मृतक छत्रबहादुरका भाइ नाता पर्ने सुशील थापाले गाउँघरमा खेती किसानसँगै कुटानी पिसानीको मिल सञ्चालन गर्दै आएका छत्र गत असोजमा श्रीमतीसहित अमेरिका पुगेको बताए ।
१३ फागुन, धनकुटा । स्थानीय समयअनुसार सोमबार बिहान अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीस्थित एक नेपाली परिवारमा जघन्य हत्या प्रकरण भयो । यो घटनाबारे उदयपुर जिल्लाको बेलका नगरपालिका–९ रामपुरमा मंगलबार बिहानैदेखि खासखुस चलिरहेको थियो ।
स्थानीयहरूलाई यो घटनाबारे किन चासो थियो भने घटनाका मुख्य आरोपित छत्रबहादुर थापाबारे स्थानीयले कुराकानी गरिरहेका थिए । फेयरफ्याक्स प्रहरीका अनुसार ३१ वर्षीया छोरी ममता थापा र ५१ वर्षीया श्रीमती बिन्दा थापाको हत्या गरेका ५० वर्षीय छत्रबहादुर थापा प्रहरी कारबाहीमा मारिए । त्यहाँका प्रहरी प्रमुख केभिन डेभिसले घटनाबारे बताउँदै हत्यामा संलग्न रहेका आरोपी छत्रबहादुर पनि प्रहरी कारबाहीमा मारिएको बताए ।
मुख्य आरोपित छत्रबहादुर गाउँघरमा ‘मिलन’ नामबाट परिचित थिए । बीभत्स हत्याको यो घटनापछि छत्रका आफन्त र चिनेजानेकाहरू स्तब्ध छन् । रामपुरमा रहेका छत्रका छोरा मौसम भने झनै विक्षिप्त छन् । नहुन् पनि किन बुधबार मात्रै छत्रकी कान्छी छोरी अर्थात् मौसमकी बहिनी मनीषाको बिहे तय भएको थियो ।
हत्याको घटना गाउँमा आइपुग्नुअघि सुनसरीको चताराधामबाट मनीषाको बिहेको तयारी भइरहेको थियो । बिहेमा जाने तयारीमा रहेका बेला बुबाआमा र दिदीको मृत्युको खबर आएको बताउँदै मौसमले सुनाए, ‘विवाहका लागि आफन्तजन, इष्टमित्र भेला हुने क्रम चलिरहेको थियो । हामीले यो के भोगिरहेका छौं, विश्वास नै लागिरहेको छैन ।’ जबकि यो बिहेबारे छत्र आफैंले अमेरिकाबाट सरसल्लाह लिइरहेका थिए ।
मृतक छत्रबहादुरका भाइ नाता पर्ने सुशील थापाले गाउँघरमा खेती किसानसँगै कुटानी पिसानीको मिल सञ्चालन गर्दै आएका छत्र गत असोजमा श्रीमतीसहित अमेरिका पुगेको बताए । उनले छोरी ममताले नै बुबाआमालाई अमेरिकामा घुम्न बोलाएको बताए । ममता भने २०७३ सालमा डीभीमार्फत अमेरिका पुगेकी थिइन् ।
छत्रकी छोरी मनीषाले घटनाको अघिल्लो दिन अर्थात् आइतबार मात्रै बुबासँग कुरा भएको बताइन् । उनले बुबा नेपाल आउन खोजिरहे पनि नमिलेको र बुबाले केही समय अघि मात्रै काम छाडेर बसेको सुनाइन् । उनले भनिन्, ‘त्यही दिन ममी र दिदीसँग पनि कुरा भएको थियो । सबै सहजै थियो । कुनै फरकपन थिएन ।’ उनले यो घटनाबारे सही अनुसन्धान हुनुपर्ने र सत्यतथ्य बाहिर आउनुपर्ने बताइन् । भनिन्, ‘बाहिर तथ्यहरू बांगिएर आएका हुन् कि भन्ने पनि हाम्रो शंका छ ।’
फेयरफ्याक्स प्रहरी प्रमुख केभिन डेभिसले घटनाबारे सञ्चारकर्मीहरूसँग कुरा गर्दै यो घटनाबारे आफूलाई वर्णन गर्न पनि गाह्रो भइरहेको बताए । उनले भनेका छन्, ‘म कल्पना पनि गर्न सक्दिनँ । त्यो चार भित्ताभित्र के भइरहेको थियो ।’


+ There are no comments
Add yours