा प्रस्तुत गरिने छ। पदाधिकारी र केन्द्रीय कार्यसमितिलाई समानुपातिक–समावेशी बनाउने गरी विधान समितिले प्रस्तावको मसौदा तयार पारेको छ।

विधानमा संशोधनले उपसभापति विश्वप्रकाश शर्माको एक तह बढुवा हुने पक्का जस्तै छ। सभापति थापाकै चाहनामा शर्मालाई वरिष्ठ उपसभापति बनाउने गरी नयाँ पद सिर्जना गरिँदैछ। उपसभापति पुष्पा भुसाललाई सोही पदमा दोहोर्‍याउने सभापति थापाको तयारी छ। दुई जना उपसभापतिमा विशेष महाधिवेशनमा साथ दिएका र नियमित महाधिवेशनमा जोडिएकालाई मिलाएर लैजाने थापाको योजना रहेको कांग्रेसका एक पदाधिकारीले नेपालखबरलाई सुनाए।

‘विषम परिस्थितिमा साथ दिएका वर्तमान पदाधिकारीलाई पनि मिलाएर लैजानुपर्ने छ। त्यसका लागि हालका महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरेमध्ये एक जनालाई उपसभापतिमा लैजाने कि भन्ने सभापतिले सोच बनाउनु भएको देखिन्छ। केन्द्रीय सदस्यमा मनोनीत गरिएका र समाहित भएका साथीहरूलाई पनि समेट्नुपर्ने बाध्यता छ,’ ती नेताले भने।

सभापतिमा दाबी गरेका पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले पनि आफ्नो व्यवस्थापनको विकल्पसहित सभापतिमा दाबी राखेको ती पदाधिकारीले बताए। उपसभापतिमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेताहरू चन्द्र भण्डारी, गोविन्दराज भट्टराई, दिपक गिरी लगायतले आकांक्षा राखेका छन्। सभापति थापाले महाधिवेशनमा सहभागी नभएका पूर्वउपसभापति पूर्णबहादुर खड्का र महाधिवेशनमा भाग लिएका बालकृष्ण खाँण निकट नेताहरूको व्यवस्थापनमा चासो राखेको बुझिएको छ।

ती पदाधिकारीका अनुसार देउवाले खड्कानिकट जीवन शाहीलाई पिछडिएको कोटामा सहमहामन्त्री ल्याउने सम्भावना बढी छ। यस्तै खाँणनिकट पूर्वसहमहामन्त्री महेन्द्र यादवलाई पनि सोही पदमा दोहोर्‍याउने थापाको रणनीति देखिएको ती पदाधिकारीले बताए।

‘सभापतिजीले जीवन शाही र महेन्द्र यादवको व्यवस्थापनमा चिन्ता लिएको पाएको छु। त्यही अनुसार नै पदाधिकारीमा टिम बनाउनु होला,’ उनले भने।

यस्तै असोज १ मा निवर्तमान सभापति शेरबहादुर देउवा समूह छोडेर आएकी पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’लाई महामन्त्रीमा ल्याउने थापाको तयारी छ।

‘महिला महामन्त्रीको व्यवस्था नै डिनाजीको व्यवस्थापनका लागि गरिन लागिएको हो,’ ती पदाधिकारीले भने, ‘पछिल्लो समय ५२ जना नेताहरूलाई महाधिवेशनमा ल्याउन उहाँले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो। उहाँको व्यवस्थापनमा सभापति चिन्तित हुनुहुन्छ।’

देउवाको गृहजिल्ला डडेल्धुराका नैनसिंह महरको व्यवस्थापनमा थापा चिन्तित देखिएको उनको भनाइ छ।

नैनसिंहलाई बिचमा सहमहामन्त्री ल्याउने विषयमा पनि सभापति र उपसभापतिसँग छलफल भएको थियो। पार्टी मिलाउन पूर्ण दाइसँग छलफल भइरहेकाले व्यक्तिगत रुपमा ल्याउने र आउने दुवै कुरा त्यतिबेला भएन। नैनसिंहजी पनि एकताका लागि दबाब अभियान चलाउनेतिर लाग्नुभयो। उहाँलाई समेटेर लैजानुपर्छ भन्ने सोच सभापतिमा देखिन्छ,’ उनले भने।

सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेताहरू बद्री पाण्डे, एनपी साउद, रमेश लेखक, वीरबहादुर बलायर लगायत महाधिवेशन बाहिर छन्। महामन्त्रीको उम्मेदवारी घोषणा गरेर अगाडि बढेका महरको व्यवस्थापनका लागि थापाले आन्तरिक रणनीति बनाइराखेका छन्। डा मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, जीवन परियार, मीन विश्वकर्मा, रामहरि खतिवडा, ईश्वरी न्यौपाने लगायतका नेताबारे व्यवस्थापन पनि थापाका लागि चुनौतीपूर्ण नै छ।

सहमहामन्त्रीहरू फरमल्लाह मंसुर, डिला संग्रौला पन्त, बहादुरसिंह लामा, कर्णबहादुर बुढा, योगेन्द्र चौधरी, उदयशमशेर राणा, प्रकाश रसाइली स्नेही, मुक्ताकुमारी यादवमध्ये केही पदाधिकारीमा नदोहोरिने सम्भावना छ। सभापति थापाले सहमहामन्त्री राणाले महामन्त्रीको तयारी गरिरँदा मन्सुर, चौधरी र स्नेही सहमहामन्त्रीमा दोहोर्‍याउन सक्ने उनको बुझाइ छ।

‘सहमहामन्त्रीको सख्या १३ पुर्‍याउँदा ५–६ जना विशेषबाट आएका साथीहरू दोहोरिन्छौँ। बाँकी ६–७ जना नयाँ साथीहरू आउनुहुन्छ जस्तो छ,’ कांग्रेसका अर्का पदाधिकारीले भने, ‘विशेष महाधिवेशनमा पदाधिकारीको आकांक्षा राखेर पनि छुटेका साथीहरू हुनुहुन्छ। केही निर्वाचनबाट आउनुहुन्छ। केहीलाई सभापतिले मनोनित गर्नुहुन्छ।’

१३ जना सहमहामन्त्रीको व्यवस्था गर्दा तीन जना मनोनीत र १० जना प्रतिस्पर्धाबाट आउने व्यवस्था गर्न लागिएको छ। विशेष महाधिवेशन पक्षधर नेताहरू मधु आचार्य, देवराज चालिसे र अमरसिंह पुनले महामन्त्री तथा प्रतिमा गौतम, मनोजमणि आचार्य, अब्दुल सत्तार लगायतले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्।

हाल कांग्रेसको १६७ सदस्यीय केन्द्रीय समितिलाई विशेष महाधिवेशनमा गरिएको विधान संशोधन गरी २ सय ३९ जना रहने व्यवस्था गरिएको थियो। सभापतिसहित १३ पदाधिकारी र १ सय ५६ सदस्य महाधिवेशनबाट निर्वाचित हुने छन् भने ६१ केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्न पाउने हालको व्यवस्था छ। विधानमा खुला केन्द्रीय सदस्य, ३५ मुनिको कोटामा एक पदाधिकारी, जनसम्पर्क समितितर्फको कोटालगायतमा संख्या बढाउने विषयमा पनि छलफल भइरहेको छ। नेताहरूको व्यवस्थापन गरेर सभापति थापा र वरिष्ठ उपभापतिमा विश्वप्रकाश शर्मालाई सर्वसम्मत बनाउने कांग्रेसमा तयारी देखिन्छ।

पदाधिकारी र केन्द्रीय सदस्यमा पनि चुनावी प्रतिस्पर्धाबाटै आउने निश्चित देखिन्छ। यस पटक प्यानलै खडा गरेर चुनावी प्रतिस्पर्धा हुने अवस्था भने कांग्रेसमा देखिएको छैन। यद्यपि पदाधिकारीमा सभापति थापाले आफू अनुकूलको टिम बनाउने सहमहामन्त्री मन्सुर बताउँछन्।

‘म के पदमा लड्ने भन्दा पनि सभापतिलाई कस्तो टिम बनाउँदा काम गर्न सकिन्छ भन्ने लाग्छ, त्यही गर्नुहुन्छ। सभापतिलाई टिम बनाउन दिनुपर्छ भन्ने छ,’ उनले भने, ‘उहाँले आफूलाई काम गर्न सजिलो हुने गरी टिम निर्माण गर्नुहुन्छ।’

You May Also Like

More From Author

+ There are no comments

Add yours