बीवाईडीको सबैभन्दा सानो इलेक्ट्रिक कार ‘एट्टो १’ सार्वजनिक, ५ सेकेन्डमै ५० को रफ्तार !

२० चैत, काठमाडौँ । चिनियाँ इलेक्ट्रिक सवारी उत्पादक कम्पनी बीवाईडीले थाइल्याण्डमा आयोजना भइरहेको ‘बैंकक अन्तर्राष्ट्रिय मोटर शो २०२६’ को अवसर पारेर आफ्नो सबैभन्दा सानो ईभी ‘एट्टो १’ सार्वजनिक गरेको छ।

अन्तर्राष्ट्रिय बजारमा सिगल र डल्फिन सर्फका नामले समेत चिनिने यो कारलाई कम्पनीले बैंककमा विशेष कार्यक्रमका बीच सार्वजनिक गरेको हो।

सहरी क्षेत्रको यात्रालाई सहज बनाउने उद्देश्यले डिजाइन गरिएको यो कार डायनामिक र प्रिमियम गरी दुई भेरिएन्टमा उपलब्ध हुनेछ। ३९२५ एमएम लम्बाइ र २५०० एमएम ह्विलबेस भएको यो कारमा बीवाईडीको चर्चित ब्लेड एलएफपी ब्याट्री प्रयोग गरिएको छ। कम्पनीका अनुसार यसको ब्याट्री क्षमता ३०.०८ किलोवाट आवरदेखि ३८.८८ किलोवाट आवरसम्म रहेको छ, जसले एक पटकको फुल चार्जमा ३८० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ।

यसमा जडान गरिएको इलेक्ट्रिक मोटरले ७४ हर्सपावर र १३५ एनएम टर्क उत्पादन गर्छ, जसले गर्दा कारले मात्र ५ सेकेन्डभन्दा कम समयमा शून्यदेखि ५० किलोमिटर प्रतिघण्टाको गति समात्न सक्छ।

कारको बाहिरी बनावटमा एलईडी हेडलाइट, स्पोर्टी रियर स्पोइलर र फ्लोटिङ रूफ डिजाइनले यसलाई निकै आधुनिक देखाएको छ। सुरक्षाका लागि यसमा ६ वटा एयरब्याग, एडभान्स्ड ड्राइभर असिस्टेन्ट सिस्टम र रियर भ्यु क्यामेरा जस्ता महत्त्वपूर्ण फिचरहरू समावेश छन्। वायरलेस स्मार्टफोन कनेक्टिभिटी, ६-वे पावर ड्राइभर सिट र एयर प्युरिफायर जस्ता सुविधाहरूले गर्दा यो कार साना ईभी खोज्ने ग्राहकका लागि विलासी विकल्प बन्ने देखिएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours