कोकिला ढकाल
१२ चैत, इलाम । इलाममा आउने पर्यटकलाई इलाम सदरमुकामनजिकै रहेको नेपाल भिलेज होमस्टेले निकै आकर्षण गर्ने गरेको छ । यो होमस्टे नयाँ बनेको घर भने होइन, न त यो कुनै सुविधा सम्पन्न होटेल रिसोर्ट नै हो ।
११० वर्षअघि निर्माण भएको पुरानो घरलाई होमस्टेका रूप दिइएपछि देश विदेशका पाहुनाका लागि यो रोजाइ बन्न थालेको छ । इलाम नगरपालिका–५, घलेटारमा रहेको यो होमस्टे अहिले व्यवसायी नरेन्द्र गुरुङले सञ्चालन गरिरहनुभएको छ । गुरुङका हजुरबुवा रणवीर गुरुङले ११० वर्षअघि निर्माण गरेको घरमा नाति नरेन्द्रले नौ वर्षयता होमस्टे सञ्चालन गर्दै आउनुभएको हो ।
जाइकाबाट सन् २०१६ मा अवकाश पाएपछि नेरेन्द्रले यो घरलाई होमस्टेका रूपमा सञ्चालन गर्न थाल्नुभएको हो । “त्यसबेला विकासका काम गर्ने संस्थामा काम गर्दै गर्दा नेपाल आउने विदेशी पर्यटकले के खोज्छन्, कहाँ बस्न खोज्छन्, उनीहरूको चाहना के हुन्छ भन्ने कुराले सधैँ पिरोल्थ्यो । उनीहरूले चाहेको खाना, बसाइ पूरा होस् भन्ने उद्देश्यले पनि मैले यो होमस्टे सुरु गरेको थिएँ ।”
सदरमुकाम नै भए पनि गाउँको शान्त र सुन्दर वातावरणमा रहेको यो होमस्टेबाट नेपाली भने त्यति परिचित छैनन् । “स्वदेशीभन्दा बढी विदेशी पर्यटक आउँछन् । सात दिनदेखि महिना दिनसम्म यहाँ बसेर, इलाम घुमेर, उनीहरूको काम र भ्रमण दुवै पूरा गरेर फर्कन्छन्,” गुरुङले भन्नुभयो, “धेरै त होइन, महिनामा आठ/१० जना विदेशी आउने गरेका छन् ।”
गुरुङले आफ्नो होमस्टेमा आउने पर्यटकलाई कृषिमा आधारित जीवनशैली, इलामका घुम्ने स्थान माइपोखरी, सन्दकपुरसहितका ताप्लेजुङको पाथीभरा मन्दिरसम्मका पर्यटकीय केन्द्रबारे जानकारी गराउने र पठाउने गरेको बताउनुहुन्छ । यो होमस्टेमा विभिन्न सङ्घ संस्थाका कार्यक्रमसमेत हुने गरेका छन् । गाउँको आर्थिक, सांस्कृतिक सम्बन्ध बचाउन यस्तो होमस्टेले सहयोग गर्ने गरेको गुरुङको बुझाइ छ ।
इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौड्याल पनि घलेटारमा रहेको यो होमस्टेले दिएको सिकाइलाई पर्यटन व्यवसायीले पछ्याउन जरुरी रहेको बताउनुहुन्छ । पौड्यालले भन्नुभयो, “चिया हेर्न र बुझ्न आउनेलाई चियाबारीमै बासको व्यवस्था गर्नु, चौँरी, हाब्रे (रेड पान्डा) हेर्न जानेलाई त्यतै बासको व्यवस्था गर्न, पहाड र जडीबुटी, सिमसार हेर्न जानेलाई त्यतै केन्द्रित गर्न लगानी बढाउनु अबको आवश्यकता देखियो ।”
यातायात व्यवसायी गृष्म सुब्बा पनि पछिल्लो पटक इलाम आउने पर्यटकले सहरबजारभन्दा गाउँ रोज्ने गरेको बताउनुहुन्छ । “विशेष गरी भारतको पश्चिम बङ्गालबाट आउने र नेपाल भित्रैबाट आउने पर्यटक अचेल शान्त स्थानमा रमाउन चाहन्छन् । लामो समयको थकान मेटाउन आउने धेरैले होहल्लाभन्दा टाढा गएर समय बिताउन चाहेका छन् ।” सुब्बा ग्रामीण भेगमा लगानी बढाउन र होमस्टे बनाउन सक्दा अबको पर्यटन गाउँकेन्द्रित देखिएको बताउनुहुन्छ ।
यता पर्यटनबाट कसरी समृद्धि ल्याउन सकिन्छ भन्ने विषयमा आफू केन्द्रित रहेको पर्यटन कार्यालय झापाका प्रमुख छविलाल खतिवडा बताउनुहुन्छ । झापासहित इलाम, पाँचथर र ताप्लेजुङसम्म पर्यटनको क्षेत्रमा काम गर्दै आएको पर्यटन कार्यालयले अहिले विशेष गरी होमस्टेलाई पर्यटनमैत्री गराउने विषयमा काम गरिरहेको खतिवडाले बताउनुभयो ।
खतिवडाले भन्नुभयो, “अघिल्लो महिनाभन्दा गएको महिना १७ प्रतिशत बढीले पर्यटक नेपाल भित्रिएको तथ्याङ्क छ । प्रायः जसो पर्यटक होमस्टे बस्न रुचाउने गरेका छन् । त्यसैले पहाडी क्षेत्रका होमस्टेलाई विशेष पर्यटकमैत्री वातावरण बनाउन हामीले पनि आग्रह गरिरहेका छौँ ।” होटेलको भन्दा होमस्टेमा कम खर्च हुने र शान्त तथा पारिवारिक वातावरणमा पर्यटकले रमाइलो मान्ने गरेको पाइएको खतिवडाको बुझाइ छ ।


+ There are no comments
Add yours