पर्यटकलाई विष खुवाएर बिरामी बनाइने दाबी ‘भ्रामक’ : सीआईबी

२१ चैत, काठमाडौँ । सगरमाथा क्षेत्रमा गाइडहरूले पर्यटकलाई खानामा विषालु पदार्थ मिसाएर नियतवश बिरामी बनाउने गरेको भनी सञ्चार माध्यममा आएका समाचारलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्णतः आधारहीन र भ्रामक भनेको छ ।

‘फेक रेस्क्यु’ सम्बन्धी भइरहेको अनुसन्धानलाई जोडेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रसारित यस्ता खबरले नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पारेपछि सीआईबीले औपचारिक विज्ञप्ति जारी गर्दै खण्डन गरेको हो।

प्रेस विज्ञप्तिमा सीआईबीले हालसम्मको अनुसन्धानका क्रममा पर्यटकलाई बिरामी बनाउन विष खुवाइएको भन्ने कुनै पनि प्रमाण फेला नपरेको स्पष्ट पारेको छ । नक्कली उद्धार गरी बीमा रकम ठगी गर्ने गिरोहमाथि ब्युरोले सूक्ष्म अनुसन्धान गरिरहेको भए पनि गाइडहरूले नै विष मिसाएर पर्यटकको स्वास्थ्यमा खेलबाड गरेको भन्ने दाबीमा कुनै सत्यता नभएको प्रहरीको निष्कर्ष छ।

यस्ता अप्रमाणित र भ्रामक समाचार सम्प्रेषण गर्नु गैरकानुनी कार्य भएको सीआईबीले जनाएको छ । सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्ता कपोलकल्पित समाचारले मुलुकको छवि र पर्यटन उद्योगलाई गम्भीर क्षति पुर्‍याउने उल्लेख गरिएको छ।

प्रहरीले सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूलाई जिम्मेवार बन्न र आधिकारिक पुष्टि बिना यस्ता संवेदनशील विषयमा समाचार प्रकाशन वा प्रसारण नगर्न कडा आग्रह गरेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours