जेनजी मुभमेन्ट नेपालद्वारा आत्म*हत्या दुरुत्साहन मुद्दामा प्रधानमन्त्री शाहमाथि छानबिन गर्न प्रहरीमा उजुरी

२३ बैशाख, काठमाडौँ । जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहमाथि छानबिन गर्न काठमाडौं जिल्ला प्रहरी परिसरमा निवेदन दर्ता गरेको छ।

बल्खु र थापाथली सुकुम्बासी बस्तीमा भएका दुई आत्महत्या घटनाको विस्तृत, निष्पक्ष छानबिन माग गर्दै निवेदन दर्ता गरेको प्रवक्ता विजय शाहले जानकारी दिए।

उनले प्रधानमन्त्री एवं गृहमन्त्री शाहको निर्देशनमा सञ्चालित डोजर अभियानले पीडितहरूमा अत्यधिक मानसिक तनाव सिर्जना गरेको र आत्महत्या दुरुत्साहनमा भूमिका रहे/नरहेको छानबिन गर्न माग गरे।

प्रवक्ता शाहले निवेदनमा लेखेका छन्, ‘दुवै घटना डोजर अभियानका क्रममा पीडितहरूमा डर, त्रास र अनिश्चितता बढेको प्रारम्भिक जानकारीका आधारमा भएको हो।’ उनले मुलुकी अपराध संहिता २०७४ को दफा १०८ (आत्महत्या दुरुत्साहन) अनुसार सम्बन्धित पक्षको जिम्मेवारी निर्धारण गर्न माग गरे।

शाहले स्थायी ठेगाना चौरपाटी गाउँपालिका-४, अछाम उल्लेख गर्दै सम्पर्क नम्बर ९८६५९०७७८० समेत दिइ निवेदन पेस गरेका छन्।

सरकारले हालै काठमाडौंका नदी किनारका सुकुम्बासी बस्ती हटाउन डोजर अभियान तीव्र बनाएको छ। अभियानका क्रममा यी दुई घटनाले विस्थापित समुदायमा त्रास फैलाएको र मानसिक स्वास्थ्यबारे प्रश्न उठाएको छ। युवा संगठनहरूले अभियानलाई अमानवीय भनेका छन् भने सरकारले नदी किनार सफाइ र विकासका लागि अभियान चलाइएको दाबी गरेको छ।

यस्तो छ निवेदन:

– बल्खु सुकुम्बासी बस्ती : ६१ वर्षीय इन्द्रबहादुर राई वैशाख १८ गते डोजर अभियान चलिरहेको दिन घरबाट निस्केर बागमती नदीमा हाम फालेको अवस्थामा मृत फेला परेका थिए।

– थापाथली सुकुम्बासी बस्ती : १७ वर्षीय रवीन तामाङ वैशाख १७ गते राति घरको शौचालयमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका थिए।

निवेदनमा निम्न माग गरिएको छ:

– दुवै घटनाको विस्तृत, निष्पक्ष तथा वस्तुनिष्ठ छानबिन।

– घटनास्थल, प्रत्यक्षदर्शी, पीडित परिवार, स्थानीय बासिन्दा, डोजर अभियानमा संलग्न कर्मचारी र निर्णयकर्तासँग सोधपुछ।

– सीसीटीभी, भिडियो, फोन रेकर्ड, सार्वजनिक अभिव्यक्ति जस्ता प्रमाण संकलन र विश्लेषण।

– छानबिन प्रतिवेदन तयार गरी कानुनी कारबाही अघि बढाउने।

You May Also Like

More From Author

+ There are no comments

Add yours