सनीको फिल्म ‘लाहोर १९४७’ को नाम परिवर्तन

२५ फागुन, मुम्बई । राजकुमार सन्तोषीको प्रतिक्षित फिल्म लाहोर १९४७ को शीर्षक परिवर्तन गरिएको छ। भारत र पाकिस्तानबिचको वर्तमान तनावलाई मध्यनजर गर्दै निर्माताहरूले विवादबाट बच्न फिल्मको नाम बदल्ने निर्णय गरेका हुन्।

अब यो फिल्म बटवारा १९४७ को नाममा सिनेमाघरमा आउनेछ। ईटाइम्सको रिपोर्टअनुसार कुनै एउटा सहरलाई मात्र केन्द्रित गर्नुभन्दा विभाजनको पीडा र मानवीय संवेदनालाई झल्काउन बटवारा शब्द उपयुक्त हुने देखिएकाले यो फैसला लिइएको हो।

गत हप्ता मात्रै यस निर्णयलाई अन्तिम रूप दिइएको र निर्माण पक्षले छिट्टै यसको औपचारिक घोषणा गर्ने तयारी गरेको छ। आमिर खानले निर्माण गरिरहेको यस फिल्ममा सनी देओल, प्रिति जिन्टा, शबाना आजमी, करन देओल र अली फजल जस्ता कलाकारको मुख्य भूमिका रहनेछ। फिल्मलाई यस वर्षको स्वतन्त्रता दिवसको अवसर पारेर रिलिज गरिनेछ।

फिल्मको कथा प्रसिद्ध लेखक असगर वजाहतको नाटक ‘जिस लाहोर नई वेख्या, ओ जम्या ए नई’ मा आधारित छ। यसले विभाजनका बेला लखनऊबाट लाहोर पुगेर बस्ने एक मुस्लिम परिवारको संघर्ष र उनीहरूलाई बस्न दिइएको एक पुरानो हवेलीको कथा समेटेको छ।

‘बोर्डर २’ को भव्य सफलतापछि सनी देओल अहिले आफ्नो अर्को ठूलो प्रोजेक्ट ‘एन्टनी’ मा व्यस्त भइसकेका छन्। मुम्बईमा छायांकन सुरु भइसकेको यो हाइ-अक्टेन थ्रिलर फिल्ममा सनीको अपोजिटमा अभिनेत्री ज्योतिका देखिनेछिन् भने विजय वर्मा भिलेनको अवतारमा प्रस्तुत हुनेछन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours