बक्यौता बुझाएपछि चार उद्योगको विद्युत् लाइन पुनः जडान

१७ कार्तिक, काठमाडाैँ । रुपन्देहीका चार ठूला उद्योगले डेडिकेटेड र ट्रङ्क लाइनमार्फत लिएको विद्युत उपयोगबापतको प्रिमियम महसुल तिर्न थालेका छन् । लामो समयदेखि बाँकी रहेको बक्यौता रकमको पहिलो किस्ता ती उद्योगहरूले नेपाल विद्युत प्राधिकरणलाई बुझाएका हुन् ।

भैरहवा क्षेत्रमा सञ्चालनमा रहेका ‘पञ्चकन्या प्लास्टिक उद्योग’, ‘पञ्चकन्या स्टिल इन्डस्ट्रीज’, ‘सिद्धार्थ पेटप्लान्ट’ र ‘श्याम प्लास्टिक उद्योग’ले सोमबार बक्यौतामध्ये पहिलो किस्ता बुझाएपछि प्राधिकरणले ती उद्योगको विद्युत लाइन पुनः जडान गरेको कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।

यी उद्योगले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड तथा ट्रङ्क लाइनमार्फत विद्युत उपयोग गरेको बापत तिर्न बाँकी रहेको प्रिमियम महसुल अहिले किस्ताबन्दीमा तिर्न थालेका हुन् ।

प्राधिकरणका अनुसार ‘पञ्चकन्या प्लास्टिक उद्योग’को बक्यौता २४ लाख ६३ हजार रुपैयाँ, ‘पञ्चकन्या स्टिल इन्डस्ट्रीज’को ५२ लाख १९ हजार रुपैयाँ, ‘सिद्धार्थ पेटप्लान्ट’को १ करोड ८३ लाख रुपैयाँ र ‘श्याम प्लास्टिक उद्योग’को ४९ लाख १० हजार रुपैयाँ रहेको छ ।

कुल बक्यौतालाई २८ किस्तामा विभाजन गर्ने समझदारीअनुसार उद्योगहरूले पहिलो किस्ता बुझाएका हुन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours