गोताखोरहरू ३० हजार तलबका लागि मात्र पानीमुनि छिर्दैनन्, सम्मान गर्न सिकौँ : आईजीपी अर्याल

०४ बैशाख, काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन क्षमतालाई अब केवल ‘तयारी’मा मात्र सीमित नराखी ‘तत्काल परिचालन’को रणनीतिमा लैजाने घोषणा गरेका छन् । कुरिनटारस्थित सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयको २२औँ स्थापना दिवसलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

जोखिमयुक्त कार्यमा खटिने सशस्त्र प्रहरीका लागि सरकार र सङ्गठनले कल्याणकारी योजनाहरू थप गरेको जानकारी दिँदै आइजीपी अर्यालले गोताखोर र जोखिमयुक्त ड्युटीमा खटिने कर्मचारीको बिमा सुविधा वृद्धि गरिएको बताए । उनका अनुसार नेपाल सरकारको १० लाख र नेपाल लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा थप २५ लाख गरी अब कुनै दुर्घटना भएमा पीडित परिवारले ३७ लाख रुपैयाँसम्म पाउने व्यवस्था सुनिश्चित गरिएको छ ।

यस्तै, उद्धारका क्रममा ज्यान गुमाउनेहरूलाई ‘विपद् सहिद’ घोषणा गर्न सरकारसमक्ष प्रस्ताव पठाइएको र त्यसमा सरकार सकारात्मक रहेको उनले बताए ।

सशस्त्र प्रहरीको विपद् व्यवस्थापन एकाइले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै आफ्नो पहिचान बनाएको उल्लेख गर्दै अर्यालले ‘कुरिनटार’ र ‘गोताखोर’ शब्द एकअर्काको पर्यायवाचीजस्तै बनेको बताए । आफ्नो ज्यान जोखिममा पारेर अरूको ज्यान बचाउने उद्धारकर्ताहरूलाई समाज र जनप्रतिनिधिले सम्मान गर्नुपर्नेमा उनले विशेष जोड दिए । शव निकाल्नका लागि अर्को जीवित सासलाई जोखिममा पार्नुअघि समाजले पनि धैर्य र सचेतना देखाउनुपर्ने उनको भनाइ छ ।

अर्यालले भने, ‘अहिलेसम्म हामी विपद्को पूर्वानुमान आएपछि ‘स्ट्यान्डबाइ’ बस्ने गरेका थियौँ, तर अबदेखि सूचना प्राप्त हुनासाथ जोखिमयुक्त क्षेत्रनजिकै टोली परिचालन गरिसक्ने नीति बनाएका छौँ । हामीलाई तयारी मात्र होइन, परिणाम (रिजल्ट) चाहिन्छ । आज गोताखोर भन्नासाथ कुरिनटार सम्झिइन्छ, यो यस शिक्षालयले बनाएको एउटा ब्रान्ड हो । यसलाई अझ सुदृढ बनाएर लैजाने हाम्रो लक्ष्य छ । गोताखोरहरू केवल ३० हजार तलबका लागि मात्र पानीमुनि छिरेका होइनन्, यसमा उनीहरूको त्याग र समर्पण छ । बर्दी लगाएका यी उद्धारकर्ताहरूलाई दिइने सम्मानले नै उनीहरूको मनोबल उच्च बनाउँछ ।’

विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन जल तथा मौसम विज्ञान विभागसँग सहकार्य भइरहेको र देशभर ५९ वटा अस्थायी विपद् व्यवस्थापन बेसहरू सञ्चालनमा ल्याउन लागिएको उनले जानकारी दिए । यस्तै, प्रत्येक वडाबाट २५ जनाका दरले १ लाख ६७ हजार ‘विपद् सूचक’हरूको दर्ता गरिएको र स्थानीय तहसँगको सहकार्यमा १८ दिने ‘डिजास्टर भोलेन्टियर’ तालिम सञ्चालन गरी समुदायस्तरमै नागरिकलाई ‘फर्स्ट रेस्पोन्डर’ बनाउने अभियान सुरु गरिएको उनले बताए ।

Arghakhachi Cement
पृथ्वी राजमार्गको नौबिसेदेखि मुग्लिङसम्मको खण्डमा ‘रोड सेफ्टी काउन्सिल’मार्फत नयाँ प्रोजेक्ट सुरु गर्न लागिएको पनि आइजीपी अर्यालले जानकारी दिए । यसअन्तर्गत राजमार्ग आसपासका कम्युनिटी हस्पिटल र एम्बुलेन्सहरूलाई एकीकृत गरी दुर्घटना हुनासाथ तत्काल उद्धार गरी उपचारका लागि पुर्‍याउने व्यवस्था मिलाइनेछ ।

Nabil bank
विक्रम संवत् २०६३ सालदेखि हालसम्म सशस्त्र प्रहरीले ३६ हजारभन्दा बढी विपद्का घटनामा खटिएर १५ हजारभन्दा बढीको सकुशल उद्धार गरिसकेको बताउँदै अर्यालले सानो गल्तीले पनि ज्यान जान सक्ने भएकाले पूर्ण अनुशासित भएर कार्यक्षेत्रमा खटिन सकल दर्जाका प्रहरीलाई निर्देशनसमेत दिए ।

–न्युज एजेन्सी नेपाल

You May Also Like

More From Author

+ There are no comments

Add yours