नेपाललाई आरोग्य पर्यटनको केन्द्र बनाउन पहल1

२० चैत, काठमाडौँ । सरकारले नेपाललाई आरोग्य पर्यटन (वेलनेस टुरिजम) को हब बनाउने लक्ष्यसहित अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्यताका साथ मनाउने तयारी गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बिहीबार बसेको उच्चस्तरीय आरोग्य दिवस आयोजक समितिको बैठकले आगामी वैशाख २ गते ७५३ वटै स्थानीय तह र सातै प्रदेशमा प्रभावकारी, सहभागितामूलक र दीर्घकालीन प्रभाव पार्ने गरी पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने निर्णय गरेको हो ।

नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घको महासभाबाट पारित भएर हरेक वर्ष वैशाख २ गते (अप्रिल १५) का दिन यो दिवस मनाउने प्रस्ताव गत फागुन २६ गते अनुमोदन भएसँगै विश्वभर पहिलो पटक मनाइन लागेको उक्त दिवसलाई नेपालमा राष्ट्रिय अभियानका रूपमा अघि बढाउने रणनीतिमा बैठकले जोड दिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आरोग्यलाई मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरण, राष्ट्रिय गौरव, जनजीविका र दीर्घकालीन विकाससँग जोड्नुपर्ने विचार व्यक्त गर्नुभयो । आरोग्य पर्यटनलाई केवल प्रचारमा सीमित नराखी जनजीविकासँग जोड्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “आधारभूत संरचना, मौलिकता र हाम्रो पहिचान जोगाउँदै अघि बढ्न सके आरोग्य पर्यटनमार्फत नेपालको समृद्धिको नयाँ आधार तयार गर्न सकिने छ । ध्यान, योग र प्राकृतिक चिकित्सासहितको आरोग्य पर्यटनले राष्ट्रिय गौरव जोगाउन र मानव कल्याणयुक्त पर्यापर्यटनको विकासमा सहयोग पुग्ने छ ।”

त्यसै गरी मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले आरोग्यलाई नेपालको ‘सफ्ट पावर’ का रूपमा प्रयोग गर्न सकिने जनाउँदै सरकारले केवल दिवसका रूपमा मात्रै नभएर मौलिक ज्ञान, संस्कृति र जीवनशैलीलाई विश्वभर फैलाउने ऐतिहासिक अवसरका रूपमा यो दिवस मनाइने बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले आरोग्य पर्यटनका लागि नेपालको प्रमुख सम्भावना भएको उल्लेख गर्दै प्राकृतिक र सांस्कृतिक सम्पदाले हामीलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाएको बताउनुभयो ।

यसअघि सरकारले शासकीय सुधारका लागि तयार गरेको कामको सूचीमा आरोग्य पर्यटनलाई आर्थिक रूपान्तरणको राष्ट्रिय एजेन्डासहित नेपालको योग र प्राकृतिक चिकित्सा पर्यटनलाई अन्तर्राष्ट्रय रूपमा चिनाउने योजना अघि सारेको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours