२० पुष, काठमाडाैँ । प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले नेपालको आर्थिक उन्नतिको मुख्य आधार पर्यटन व्यवसाय नै रहेको बताएका छन् ।
नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आइतबार आयोजित ५८औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले पर्यटन क्षेत्र फस्टाउन नसकेसम्म देशको आर्थिक विकास सम्भव नहुने धारणा राखे ।
उनले वागमती प्रदेशका १३ वटै जिल्लामा पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर व्यवसायीका समस्या समाधान गर्न पूर्ण रूपमा तयार रहेको बताए ।
पर्यटन अत्यन्त संवेदनशील क्षेत्र भएकाले ऐन–कानुन र राजनीतिक गतिविधिका कारण व्यवसायीले समस्या भोग्नुपरेको उनको भनाइ थियो । ‘यो देशको आर्थिक उन्नति गर्ने सम्भावना भएको क्षेत्र पर्यटन नै हो, यहाँ अन्य आयमूलक क्षेत्रहरू छैनन्,’ मन्त्री श्रेष्ठले भने ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जान श्रेष्ठले पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा नआउँदा पर्यटन क्षेत्रले ठूलो नोक्सान बेहोरिरहेको बताए ।
विमानस्थल निर्माणपछि निजी क्षेत्रले होटल र पूर्वाधारमा ठूलो लगानी गरेको तर अन्तर्राष्ट्रिय उडान नहुँदा लगानी जोखिममा परेको उनको गुनासो थियो ।
उनले पर्यटन क्षेत्रलाई उद्योगसरह कानुनी मान्यता दिन र लगानीको सुरक्षा सुनिश्चित गर्न सरकारसँग आग्रह गरे । साथै दीगो र गुणस्तरीय पर्यटन विकासमा ध्यान दिनुपर्नेमा जोड दिए ।
नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले हवाई टिकटमा लाग्ने भ्याटका कारण नेपाल पर्यटन प्रतिस्पर्धामा कमजोर बनेको बताए । टिकट महँगो हुँदा पर्यटकहरू भारत गएर टिकट काट्ने गरेको र यसले नेपालको राजस्व बाहिरिएको उनको भनाइ थियो ।
उनले टिकटमा भ्याट हटाएर ३ देखि ५ प्रतिशत पर्यटन कर मात्र लगाउनुपर्ने माग गरे । ‘भ्याट हटाए ५ प्रतिशत कर लगाउँदा अहिलेभन्दा बढी राजस्व उठ्छ भन्ने हामी ग्यारेन्टी गर्छौं,’ सापकोटाले भने । उनले हाल लक्जरीभन्दा मध्यम स्तरको पर्यटनमा ध्यान दिनुपर्ने पनि सुझाए ।
नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले पर्यटन प्रवद्र्धनमा कमजोरी रहेको औँल्याउँदै विभिन्न देशमा रहेका नेपाली राजदूतहरूलाई सक्रिय बनाउनुपर्ने बताए ।
राजदूतहरूलाई पर्यटन प्रवद्र्धनसम्बन्धी तालिम दिएर परिचालन गर्न सके ठूलो सहयोग पुग्ने उनको सुझाव थियो । उनले माउण्टेन एड्भेन्चर टुरिजमसम्बन्धी विश्वविद्यालय स्थापना गर्ने तयारी भइरहेको पनि जानकारी दिए ।
पर्यटन क्षेत्रका सरोकारवालाहरूले सरकारसँग नीतिगत सुधार, पूर्वाधारको प्रभावकारी सञ्चालन र व्यवसायीको सहजीकरणको माग गरेका छन् ।


+ There are no comments
Add yours