२६ जेठ, काठमाडौँ । बेलायतको क्याम्ब्रिज र साउथह्याम्प्टन विश्वविद्यालयका वैज्ञानिकहरूको नेतृत्वमा बेलायती अनुसन्धानकर्ताहरूको टोलीले पूर्ण रूपमा एआईद्वारा डिजाइन गरिएको पहिलो खोप विकास गरेका छन्। साथै उक्त खोप मानवमा परीक्षण गर्न सकिने बताइएको छ।
“इन्फ्लुएन्जा, कोरोनाभाइरस र इबोला समूह जस्ता भाइरसहरू निरन्तर विकसित भइरहेका छन् र जब खोपहरू उपलब्ध हुन्छन् तिनीहरू एकअर्कासँग उपयुक्त नहुन सक्छन् – हालको रियाक्टिभ ( प्रतिक्रियाशील) खोप प्रणाली गति कायम राख्न संघर्ष गरिरहेको छ” भनि परीक्षणका प्रमुख अन्वेषक साउथह्याम्प्टन विश्वविद्यालयका प्रोफेसर साउल फाउस्टले बताएका छन्।
हालैका वर्षहरूमा बीटाकोरोनाभाइरसका कारण धेरै प्रकोपहरू भएका छन् र त्यसमध्ये सबैभन्दा महत्त्वपूर्ण कोभिड–१९ महामारी हो।
यी भाइरसहरूको निरन्तर सर्कुलेशन (परिसंचरण) ले प्याथोजेन्स (रोगजनकहरू) म्यूटेट (उत्परिवर्तन) भएर नयाँ भेरियन्टहरू देखा परेका छन्।
वर्तमान र भविष्यका खतरनाक म्यूटेशन (उत्परिवर्तन) हरू विरुद्ध व्यापक कभरेज प्रदान गर्न सक्ने खोपहरूको आवश्यकतालाई पहिचान गर्दै, टोलीले एक नयाँ प्रकारको खोप विकास गरेको छ भने यो खोपले इबोला वा कोरोनाभाइरस समूह जस्ता भाइरसहरू उत्परिवर्तित भए पनि तिनीहरूको विस्तृत दायरा विरुद्ध निरन्तर सुरक्षा प्रदान गर्दछ।
“हामीले खोप विकासलाई रियाक्टिभ अप्रोच (प्रतिक्रियाशील दृष्टिकोण) बाट फ्युचर–प्रुफ अप्रोच (दृष्टिकोण) मा परिणत गरेका छौं” क्याम्ब्रिज विश्वविद्यालयको भाइरल जुनोटिक प्रयोगशालाका प्रोफेसर जोनाथन हीनी र अनुसन्धानका वैज्ञानिक नेताले भने।
“हामीले सुरक्षामा सीमितता हुने गरेका परम्परागत खोपहरूको समस्यालाई पार गरेका छौं। यसको अर्थ हामी मानिसहरूमा फैलिरहेको भाइरस भेरियन्टहरू ट्र्याक गर्ने र खोपहरू अपडेट गर्ने निरन्तर चक्रबाट बच्न सक्छौं” हीनीले थप उल्लेख गरे।
उनका अनुसार विश्वव्यापी खोपहरूको यो नयाँ वर्गले सम्भावित रूपमा अहिलेसम्म देखा नपरेका भाइरसहरू विरुद्ध सुरक्षा गर्न सक्ने टेलिग्राफले रिपोर्ट गरेको छ।
तिनीहरूले एआईलाई कसरी प्रयोग गरे?
यो खोप सिर्जना गर्न, अनुसन्धानकर्ताहरूले एआईद्वारा पूर्ण रूपमा डिजाइन गरिएको “सुपर–एन्टिजेन” भनिने एक्टिभ–एन्टिजेन प्रयोग गरे।
यसले कम्प्युटर–डिजाइन गरिएको प्रोटीन प्रयोग गर्दछ जसले धेरै कोरोनाभाइरसहरूको सामान्य विशेषताहरूको नक्कल गर्दछ भने एकल विशिष्ट प्रकारलाई लक्षित गर्नुको सट्टा त्यसले शरीरको प्रतिरक्षा प्रणालीलाई ती आधारभूत विशेषताहरू भएका रोगजनकहरूको विस्तृत दायरासँग लड्न ट्रिगर गर्न सक्छ।
त्यसैगरी अर्को नवीनता भनेको यो खोपलाई सुईको आवश्यकता पर्दैन।
यो माइक्रोफ्लुइडिक जेट मार्फत प्रशासित गरिन्छ र त्यसले एन्टिजेनलाई हाई–भेलोसिटी फ्लुइड स्ट्रिम (उच्च–वेग तरल पदार्थ प्रवाह) मार्फत सिधै छालामा धकेल्छ।
अर्को चरणहरू के हुन्?
यो पहिलो अध्ययनमा थोरै संख्यामा सहभागीहरू समावेश गरिएको र सुरक्षा, सहनशीलताका साथै प्राप्त प्रतिरक्षा प्रतिक्रियाको मूल्याङ्कन गर्न डिजाइन गरिएको थियो।
डिसेम्बर २०२१ देखि सेप्टेम्बर २०२३ को बीचमा, ३९ स्वयंसेवकहरूलाई खोप लगाइएको थियो।
“एआईद्वारा डिजाइन गरिएको ‘सुपर–एन्टिजेन’ को यो अध्ययनको असाधारण सफलताले व्यापक र टिकाउ भाइरल प्रोटेक्सन (सुरक्षा) प्रदान गर्ने हाम्रो क्षमतामा एक महत्त्वपूर्ण कदम अगाडि बढाएको छ” बेलायतको राष्ट्रिय स्वास्थ्य तथा हेरचाह अनुसन्धान संस्थान (नेसनल इन्स्टिच्युट फर हेल्थ एण्ड केयर रिसर्च – एनआईएचआर) का वैज्ञानिक निर्देशक प्रोफेसर मारियन नाइटले भने।
यी सफल नतिजाहरू पछि अनुसन्धानकर्ताहरूले अब फराकिलो र अधिक विविध जनसंख्यामा प्रतिरक्षा प्रतिक्रियाहरू उत्पन्न गर्ने खोपको क्षमताको मूल्याङ्कन गर्न र यसले बलियो र व्यापक रूपमा सुरक्षात्मक प्रतिरक्षा उत्पन्न गर्छ भनेर पुष्टि गर्न चरण २ क्लिनिकल परीक्षण सुरु गर्नेछन्।


+ There are no comments
Add yours