राजेन्द्र तिवारी
१२ भाद्र, काठमाडौँ । श्रावण शुक्ल पूर्णिमाका दिन आज देशभर हिन्दु धर्मावलम्बीहरूको पवित्र चाड रक्षाबन्धन तथा जनैपूर्णिमा धार्मिक विधिअनुसार मनाइँदै छ । सत्य युगदेखि चलिआएको यो पर्वमा आध्यात्मिक शुद्धीकरण र आत्मरक्षाका लागि विभिन्न अनुष्ठानहरू गरिन्छ ।
आजको दिन बिहानैदेखि श्रद्धालुहरूले नदी, तलाउ, पोखरी र जलाशयमा स्नान गरी सप्तऋषि तथा प्रजापति ऋषिहरूको पूजा–अर्चना गर्ने गर्दछन् । वशिष्ठ, काश्यप, अत्रि, जमदग्नि, गौतम, विश्वामित्र र भरद्वाज गरी सप्तऋषिहरूको स्तुति गर्दै तर्पण दिने परम्परा छ ।
आजको दिन गुरु पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन (डोरो) बाँध्ने गरिन्छ । भविष्यपुराणका अनुसार, देवगुरु वृहस्पतिले अत्यन्त बलशाली दानवराज बलिलाई बाँधेर देवगणहरूको रक्षा गरेको स्मरणमा यो डोरो बाँध्ने प्रचलन सुरु भएको हो ।
येन बद्धो वलीराजा दानवेन्द्रो महावलः ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।

अर्थात् “जुन रक्षा (काँचो धागो) ले दानवहरूको महान् राजा बलिलाई बाँधिएको थियो, म तिमीलाई त्यही धागोले बाँध्दछु , यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्नेछ” ।
ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीहरूले आजकै दिन पुरानो जनै त्यागी मन्त्रिएको नयाँ जनै ९यज्ञोपवीत० फेर्ने गर्दछन्। जनै फेर्नुअघि जौ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरिन्छ। शास्त्रीय मान्यताअनुसार जनै धारण गर्नाले आयु, बुद्धि, तेज र बलको श्रीवृद्धि हुनुका साथै मानिस अनुशासित र विवेकशील बन्दछ ।
विभिन्न युगमा मर्यादा पुरुषोत्तम श्रीराम, श्रीकृष्ण, शिव, ब्रह्मा, महाराजा जनक र माता पार्वती, सीता, दुर्गालगायत सबैले जनै धारण गर्ने गरेको उल्लेख छ। प्राचीन समयमा नारीहरूले पनि जनै धारण गर्ने गरेको भए पनि पछिल्लो समय यो परम्परा हटाइएको पाइन्छ। जनै फेर्दा पुरानो जनै त्याग्ने र नयाँ जनै लगाउने छुट्टाछुट्टै वैदिक मन्त्रहरूको प्रयोग गरिन्छ ।
विशेष गरी नेपालको तराई क्षेत्र र भारतमा प्रचलित ‘राखी’ बाँध्ने परम्परा अहिले देशभर नै विस्तार भएको छ। दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै राखी बाँधिदिने र दाजुभाइले दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिई रक्षाको वचन दिने गर्दछन् । यसले दाजुभाइ र दिदीबहिनीबिचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ ।



+ There are no comments
Add yours