अमेरिकासँग सम्झौता र रोक्का कोष रिहाइबारे छलफल गर्न इरानी टोली दोहामा

११ जेठ, काठमाडाैँ। शीर्ष वार्ताकार र केन्द्रीय बैङ्कका प्रमुखसहितको उच्चस्तरीय इरानी प्रतिनिधिमण्डल अमेरिकासँगको सम्झौता र रोक्का गरिएको कोषको रिहाइबारे छलफल गर्न सोमबार दोहा पुगेको छ। द्वन्द्व अन्त्यका लागि जारी कूटनीतिक प्रयासबारे वार्ताका लागि इरानी सभामुख मोहम्मद बाघेर गालिबाफ र विदेशमन्त्री अब्बास अराघची दोहा आइपुगेको एक विश्वसनीय स्रोतले एएफपीलाई जानकारी गराएको हो।

इरानको सरकारी समाचार एजेन्सी आइआरएनए तथा अन्य सञ्चारमाध्यम तास्निम र फार्स न्यूज एजेन्सीहरूले कूटनीतिक प्रक्रियाको हिस्साका रूपमा भएको यस भ्रमणको पुष्टि गरेका छन्। प्रतिनिधिमण्डलमा विदेश मन्त्री अब्बास अराघचीका साथै विदेशमा रोक्का इरानी सम्पत्तिको विषयमा छलफल गर्ने उद्देश्यले केन्द्रीय बैङ्कका गभर्नर अब्दोलनासेर हेमती पनि सामेल रहेका छन्।

संवेदनशील विषय भएकाले नाम उल्लेख नगर्ने सर्तमा स्रोतले दिएको जानकारी अनुसार यो भ्रमण मुख्य गरी हर्मुज जलमार्ग भएर हुने आवागमन र अत्यधिक संवर्धित युरेनियमसँग सम्बन्धित मुद्दाहरूमा केन्द्रित हुनेछ। यो विषय अमेरिका र इरानबीच पाकिस्तानी मध्यस्थतामा सम्झौताका लागि तयार गरिएको एक खाकाका रूपमा समझदारी पत्रमा सम्बोधन गरिएको छ। अमेरिका र इरानबीचको शान्ति वार्तामा पाकिस्तान अहिलेसम्म मुख्य मध्यस्थकर्ताको रूपमा रहँदै आएको छ। गत अप्रिल ८ मा युद्धविराम लागू भएदेखि जारी यस वार्ताको मुख्य उद्देश्य युद्धलाई व्यापक रूपमा अन्त्य गर्नु र स्ट्रेट अफ हर्मुज पुनः खोल्नु हो।

फार्स न्यूज एजेन्सीका अनुसार वाशिङ्गटनले अन्तर्राष्ट्रिय प्रतिबन्धहरू अन्तर्गत विदेशमा रोक्का गरिएको तेहरानको कोषको केही हिस्सा जारी गर्ने सहमति जनाएको छ। यसको बदलामा हर्मुज नाकाबन्दी अन्त्य गर्ने सर्तमा इरानी बन्दरगाहहरूमा यात्रा गर्ने जहाजहरूको नौसैनिक नाकाबन्दी अन्त्य गर्न अमेरिका तयार भएको छ।

यसअघि सन् २०२३ मा दक्षिण कोरियाली बैङ्कहरूबाट रोक्का गरिएको छ अर्ब डलर इरानी कोष इरानले बन्धक बनाएका पाँच अमेरिकी नागरिकहरूको रिहाइको सर्तमा कतारमा राखिएको थियो। तर, हमासको सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणपछि वासिङ्टन र तेहरानबीच सम्बन्ध बिग्रिएका कारण यो रकम कहिल्यै जारी हुन सकेको थिएन।

विगतमा पनि इरान र संयुक्त राज्य अमेरिकाबीच मध्यस्थता गरेको कतारले हालैका हप्ताहरूमा वार्ताका लागि दबाब दिन बढ्दो भूमिका खेलिरहेको छ। यसै महिनाको सुरुमा कतारका शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले संयुक्त राज्य अमेरिकामा शीर्ष अमेरिकी कूटनीतिज्ञ मार्को रुबियो र उपराष्ट्रपति जेडी भान्ससँग युद्ध अन्त्यका लागि कूटनीतिक पहलमा जोड दिन बैठक गरेका थिए।

इरानले गत फेब्रुअरी २८ देखि इरानमा अमेरिका र इजरायलले गरेको आक्रमणको जवाफमा कतारलगायत खाडी मुलुकविरुद्ध क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको थियो। विश्वको तेल र प्राकृतिक ग्यासको कुल पाँच भागको लगभग एक भाग स्ट्रेट अफ हर्मुजकै नाका भएर जाने गर्दछ। यस नाकाबन्दीले कतारको खाना पकाउने ग्यास (एलएनजी) निर्यातसहित ऊर्जा–समृद्ध खाडीको महत्त्वपूर्ण समुद्री निर्यात रोकेको छ, जसका कारण खाडी क्षेत्रका साथै विश्वकै अर्थव्यवस्था तनावमा परेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours