१० माघ, काठमाडाैँ । नेपाली सङ्गीत क्षेत्रकी अमर गायिका तारादेवीको स्मृतिमा श्रद्धा, सम्मान र साङ्गीतिक प्रस्तुतिसहित विशेष कार्यक्रम सम्पन्न भएको छ । तारादेवी स्मृति फाउन्डेसनको आयोजनामा तथा काठमाडौँ महानगरपालिकाको सह-आयोजनामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा शुक्रबार साँझ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न भएको हो ।
समारोहको सुरुवात अमर गायिका तारादेवीको तस्बिरमा माल्यार्पण गर्दै गरिएको थियो । त्यस अवसरमा उनका कालजयी गीत, नेपाली सङ्गीतमा पुर्याएको योगदान तथा व्यक्तित्वमाथि चर्चा गरिएको थियो । त्यसपछि प्रस्तुत गरिएका विविध सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रममार्फत तारादेवीको कला र सृजनालाई स्मरण गरिएको थियो ।
तारादेवीका सदाबहार गीतहरूले दर्शक तथा श्रोताहरूलाई भावनात्मक बनाएको थियो भने नयाँ पुस्ताले पनि उनको सङ्गीतको गहिरो प्रभाव अनुभूति गर्ने अवसर पाएका थिए ।
समारोहमा वरिष्ठ कलाकार किरण खरेल, सङ्गीतकार दीपक जङ्गम तथा सङ्गीतकर्मी एवम् काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्य विशेष अतिथिका रूपमा सहभागी रहेका थिए । अतिथिहरूले तारादेवी नेपाली सङ्गीतको इतिहासमा कहिल्यै नमेटिने नाम भएको उल्लेख गर्दै उनको योगदान सधैँ स्मरणीय रहने धारणा व्यक्त गरे ।
समारोहकै अवसरमा नेपाली गीत–सङ्गीतको विकासमा उल्लेखनीय योगदान पुर्याएका स्रष्टाहरूलाई सम्मानसमेत गरिएको थियो । सम्मानित हुने व्यक्तित्वहरूमा गीतकार माधवप्रसाद खनाल, सङ्गीतकार शिवशंकर मानन्धर तथा चर्चित गायिका सङ्गीता राना प्रधान रहेका थिए ।
आयोजक संस्था तारादेवी स्मृति फाउन्डेसनका अध्यक्ष दीपक केसीले तारादेवी नेपाली सङ्गीतकी प्रेरणादायी हस्ती भएको उल्लेख गर्दै उनका गीत, स्वर र योगदान सदैव स्मरणीय रहने बताए ।
यस्ता कार्यक्रमहरूले पुराना स्रष्टाको योगदानलाई उजागर गर्नुका साथै नयाँ पुस्तालाई नेपाली गीत–सङ्गीतप्रति आकर्षित र प्रेरित गर्ने विश्वाससमेत उनले व्यक्त गरे ।


+ There are no comments
Add yours