२३ असोज, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा चलिरहेको शान्ति वार्तामा महत्त्वपूर्ण प्रगति भएको सङ्केत गर्दै आउँदो साताको अन्त्यतिर इजिप्ट जाने सम्भावना रहेको बताएका छन्। उनले सम्झौता ‘धेरै नजिक’ पुगेको उल्लेख गरेका छन्।
बुधबार ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा बोल्दै ट्रम्पले आफूलाई अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पठाएको नोट पढेर सुनाउँदै भने, “विदेशमन्त्रीले मलाई एउटा नोट दिएका छन्, जसमा भनिएको छ कि हामी मध्यपूर्वमा एक सम्झौतामा पुग्न निकै नजिक छौं, र मलाई चाँडै त्यहाँ जानुपर्नेछ।”
ट्रम्पले आफू शनिबारको आसपास इजिप्ट प्रस्थान गर्न सक्ने सम्भावना रहेको उल्लेख गर्दै “केही समस्या समाधान गर्नका लागि मध्यपूर्व जानुपर्नेछ” भने। यसअघि उनले “मध्यपूर्वका लागि शान्ति — यो एक सुन्दर वाक्यांश हो, र हामी चाहन्छौं यो यथार्थमा परिणत होस्” भन्दै अवस्था निकै राम्रो दिशामा अगाडि बढिरहेको बताएका थिए।
अल-जजिराका अनुसार इजिप्टस्थित मध्यस्थकर्ताहरूले प्यालेस्टेनी पक्षलाई सम्झाएका छन् कि यदि सम्झौता सफल भएमा, ट्रम्पले गाजामा युद्ध अन्त्यको घोषणा गर्नेछन्। प्यालेस्टेनी प्रतिनिधिमण्डलले इजरायली फौजले गाजाको भित्री भागबाट फिर्ता हुने नक्सा प्रस्तुत गर्नुपर्ने र कैदीहरूको मुक्ति सँगै हुनुपर्ने माग गरेको बताइएको छ।
मध्यस्थकर्ताहरूले प्यालेस्टेनी र इजरायली दुवै पक्षलाई शुक्रबारलाई अन्तिम समयसीमा तोक्न आग्रह गरेका छन्। हमासले सबै इजरायली बन्धकहरूलाई रिहा गर्न र मृतकहरूलाई परिस्थिति सहज भएपछि मात्र हस्तान्तरण गर्ने सहमति जनाएको बताइएको छ।
हाल कैदी साटासाटका सूची, युद्धपछिको पुनःसङ्घर्ष रोक्ने ग्यारेन्टीजस्ता विषयमा प्रगति भएको जनाइएको छ। बाँकी विवादित विषयमा अन्तिम उत्तर पाउन इजिप्टस्थित मध्यस्थ टोलीले इजरायली प्रतिनिधिमण्डलसँग छलफल गरिरहेको छ।


+ There are no comments
Add yours