०३ फागुन, काठमाडाैँ । नेपाली सेनाले आफ्नो स्थापनाको २६३औँ वार्षिकोत्सव आज देशभर विभिन्न कार्यक्रम गरी मनाइरहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोह आयोजना गरिएको छ । राष्ट्रपति नेपाली सेनाका परमाधिपति हुन् ।
महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउने परम्पराअनुसार सैनिक मञ्चमा परेड, तोप बढाइँ, कवाज तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने कार्यक्रम छ । जङ्गी अड्डामातहतका पृतना, बाहिनी, गण र गुल्म तथा विदेशस्थित कूटनीतिक नियोग र शान्ति मिसनमा पनि विभिन्न कार्यक्रम आयोजना गरिएका छन् ।
नेपाली सेनाको वर्तमान स्वरूपको सुरुवात विसं १८१९ सालबाट भएको मानिन्छ । सेनाले नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षा गर्दै आएको छ ।
संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि सुरु भएको हो । हालसम्म ४४ शान्ति मिसनमा एक लाख ६२ हजारभन्दा बढी नेपाली सैनिकले सहभागिता जनाएका छन् । विभिन्न मिसनका क्रममा ७४ सैनिकको मृत्यु भएको छ भने ७७ सैनिक घाइते भएका छन् । हाल विश्वका १० मिसनमा ३९१ महिलासहित चार हजार ३०२ नेपाली शान्ति सैनिक परिचालित छन् ।
नेपाली सेनाले विपद् व्यवस्थापन, विकास निर्माण तथा पूर्वाधार संरक्षणमा पनि भूमिका निर्वाह गर्दै आएको छ । काठमाडौँ–तराई मधेस द्रुतमार्ग निर्माण सेनाकै व्यवस्थापनमा भइरहेको छ ।
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्वच्छ, स्वतन्त्र र सुरक्षित वातावरण कायम गर्न सेनाको नेतृत्वमा एकीकृत सुरक्षा योजना कार्यान्वयनमा रहेको जनाइएको छ ।


+ There are no comments
Add yours