एक्सले एक हप्ताभित्र नयाँ अल्गोरिदम सार्वजनिक गर्ने

२७ पुष, काठमाडौँ । अर्बपति ईलन मस्कले शनिबार सामाजिक सञ्जाल प्लेटफर्म एक्सले सात दिनभित्र आफ्नो नयाँ एल्गोरिदम सार्वजनिक (ओपन सोर्स) गर्ने बताएका छन्।

यसमा अर्गानिक र विज्ञापन पोस्ट सिफारिससँग सम्बन्धित सबै कोड समावेश हुने उनले एक्समा लेखेका छन्। उनका अनुसार, “परिवर्तन के–के भए भन्ने बुझ्न सहयोग होस् भनेर हरेक चार हप्तामा यस्तो प्रक्रिया दोहोर्याइनेछ र विस्तृत डेभलपर नोट्स पनि सार्वजनिक गरिनेछ।”

यसैबीच युरोपेली आयोगले गत वर्ष एक्सलाई पठाइएको एल्गोरिदम र अवैध सामग्रीको प्रसारसम्बन्धी डाटा सुरक्षित राख्नुपर्ने आदेशको अवधि सन् २०२६ को अन्त्यसम्म बढाउने निर्णय गरेको छ। आयोगका प्रवक्ता थोमस रेनियरले बिहीबार पत्रकारहरूलाई यो जानकारी दिएका हुन्।

रोयटर्सका अनुसार यसअघि जुलाई २०२५ मा पेरिसका अभियोजकहरूले एक्सविरुद्ध एल्गोरिदममा पूर्वाग्रह र धोखाधडीपूर्ण डाटा सङ्कलनको आशंकामा अनुसन्धान सुरु गरेका थिए। मस्कको एक्सले यसलाई प्रयोगकर्ताको अभिव्यक्ति स्वतन्त्रतामाथि खतरा हुने “राजनीतिक उद्देश्यले प्रेरित आपराधिक अनुसन्धान” भनेको थियो।

गत महिना युरोपेली सङ्घले डिजिटल सर्भिसेज एक्ट अन्तर्गत पारदर्शिता सम्बन्धी दायित्व उल्लङ्घन गरेको भन्दै एक्सलाई १२ करोड युरो (करिब १४ करोड डलर) जरिवाना गरेको थियो।

यो जरिवाना एक्सको “ब्लु चेकमार्क” सदस्यता, विज्ञापन रिपोजिटरीमा पारदर्शिताको कमी र अनुसन्धानकर्तालाई प्लेटफर्मको सार्वजनिक डेटामा पहुँच नदिएको विषयसँग सम्बन्धित रहेको नियामकहरूले बताएका छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours