पुलिसलाई हराउँदै आर्मी फाइनलमा

११ बैशाख, काठमाडौँ । त्रिभुवन आर्मी फुटबल क्लब झापाको भद्रपुरमा जारी चन्द्रगढी महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई २–१ ले हराउँदै उपाधि नजिक पुगेको हो। आर्मीले अब शनिबार हुने चर्च ब्वाइज युनाइटेड र एपिएफ क्लबबीचको विजेतासँग खेल्नेछ।

खेलको ३२औँ मिनेटमा आर्मीले अग्रता लियो। पुलिसकी डिफेन्डर समीक्षा घिमिरेको गल्तीको फाइदा उठाउँदै आर्मीकी चन्द्रा भण्डारीले गोल गर्दै खेलमा अग्रता दिलाइन्।

५६औँ मिनेटमा जेनिफर राना मगरले आर्मीको अग्रता दोब्बर बनाइन्। हिमा चौधरीले गरेको कडा प्रहार पुलिसकी गोलकिपर सपना राईको हातबाट फुत्किँदा रानाले पाएको बललाई पोस्टको दिशा दिइन्। पुलिसले खेलको ७०औँ मिनेटमा एक गोल फर्कायो। पूजा रानाले डिबक्समा हेडमार्फत मिलाइदिएको पासलाई रेखा पौडेलले हेडमार्फत नै जाली चुमाउँदै गोल अन्तर कम गर्ने प्रयास गरिन्।

खेलको प्लेयर अफ द म्याच विजेता टिम आर्मीकी डिफेन्डर विमला विक भइन्। उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन्। शनिबार चर्च ब्वाइज र एपिएफबीच अन्तिम सेमिफाइनल खेल हुनेछ।

प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ र ट्रफी पाउनेछ। त्यस्तै, उपविजेताले पाँच लाख पाउने छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours