प्रतिनिधि सभा चुनाव : देशभर मतदान सुरु

२१ फागुन, काठमाडौँ । आज प्रतिनिधि सभाको चुनाव । देशभर मतदान सुरु भएको छ ।

बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदात हुनेछ । निर्वाचन आयोगले ५ बजेसम्म लाइनमा बसिसक्ने मतदाताले भने त्यसपछि पनि मतदान गर्न पाउने जनाएको छ ।

जेनजी विद्रोहपछि आज चुनाव हुन लागेको हो । मतदानमार्फत प्रत्यक्ष तर्फ १६५ र समानुपातिकतर्फ ११० सांसदका लागि निर्वाचन हुन लागेको हो ।

निर्वाचनमा प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी ३ हजार ४ सय ६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ १ हजार ३ सय ६३ पुरुष र १ हजार ७ सय ७२ महिला गरी ३ हजार १ सय ३५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

यस पटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् ।

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन् । १४३ अस्थायी मतदानस्थल तोकिएको छ ।

निर्वाचनका लागि झण्डै तीन लाख सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन आयोगका अनुसार ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी र ३४ हजार ५६७ सशस्त्र प्रहरी बललाई परिचालन गरिएको छ भने राष्ट्रिय अनुसन्धान विभागबाट एक हजार ९ सय २१ र निर्वाचन प्रहरी १ लाख ४९ हजार ९० जना खटाइएको छ ।

चुनावका लागि २ लाख १५ हजार कर्मचारी खटिँदैछन् । गत भदौ २३ र २४ गते भएको जेनजी विद्रोहपछि प्रतिनिधि सभा विघटन गर्दै नयाँ चुनावको घोषणा भएको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours