२५ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको एकल बहुमतको प्रतिनिधिसभा युवामय हुने भएको छ। २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनबाट प्रत्यक्षतर्फ नै ३५ वर्षमुनिका २४ जना युवा निर्वाचित भइसकेका छन्।
यो कुल सांसदको १५ दशमलव ५४ प्रतिशत हो। राजनीतिज्ञहरूका अनुसार युवाले चुनाव जित्नुमा सूचना प्रविधिको प्रयोग र युवा मतदाताको उल्लेख्य राजनीतिक सचेतनाले महत्वपूर्ण भूमिका खेलेको छ।
प्रत्यक्षतर्फ ३५ वर्षमुनिका १५ प्रतिशतभन्दा बढी सांसद निर्वाचित भएका छन्।
जेनजी आन्दोलनलाई क्रान्तिको रूपमा परिभाषित गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दिएका अधिकांश युवाले विभिन्न निर्वाचन क्षेत्रबाट जित हासिल गर्दा संसद् युवामय हुने भएको हो।
रास्वपाबाट मात्रै ३५ वर्षमुनिका २० उम्मेदवार निर्वाचित भएका छन्। मकवानपुर–२ बाट रास्वपाका उम्मेदवार २५ वर्षीय प्रशान्त उप्रेती प्रतिनिधिसभाका सबैभन्दा कम उमेरका सांसद बनेका छन्।
२०५७ सालमा मकवानपुरमा जन्मिएका उप्रेतीले पर्यटन व्यवस्थापनमा स्नातक गरेका छन्। उनले देशमै पर्यटन व्यवसायमार्फत समृद्धिको अभियान अघि बढाइरहेका छन्।
नेकपा एमालेको स्थानीय राजनीतिमा सक्रिय आफ्ना बुबाका कारण राजनीतिप्रति चासो बढे पनि उप्रेतीले बुबाले आस्था राखेको दलतिर नलागी रास्वपामा आबद्ध भएर एकैपटक संघीय सांसद बनेका हुन्।
रास्वपाबाट पहिलोपटक मात्र होइन, दोस्रोपटक सांसद बनेकाहरू पनि ३५ वर्षमुनिका छन्। चितवन–३ बाट निर्वाचित सोविता गौतम र झापा–१ बाट निर्वाचित निशा डाँगी दोस्रो कार्यकालका लागि प्रतिनिधिसभा सदस्य बनेका हुन्। गौतम २०७९ मा काठमाडौं–२ बाट र डाँगी समानुपातिक प्रणालीमार्फत सांसद बनेका थिए।
रास्वपासँगै नेपाली कांग्रेसबाट दुई, श्रम संस्कृति पार्टीबाट एक र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक गरी यसपटक २४ जना ३५ वर्षमुनिका उम्मेदवार प्रत्यक्षतर्फ निर्वाचित भएका छन्।
३५ वर्षमुनिका सांसदको सूचीमा दोस्रो कार्यकालका लागि निर्वाचित सोविता गौतम र निशा डाँगीदेखि इलाम–१ बाट कडा प्रतिस्पर्धाबीच जितेका कांग्रेसका निष्कल राईसम्म रहेका छन्।
३५ वर्षमुनिका चर्चित सांसद
विकासको नमुना मोडल देशव्यापी बनाउने घोषणासहित दुई कार्यकाल भरतपुर महानगरपालिकाको मेयर रहेकी रेणु दाहाललाई फराकिलो मतान्तरले पराजित गर्ने सोविता गौतम ३० वर्षकी छन्। दोलखाको तामाकोशी गाउँपालिका जामुनेमा जन्मिएकी रास्वपाकी केन्द्रीय सदस्य गौतम ३० वर्षमै दोस्रो कार्यकालका लागि प्रभावशाली सांसदका रूपमा संसद् प्रवेश गर्दैछिन्।
गौतमले ५९ हजार २७७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी रेणु दाहालले २० हजार ६१५ मत प्राप्त गरेकी थिइन्। कानुनमा स्नातक गरेकी तथा मिडिया क्षेत्रमा अनुभव भएकी गौतमको सरलता, अध्ययनशीलता र तर्कले जनतामाझ राम्रो छाप छोडेको छ।
रास्वपाबाट दोस्रो कार्यकालका लागि निर्वाचित झापाकी २९ वर्षीया निशा डाँगी पनि यसपटक निकै चर्चामा रहिन्। २०७९ मा समानुपातिकबाट सांसद बनेकी डाँगीले यसपटक प्रत्यक्षतर्फ झापा–१ बाट ४५ हजार ६८० मत ल्याएर विजय हासिल गरिन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार केशवराज पाण्डेले १० हजार ५५० मत ल्याएका थिए।
२०५३ सालमा झापाको भद्रपुर नगरपालिकामा जन्मिएकी डाँगीले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गरेकी छन्।
नेकपा एमालेका उपाध्यक्ष तथा पटक–पटक अर्थमन्त्री बनेका प्रभावशाली नेता विष्णु पौडेललाई पराजित गरेर चर्चामा आएका सुलभ खरेल पनि २८ वर्षमै संसद् प्रवेश गर्ने भएका छन्।
२०५४ साल भदौमा बुटवलमा जन्मिएका खरेल रुपन्देही–२ बाट ५६ हजार ५५० मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी विष्णु पौडेलले १२ हजार ८६१ मत ल्याएका थिए। खरेलले नेपाल ल क्याम्पसबाट पाँच वर्षे बीए–एलएलबी अध्ययन गरेका छन्।
जुम्लाबाट निर्वाचित ३४ वर्षीय ज्ञानबहादुर शाही पनि चर्चित युवा सांसद हुन्। राप्रपाका प्रवक्ता शाहीले रास्वपालगायतका दललाई पराजित गर्दै दोस्रो कार्यकालका लागि संसद् प्रवेश गरेका हुन्। उनले नेकपा उम्मेदवार नरेश भण्डारीलाई ११ हजार ६३५ मतमा रोक्दै १४ हजार ८१६ मतसहित विजय हासिल गरेका थिए।
नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालालाई पराजित गरेर चर्चामा आएकी रुबिना आचार्य पनि युवा सांसद हुन्। मोरङ–६ बाट रास्वपाका तर्फबाट निर्वाचित आचार्यले ५५ हजार ५१३ मत ल्याउँदा कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका थिए।
इलाम–१ बाट कडा प्रतिस्पर्धाबीच जित हासिल गरेका निष्कल राई पनि अन्तिम समयमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए। उनले राष्ट्रिय श्रम संस्कृति पार्टीका विनोद नेम्बाङलाई ९११ मतले पराजित गर्दै निर्वाचन जितेका हुन्।
नवलपुर–२ बाट २६ वर्षीय मनीष खनाल पनि रास्वपाका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले ४१ हजार ३४७ मत ल्याएर विजय हासिल गरे। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका तिलबहादुर महत क्षेत्रीले १५ हजार ७५५ मत ल्याएका थिए। खनालले नेपाल ल क्याम्पसबाट कानुन विषयमा स्नातक गरेका छन्।
काभ्रेपलाञ्चोक–२ बाट निर्वाचित ३३ वर्षीय बदनकुमार भण्डारी पनि चर्चामा रहेका युवा सांसद हुन्। उनले ५३ हजार ३४४ मत ल्याएर विजय हासिल गरे। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मधुप्रसाद आचार्यले १७ हजार ८६८ मत ल्याएका थिए। भण्डारी एमालेको युवा संघबाट हुँदै नेकपा एकीकृत समाजवादी र पछि रास्वपामा आबद्ध भएका हुन्।
२८ वर्षीय बब्लु गुप्ता पनि जेनजी आन्दोलनबाट उदाएका युवा नेता हुन्। सिराहा–१ बाट रास्वपाका तर्फबाट निर्वाचित गुप्ताले ४१ हजार ३२२ मत ल्याएर विजय हासिल गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरीले ९ हजार ७७४ मत ल्याएका थिए।
काठमाडौं–५ बाट २९ वर्षीय सस्मित पोखरेलले नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, एमाले नेता ईश्वर पोखरेल र राप्रपाका कमल थापालाई पराजित गर्दै जित हासिल गरेका छन्।
यसैगरी, रास्वपाका ३४ वर्षीय सागर ढकाल गुल्मी–१ बाट निर्वाचित भएका छन्। पेशाले इन्जिनियर ढकाल गुल्मीको सत्यवती गाउँपालिका–६ पीपलनेटा निवासी हुन्।
प्युठानबाट ३१ वर्षीय सुशान्त वैदिक पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। रास्वपाका ३४ वर्षीय सोम शर्मा बागलुङ–२ बाट निर्वाचित भएका छन्।
स्याङ्जा–२ बाट झविलाल डुम्रे, सप्तरी–२ बाट ३० वर्षीय रामजी यादव, सिराहा–४ बाट ३३ वर्षीय तपेश्वर यादव र महोत्तरी–३ बाट ३३ वर्षीय उज्ज्वलकुमार झा पनि निर्वाचित भएका छन्।
नेपाली कांग्रेसबाट ३२ वर्षीय योगेश गौचन थकाली मुस्ताङबाट निर्वाचित भएका छन्। उनले एमालेकी इन्द्रधारा विष्टलाई पराजित गरेका हुन्।
यसैगरी, श्रम संस्कृति पार्टीबाट २९ वर्षीय आरेन राई खोटाङ–१ बाट निर्वाचित भएका छन्। उनले एमालेका देवविक्रम राईलाई पराजित गर्दै १६ हजार ६१२ मतसहित विजय हासिल गरेका छन्।


+ There are no comments
Add yours