स्वास्थ्य प्रणाली ध्वस्त भएपछि गाजामा अनियन्त्रित रोग फैलिने डब्ल्यूएचओको चेतावनी

३१ असाेज, कायरो । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले स्वास्थ्य प्रयाली ध्वस्त भए पछि गाजामा रोगको प्रकोप नियन्त्रण बाहिर सर्दै गएको चेतावनी दिएको छ।

हाल यस क्षेत्रका ३६ मध्ये १३ वटा अस्पतालहरू मात्र चलिरहेको द्वन्द्व र विनाशको बीचमा आंशिक रूपमा काम गरिरहेका छन्। पत्रकारहरुसँग कुरा गर्दै पूर्वी भूमध्यसागरका लागि डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डा. हनान बाल्खीले गाजाको स्वास्थ्य प्रणाली ध्वस्त भएको आवश्यक पूर्वाधारको अवशेष मात्र बाँकी रहेको बताए।

गाजामा स्वास्थ्य सस्थाहरु थोरै बाँकी रशहेको बताउदै उहाँले मेनिन्जाइटिस, गुइलेन–बार्रे सिन्ड्रोम, र श्वासप्रश्वास सम्बन्धी रोगहरू लगायत सङ्क्रामक रोगहरूको अनियन्त्रित फैलावटको चेतावनी दिएका छन्।

डब्ल्यूएचओको तथ्याङ्क अनुसार गाजा सहरमा हाल आठवटा स्वास्थ्य केन्द्रहरू मात्र सञ्चालनमा छन भने कर्मचारी अभावको कारण आंशिक रूपमा मात्र सेवा दिई रहेका छन्।

डा. बाल्कीले गाजाको स्वास्थ्य क्षेत्रको पुनर्निर्माण गर्न अरबौं डलर र दशकौंको काम लाग्ने कुरामा जोड दिदै आवागमनमा चलिरहेको प्रतिबन्ध र द्रुत गतिमा परिवर्तन भइरहेको अवस्थाका कारण क्षतिको मूल्याङ्कन गर्नेसमेत चुनौती रहेको बताए।

सन् २०२३ अक्टोबर–७ देखि, संयुक्त राष्ट्रको तथ्याङ्क अनुसार स्वास्थ्य सुविधाहरूमा ८०० भन्दा बढी आक्रमणहरू रिपोर्ट गरिएको छ। बाल्खीले विगत दुई वर्षमा जन्मेका बच्चाहरूप्रति पनि चिन्ता व्यक्त गर्दै उनीहरुले बाल्यकालका आवश्यक खोपहरूसमेत गुमाएको बताए।

चालु महिनाको सुरुमा विश्व स्वास्थ्य सङ्गठनको एक रिपोर्टले अक्टोबर २०२३ देखि युद्धमा कयौँ घाइते तथा अपाङ्गताबाट ग्रस्त रहेको र घाइते भएका मध्ये एक चौथाई बालबालिका रहेको खुलासा गरेको थियो।

गाजामा मानसिक स्वास्थ्यको आवश्यकता पनि दोब्बर भन्दा बढी भएको छ, तैपनि हालको सेवाहरूमा निकै कमी आएको एजेन्सीले जनाएको छ। डा. बाल्खीले घाइते व्यक्तिहरूलाई वेस्ट ब्याङ्क वा छिमेकी देशहरूमा उपचारका लागि तत्काल कारबाही गर्न अपील गर्दै इन्धन, खाना, चिकित्सा आपूर्ति र कर्मचारीहरूको पहुँच बढाउन आह्वान गरेका छन्।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको सैन्य कारबाही सुरु भएदेखि कम्तिमा ६७ हजार ९६७ जनाको मृत्यु भएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours