१४ कार्तिक, काठमाडाैँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा कारोबारको इजाजतपत्र (लाइसेन्स)का लागि दरखास्त मागेको छ।
सरकारले असोज २७ मा राजपत्रमा प्रकाशित गरेको कानुनी व्यवस्थाअनुसार ३ करोडभन्दा बढीको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने व्यवस्था भएअनुसार विभागले आज आवेदन माग गरेको हो।
विभागले नेपाल राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार महानगर र उपमहानगर क्षेत्रलाई कार्यक्षेत्र घोषणा गरेको जनाएको छ। एक पटकमा ३ करोडभन्दा बढीको कारोबार गर्न इच्छुक फर्म, कम्पनी वा संस्थाले ३० दिनभित्र अनलाइनमार्फत निवेदन पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।निवेदनकर्ताले विभागको वेबसाइटमार्फत मालपोत नियमावलीमा उल्लिखित कागजात स्क्यान गरी सोही ढाँचामा आवेदन पेस गर्नुपर्ने विभागले बताएको छ। यसबाट घरजग्गा कारोबारमा पारदर्शिता र नियमन कायम गर्न सहज हुने विभागको अपेक्षा छ।
विभागले एकपटकमा ५ करोड रुपैयाँसम्म कारोबार गर्ने व्यक्ति (फर्म, कम्पनी वा संस्था) को हकमा ५ लाख र एकपटकमा ५ करोडभन्दा घटी वा बढी जतिसुकै रकमको कारोबार गर्ने व्यक्ति (फर्म, कम्पनी वा संस्था)को हकमा १० लाख आवेदन दस्तुर बुझाउनुपर्ने उल्लेख गरेको छ।



+ There are no comments
Add yours