२७ साउन, काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित बायोपिक चलचित्र ‘म मदनकृष्ण’मा अभिनेत्री वर्षा राउत अनुबन्धित हुनुभएको छ । निर्माण टिमले उहाँलाई हरिवंश आचार्यको अपोजिट भूमिकाका लागि अनुबन्ध गरेको हो । चलचित्रमा वर्षाले हरिवंश आचार्यकी श्रीमती रमिला पाठकको भूमिका निर्वाह गर्नुहुनेछ । हरिवंशको भूमिकामा अभिनेता अरुण क्षेत्री यसअघि नै अनुबन्ध भइसक्नुभएको छ । यससँगै अरुण र वर्षाले पहिलोपटक एकसाथ पर्दामा काम गर्ने हुनुभएको छ ।
निर्देशक मिलन चाम्सका अनुसार वर्षालाई अरुणको अपोजिटमा अनुबन्ध गरिएको हो । ‘हामीले अरुणको अपोजिटमा वर्षा राउतलाई लिएका छौं । उहाँले हरिवंश आचार्यकी श्रीमतीको भूमिका निर्वाह गर्नुहुनेछ,’ चाम्सले भन्नुभयो ।
निर्माण टिमले भविष्यमा निर्माण गर्ने हरिवंश आचार्यको बायोपिकमा पनि वर्षा यही भूमिकामा रहने बताइएको छ । अरुण क्षेत्रीले हरिवंशको बायोपिकमा मुख्य भूमिकाका लागि समेत सम्झौता गरिसक्नु भएको छ । केही समयअघि प्रदर्शनमा आएको चलचित्र ‘मालती मंगले’मा वर्षाको अभिनयले प्रशंसा पाएको थियो ।
मदनकृष्ण श्रेष्ठको जीवनका सुख-दुःख, संघर्ष, आरोह-अवरोह तथा महत्त्वपूर्ण घटनालाई समेटेर ‘म मदनकृष्ण’ निर्माण हुनलागेको हो । चलचित्रको निर्देशन मिलन चाम्सले गर्नुहुनेछ । चाम्सले यसअघि राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक तथा कप्तान अञ्जिला तुम्बाप्पेको जीवनमा आधारित चलचित्र ‘अञ्जिला’ निर्देशन गर्नुभएको थियो ।
बायोपिकमा मदनकृष्ण श्रेष्ठको भूमिकामा अभिनेता महेश त्रिपाठी देखिनुहुनेछ भने उहाँकी श्रीमती यशोदाको भूमिकामा अभिनेत्री केकी अधिकारी रहनुभएको छ ।
चलचित्रमा मदनकृष्णको बाल्यकालदेखि सरकारी जागिरे जीवन, हरिवंश आचार्यसँगको सहकार्य, अन्तरजातीय विवाहलगायत जीवनका महत्त्वपूर्ण पक्षलाई समेटिने निर्माण पक्षले जनाएको छ ।
चलचित्रमा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ र देशभक्त खनाललगायत कलाकारको पनि अभिनय रहनेछ । भिन्टेज मोसन पिक्चर्सको प्रस्तुतिमा निर्माण हुने ‘म मदनकृष्ण’का निर्माता राजकुमार श्रेष्ठ हुनुहुन्छ ।


+ There are no comments
Add yours