इबोला प्रकोप विश्वव्यापी महामारीको अवस्थामा नरहेको विश्व स्वास्थ्य संगठनको निष्कर्ष

०७ जेठ, काठमाडाैँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अफ्रिकी मुलुकहरूमा फैलिएको इबोला संक्रमणको जोखिम राष्ट्रिय तथा क्षेत्रीय स्तरमा उच्च रहे पनि यो विश्वव्यापी महामारी (प्यानडेमिक इमर्जेन्सी) को अवस्थामा नपुगेको स्पष्ट पारेको छ ।

बुधबार आयोजित एक पत्रकार सम्मेलनमा डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले उक्त जानकारी दिएका हुन् ।

मंगलबार बसेको डब्लूएचओको आपतकालीन समितिको बैठकले प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) र युगान्डामा देखिएको इबोलाको वर्तमान अवस्थालाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकालको रूपमा व्याख्या गरे पनि यसलाई विश्वव्यापी महामारी मान्न नसकिने निष्कर्ष निकालेको हो ।

हालसम्मको तथ्याङ्कअनुसार, कङ्गोको इटुरी र उत्तरी किवु प्रान्तका बुनिया र गोमा जस्ता सहरहरूमा ५१ जनामा संक्रमणको पुष्टि भइसकेको छ । यद्यपि, कङ्गोमा यो संक्रमणको स्तर अझ व्यापक हुनसक्ने अनुमान गरिएको छ ।

यस्तै, युगान्डाको राजधानी कम्पालामा कङ्गोबाट भ्रमण गरी आएका दुई व्यक्तिमा संक्रमण देखिएको छ, जसमध्ये एक जनाको मृत्यु भइसकेको छ । कङ्गोमा कार्यरत एक अमेरिकी नागरिकमा पनि संक्रमणको पुष्टि भएको डब्लूएचओले जनाएको छ ।

पुष्टि भएका संक्रमितबाहेक करिब ६०० संदिग्ध बिरामीहरू फेला परेका छन् भने १३९ जनाको मृत्यु संदिग्ध अवस्थामा भएको छ । भाइरस पहिचान हुनुअघि नै लामो समयदेखि सक्रिय रहेकाले संक्रमितको संख्या अझै बढ्न सक्ने चेतावनी महानिर्देशक टेड्रोसले दिए ।

इबोलाका कारण हुने थप मानवीय क्षति रोक्न र प्रभावकारी अन्तर्राष्ट्रिय प्रतिकार्यका लागि तत्काल कदम चाल्नुपर्नेमा डब्लूएचओले जोड दिएको छ । संक्रमण नियन्त्रणका लागि डब्लूएचओले जनशक्ति, स्वास्थ्य सामग्री, उपकरण र आर्थिक सहयोग परिचालन गरिसकेको छ ।

महानिर्देशक टेड्रोसले आपतकालीन कोषबाट थप ३४ लाख अमेरिकी डलर स्वीकृत गरिएको जानकारी दिए । जससँगै इबोला नियन्त्रणका लागि कुल सहयोग रकम ३९ लाख अमेरिकी डलर पुगेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours