०५ जेठ, काठमाडौँ । समस्याग्रस्त सहकारी संस्थामा अलपत्र परेको बचत फिर्ता प्रक्रिया सुरु भएको छ । सहकारी व्यवस्थापन समितिका अनुसार सोमबार साना बचतकर्तालाई प्राथमिकतामा राख्दै पहिलो चरणको रकम फिर्ता सुरु गरिएको हो ।
पहिलो दिन तीन वटा सहकारीका ३७८ जना साना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएको समितिका अध्यक्ष डिल्लीराज आचार्यले बताउनुभयो । तीमध्ये कान्तिपुर सहकारीका २१५ जना, शिवशिखर बहुद्देश्यीय सहकारीका १५६ जना र पशुपति सहकारीका सात जना बचतकर्ता रहेका छन् ।
तीन सहकारीका ३७८ जना साना बचतकर्तालाई गरिएको बचत फिर्ता रकम १३ लाख ७९ हजार २१६ रुपियाँ रहेको छ । समितिका अध्यक्ष आचार्यका अनुसार प्रारम्भिक चरणमा कम रकम बचत गर्ने साना बचतकर्तालाई प्राथमिकतामा राखिएको हो ।
अब बचत रकमका आधारमा वर्गीकरण गर्दै अन्य बचतकर्तालाई पनि क्रमशः रकम फिर्ता गरिने तयारी गरिएको छ । पाँच लाख रुपियाँभन्दा कम बचत गर्नेलाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी बचत गर्नेलाई ठुला बचतकर्ता वर्गमा राखिएको छ ।
समितिका अनुसार वैशाख महिनामा मात्रै बचत मिलानमार्फत २९ लाख नौ हजार ४४५ रुपियाँ फिर्ता गरिएको छ । त्यस्तै ऋण असुलीबाट कुल दुई करोड १७ लाख ३७ हजार ९२६ रुपियाँ सङ्कलन भएको छ ।
मागदाबी अनुसार फाराम रुजु गर्ने काम जारी छ र प्रायः दैनिक रूपमा बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया भइरहेको समितिले जनाएको छ । पहिलो चरणको काम सम्पन्न भएपछि दोस्रो चरणको बचत फिर्ता प्रक्रिया सुरु गरिने जनाइएको छ ।


+ There are no comments
Add yours